थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेको खुलेको छ । वैशाख ७ गते उपचारका लागि भन्दै देउवा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए ।
देउवाको भ्रमणलाई सत्ता परिवर्तनसँग समेत जोडेर टिकाटिप्पणी भइरहेका बेला उनले प्रचण्डलाई फोन गरेको खुलेको हो । सिंहदबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले देउवाले आफूलाई फोन गरेको ब्रिफिङ गरेका हुन् ।
‘थाइल्यान्ड जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो । सो क्रममा शुभकामना आदान प्रदान भएको थियो । फर्किएपछि फेरि भेट्न कुरा भएको छ’, प्रचण्डले बैठकमा भनेका थिए ।
माओवादी केन्द्रका एक सांसदले देउवाले फोन गरेको अध्यक्ष प्रचण्डले बैठकमा बताएको र वर्तमान सत्ता समीकरणबारे पनि सांसदहरुलाई ब्रिफिङ गरेको रातोपाटीलाई बताए ।
सो क्रममा प्रचण्डले अब केपी ओली नेतृत्वको सरकार धेरै समय नटिक्ने विश्लेषणसहितको ब्रिफिङ गरेको उनको भनाइ थियो ।
ती सांसदका अनुसार नयाँ समीकरणका विषयमा देउवा थाइल्यान्डबाट फर्किएपछि उनीसँग छलफल गर्ने पनि प्रचण्डले बताएका थिए । उनले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने पनि संकेत गरेका छन् । ‘वेइटिङ प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर हुनुहुन्छ । उहाँ आएपछि छलफल हुनेछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण