सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ

नेपालमा गणतन्त्र छ तर सोच्ने, योजना बनाउने, निर्माण गर्ने र नेतृत्व गर्ने तरिकामा हामी अझै पनि त्यही सिंहासनको अधीनमा छौँ जसको अब अस्तित्व नै छैन । यस मानेमा हाम्रो मानसिकता कहिल्यै परिवर्तन भएन ।
नेपाल कमजोर शासन र ढिलो प्रशासनिक प्रक्रियाभन्दा गहिरो समस्याबाट पीडित छ; त्यो समस्या हो, पुस्तौँदेखि चलिआएको संकुचित दृष्टिकोण । यसको मूलमा छ, २४० वर्ष लामो राजतन्त्रको त्यो विरासत छ, जसले केवल शक्ति कब्जा गरेन बाँच्नुभन्दा पर सोच्ने जनताको क्षमता प्रणालीगत रूपमा समाप्त गर्यो । शिक्षाबाट वञ्चित गरियो, आवाजहरू थामिए, आज्ञाकारीलाई पुरस्कार दिइयो । पुस्तौँदेखि प्रश्न गर्न, दूरदर्शी बन्न, नेतृत्व गर्न नपाउने परिवेशमा हुर्किए । राजतन्त्रले प्रगतिको मार्ग मात्र थुनेन, भविष्य जनताको पनि हुन सक्छ भन्ने विश्वास नै च्यातिदियो ।
सन् २००८ मा श्रीपेच खसे पनि यसको आत्मा अझै शासन गरिरहेको छ । दरबारहरू संग्रहालय भएका छन् तर मानसिकता उही छ— निष्क्रिय, नियतिवादी र परिवर्तनप्रति भयभीत । शताब्दियौँसम्म नेपालीलाई निर्णय लिन होइन आदेश पर्खन सिकाइयो; आकांक्षा राख्न होइन परिस्थितिमा समायोजन गर्न प्रेरित गरियो । यो संयोग थिएन, योजना थियो । राजतन्त्रले नेपाललाई केवल शासन गरेन यसले हाम्रो सोचलाई नै पुनः निर्माण गर्यो । त्यो क्षति ‘राजा’ गएकोसँगै गुमेन, त्यो संस्कृति बन्यो । जबसम्म हामीले त्यो सिकाइ फुकाल्न सक्दैनौँ, नेपालले आफूले कल्पना गरेको दूरदर्शी राष्ट्र बन्न सक्दैन ।
पृथ्वीनारायण शाहको एकीकरणदेखि राणाशासक र पञ्चायती व्यवस्थासम्म, नेपाली शासकले केवल सत्ता होइन दूरदर्शिता पनि एकाधिकार गरे । शिक्षा एलिटहरूका लागि मात्र सुरक्षित थियो, असहमति अपराध थियो, आकांक्षा खतरनाक मानिन्थ्यो ।
१९५० को दशकसम्म नेपालमा साक्षरता दर ५ प्रतिशत भन्दा कम थियो । धेरैजसो समुदायमा विद्यालय नै थिएनन् । यसमा प्रश्न गर्नु विद्रोह मानिन्थ्यो । सपना देख्नु देशद्रोहजस्तै थियो । नागरिकलाई सहभागी बन्न होइन आज्ञाकारी बन्न तालिम दिइएको थियो ।
त्यही ‘मानसिक उत्तराधिकारी’ले ‘के गर्ने ?’ भन्ने सोचलाई हाम्रो राष्ट्रिय दर्शन बनायो; कुनै पनि समस्याको सामुन्ने कार्य गर्नुपर्ने ठाउँमा भाग्यमा समर्पण गर्ने शैलीको विकास गर्यो । हामीले केवल अविकास होइन विश्वासको अभाव पनि उत्तराधिकारमा पायौँ ।
उदाहरणका रूपमा पृथ्वीनारायण शाहको दिव्योपदेशले नेपाललाई ‘दुई ढुंगाको तरुल’ भने तर यो कुनै रणनीतिक चातुर्यता होइन अनुकूलनको भय थियो । अगाडि बढ्न प्रेरित गर्नुको सट्टा, शक्तिहरूका बिचमा चुपचाप बाँच्न सिकायो । हामीले आत्मविश्वासका साथ बढ्न होइन डरका साथ स–साना हुन सिक्यौँ । त्यही मानसिकताले नै हामीलाई सुरक्षित र आज्ञाकारी प्रतिक्रिया जनाउने बनायो, जुन राजतन्त्र गएको धेरैपछि पनि जिउँदै रह्यो ।
श्रीपेच खसे पनि यसको आत्मा अझै शासन गरिरहेको छ । दरबारहरू संग्रहालय भएका छन् तर मानसिकता उही छ— निष्क्रिय, नियतिवादी र परिवर्तनप्रति भयभीत ।
आज पनि त्यो सोचाइ जिउँदो छ । छिमेकी मुलुकहरू तीव्र गतिमा रेलमार्ग, ऊर्जा केन्द्र निर्माण गर्दै छन्, तर हामी एम्बुलेन्स दानमा ताली बजाउँछौँ, मानौँ त्यो नै उपलब्धि हो । हामीजस्तै विकासोन्मुख देशहरू कम्बोडिया र लाओसले विशाल पूर्वाधार सम्झौता गर्दै छन्, हामी भने प्रतीकात्मक चिज (जस्तै ः भ्युटावर, मूर्ति आदि) मा रमाउँछौँ । हामीले बाँच्नुलाई रणनीति ठानेका छौँ । त्यो उपदेशले हामीलाई अनुकूल हुन सिकायो तर कहिल्यै फस्टाउन सिकाएन । त्यही कारण, आजको आवश्यकता भएको साहसको समयमा हामी दृष्टिविहीन बनिरहेका छौँ ।
आज नेपाल प्राविधिक रूपमा लोकतन्त्र हो । हामी भोट दिन्छौँ, विरोध गर्छौं, ट्विट गर्छौं तर सांस्कृतिक रूपमा हामी अझै पनि कुनै न कुनै ‘राजा’ जस्ताले निर्णय गर्छन् भनी कुर्दै बसेका छौँ ।
हाम्रा राजनीतिक संस्था अझै पनि प्रतिक्रियात्मक छन् । बजेट सिजन आयो कि अन्तिम घडीमा आयोजना खन्याइन्छ । चुनाव नजिकिएपछि मात्रै सडक बनाइन्छ । दीर्घकालीन योजनालाई सस्तो प्रतीकात्मकतामा बलि चढाइन्छ । नेपालमा अधिकांश निकाय बजेट खर्च गर्न अक्षम छन् र खर्च गरे पनि त्यसको अर्थपूर्ण उपयोग गर्न सक्दैनन् । वर्षको अन्त्यमा हतारोमा गरिने खर्च ‘असारे विकास’ले न दीर्घकालीन सोच देखाउँछ, न त जनताको आवश्यकता सम्बोधन गर्छ । बजेट देखिन्छ तर दृष्टि छैन । यो प्रवृत्ति केवल प्रशासनिक कमजोरी होइन, यो योजनाको दूरदृष्टिको अभाव हो, जहाँ पैसा बग्छ तर प्रगति अड्किन्छ ।
समस्या नेतामा मात्र होइन हामी सबैमा छ । हामीले राजतन्त्रको सबैभन्दा घातक चाल आत्मसात गरेका छौँ, अरू कसैले सुधार्नेछ भन्ने विश्वास गरेका छौँ ।
त्यो बाध्यताको युगको असर अझै पनि हाम्रो दैनिक जीवनका कुना–काप्चासम्म गुन्जिरहेकै छ । गाउँघर अधुरो सडक, भ्युटावर, मूर्ति र खाली विद्यालयले भरिएका छन्, कमजोर योजना र दीर्घदृष्टिको अभावका उपज । सहरीकरण बढेका छन्, किनकि जग्गा कहिल्यै भावी पुस्तालाई सोचेर नियमन गरिएको थिएन । राजनीतिक नेतृत्वहरू प्रायः पुरानै अनुहारहरू आज पनि राष्ट्रनिर्माण होइन गठबन्धन, कृपावाद र लोकप्रिय भाषणमा सीमित छन् ।
सबैभन्दा डरलाग्दो असर मानवीय मूल्यमा देखिन्छ । आज पनि परिवारहरू आफ्ना जीवनभरको बचत स्थानीय उद्योग वा कुनै उत्पादनका लागि होइन सन्तानलाई विदेश पठाउनमा खर्च गर्छन् । आप्रवासन अब केवल आर्थिक आवश्यकता रहेन ‘राष्ट्रिय योजना ख’ बनेको छ । होसियार नेपाली युवाहरू पनि यही मान्छन् कि यहाँ भविष्य छैन । त्यो विश्वास बेकार होइन, त्यो सिकाइएको हो, विरासतमा प्राप्त भएको हो र एक यस्तो देशले प्रमाणित गरेको हो जसले कहिल्यै आफ्ना नागरिकलाई भरोसा दिलाएन कि उनीहरूको सपनाले पनि अर्थ राख्छ ।
देशमा जनताले मोटरसाइकल किनिरहेछन् तर पार्किङ छैन । सडक धुलोले भरिएको, अँध्यारो र भत्किएको छ तर हामी वडाले बनाउला भनी कुर्छौं, बिर्सन्छौँ कि वडा त हामी आफैँ हौँ ।
हराउँदै गएको छ खेतीयोग्य जमिन, उब्जाउ फाँटहरू भवन र प्लटिङका लागि ढलान हुँदै छन् । हामी आफ्नै माटो खाइरहेका छौँ— प्लट–प्लट गरेर विपत्ति नम्त्याउँदै ।
युवा पलायन बढेको छ, जसले कहिल्यै स्थानीय स्कुल सुधारको माग गरेनन्, उनीहरू अब ५० लाख खर्च गरेर सन्तानलाई विदेश पठाउँछन् । किन ? किनकि यहाँ भविष्य छैन, वास्तमा हामीले भविष्य कहिल्यै बनाएकै छेनौँ ।
एउटा वडामा एकै वर्षमा तीनवटा बाटो अलपत्र छन्, सुरु भयो, खनियो, छाडियो । किन ? किनभने ‘बजेट आयो, खर्च गर्नैपर्छ’ भन्ने सोच छ, योजना छैन । बाटो बनेन, तर बिल बन्यो ।
पढाइको कुरा गर्दा— परीक्षाले ज्ञान होइन स्मरणशक्ति नाप्छ । हामीकहाँ डिग्री छ, तर दिशा छैन ।
पसल छ, योजना छैन, एउटा गाउँलेले सहुलियत ऋण लिएर पसल खोल्छन् तर न स्थानको अध्ययन, न मागको अनुमान । तीन महिना नबित्दै पसल बन्द । ऋण तिर्ने आशा हराउँछ, सोच्ने बेला कहिल्यै आउँदैन ।
यो केवल शासक वर्गको व्यवहार होइन राष्ट्रिय प्रवृत्ति समेत हो । काठमाडौँ, पोखरा, इटहरीदेखि गोर्खासम्म हामीले टाउन हलभन्दा टिकटक रोजेका छौँ, सहकार्यभन्दा गुनासो र विकासभन्दा निराशा रोजेका छौँ । शासन प्रणालीको आलोचना गर्छाैं तर कहिल्यै संगठित हुँदैनौँ । नायकको पर्खाइ गर्छाैं, खलनायकलाई गाली गर्छाैं तर आफैँ कहिल्यै त्यो बिचमा पर्न खोज्दैनौँ । हामीले दरबार त भत्कायौँ तर दरबारलाई मनबाट कहिल्यै हटाउन सकेनौँ ।
हाम्रा राजनीतिक पार्टीहरू नाममा मात्र आधुनिक छन्, तिनको संरचना शाही दरबारजस्तै छ— वरिष्ठ नेताहरू दशकौँ शासन गर्छन्, असहमति दण्डित गरिन्छ र विचारभन्दा वफादारीको मूल्य बढी हुन्छ ।
हाम्रो प्रशासन अझै पनि सत्तालाई सेवा गर्ने साधन होइन, सञ्चित गर्ने अधिकार ठान्छ । फाइलहरू महिनौँ थन्किन्छन्, सेवाग्राहीलाई कोठा–कोठा डुलाइन्छ, योजनाहरू अनिश्चितकालका लागि रोकिन्छन् । भ्रष्टाचार स्थायी छ तर जवाफदेहिता नाटकजस्तै देखिन्छ ।
स्थानीय तहमा पनि निर्वाचित जनप्रतिनिधिहरू स–साना ‘राजा’जस्ता व्यवहार गर्छन् । नालीभन्दा पहिले गेट बनाइन्छ, सरसफाइभन्दा पहिले मूर्तिको बजेट आउँछ । बजेटलाई अवसर होइन सम्पत्तिजस्तो गरिन्छ । तिनीहरू यसरी उम्किन्छन् किन ? किनभने नागरिकलाई माग्न होइन सहन सिकाइएको थियो ।
आफैँलाई सोध्नुहोस्, अन्तिमपटक कहिले वडाको बैठकमा सहभागी हुनुभयो ? तपाईंलाई आफ्ना जनप्रतिनिधिको नाम थाहा छ ? थाहा छैन भने त्यो लोकतन्त्र होइन, त्यो त भोटमार्फत चल्ने सामन्तवाद हो ।
हामीले बुझ्न आवश्यक छ, हिजोका जनयुद्ध र आन्दोलनहरुले के भए ? पहिलोपटक, सदियौँदेखि अदृश्य गरिएका समुदायहरू (दलित, जनजाति, मधेसी, महिला) उठे र भने— हामी पनि यहाँका हौँ । हामीले धर्मनिरपेक्षता अँगाल्यौँ । संघीयताका माध्यमबाट शक्तिको विकेन्द्रीकरण गर्यौँ । हामीले ‘नेपाली’ भन्नुको अर्थलाई नयाँ अर्थ दिन थाल्यौँ— राजाको प्रजा होइन, साझा भविष्यका जिम्मेवार नागरिकका रूपमा । यो परिपूर्ण थिएन, आज पनि छैन तर यो सुरुवात थियो र यसले २४० वर्षको मौनता चिरेको थियो ।
राम्रो खबर यो छ कि सिंहासन ढलेको छ । नेतृत्व गर्न अब अनुमतिको आवश्यकता छैन । दृष्टिकोण राख्न अब मुकुट चाहिँदैन । अब हामीले त्यसलाई आफ्ना दिमाग र मुटुमा फेरि नबनाऔँ ।
यहाँ त्यो ‘विचारहीन नियतिवाद’को पर्खालमा अब चिरा पर्न थालेको छ । हामी यो परिवर्तन युवा मेयरहरूमा देख्छौँ, जो डिजिटल सेवा सुरु गर्दै छन्, पुराना वास्तुकलाहरू पुनर्जीवित गर्दै छन् र स्वयंसेवक संस्कारजस्ता परम्परागत अभ्यासलाई पुनस्र्थापित गर्दै छन् । फर्किएका युवाले अर्गानिक कृषि फेरि जगेर्ना गरिरहेका छन् । स्टार्टअप चलाउनेले स्थानीय समस्यालाई स्थानीय भाषामै समाधान गरिरहेका छन् । उनीहरूले अब ‘के गर्ने ?’ भन्ने मानसिकता अस्वीकार गरिरहेका छन् र सोधिरहेका छन्, ‘किन नगर्ने ?’ उनीहरू स्वीकृतिको प्रतीक्षा गर्दैनन्, अनुमति खोज्दैनन् । नेपाल असफल भएको होइन केवल असंगठित भएको विश्वास गर्छन् ।
हाम्रा आमाबुबाले भने— भाग, बाँच । हामी भन्छौँ— बसौँ र नेतृत्व गरौँ । निसास्सिने गरी बनाइएको प्रणालीभित्रै उनीहरूले दृष्टिकोणको बिउ रोपिरहेका छन् । कसैले चुनाव लडिरहेका छन्, कसैले मझौला उद्योग स्थापना गरिरहेका छन् । कसैले फोहोर छुट्ट्याउने, वर्षाको पानी संकलन गर्ने वा नेपाली भाषामा कोड लेख्ने तालिम दिइरहेका छन् । उनीहरूले केवल राम्रो नेपालको सपना देखिरहेका छैनन्, उनीहरू त्यो नेपाल निर्माण गरिरहेका छन् ।
यी दृष्टिवान् नागरिकहरूको लहर अझै सानो छ । यो दुई शताब्दियौँ पुरानो सांस्कृतिक प्रवाहका विरुद्ध पौडिरहेको छ । उनीहरूले हरेक मोडमा उपहास, अवरोध र प्रशासनिक झमेलाको सामना गरिरहेका छन् । उनीहरूलाई समर्थन चाहिन्छ— केवल सामाजिक सञ्जालमा होइन सडकमा, विद्यालयमा र सरकारमा पनि । त्यो समर्थन तब सुरु हुन्छ, जब हामीमध्ये प्रत्येकले केवल दर्शक नभई सक्रिय नागरिक बन्न रोज्छौँ ।
सफा सडक चाहिन्छ ? आफ्नै टोलबाट सुरु गर्नुहोस् । राम्रो शिक्षा चाहिन्छ ? विदेशी भिसा होइन सुधार माग्नुहोस् । असली नेता चाहिन्छ ? तिनीहरूलाई मतदान गर्नुहोस् — वा आफैँ एक बन्नुहोस् । किनभने साँचो गणतन्त्र संविधानमा मात्र होइन भोलि निर्माण गर्न सक्छु भन्ने विश्वास राख्ने जनताको चेतनामा लेखिएको हुन्छ ।
नेपाललाई अब नयाँ नेता मात्र होइन, नयाँ नागरिक चाहिन्छ । जसले प्रश्न गर्छ, योजना बनाउँछ, निर्माण गर्छ र दृष्टिकोणसहित मतदान गर्छ । जो प्रणालीभित्र केवल बाँच्दैन त्यसलाई पुनः परिकल्पना गर्छ । जसले बुझ्छ कि नेतृत्व एउटा पद होइन सोच हो । एउटा बानी वा एउटा अडान हो, जसले भत्किएको अवस्थालाई नियति मानेर स्वीकार गर्दैन । अब हामी अर्काे चुनाव, अर्काे दाता वा अर्काे चमत्कारको पर्खाइ गर्न सक्दैनौँ । किनकि दरबार ढलेको होला तर यसको सबैभन्दा शक्तिशाली संस्था, आज्ञाकारी नागरिक, अझै बाँच्छ ।
जबसम्म हामी आफ्नो मनबाट सिंहासन हटाउँदैनौँ, तबसम्म हामी टुक्रिएको प्रणालीलाई पुरानै राजकीय नक्सा अनुसार पुनर्निर्माण गर्दै बस्छौँ । अव्यवस्थालाई ‘सामान्य’ र जिउँदो रहनुलाई ‘सफलता’ भनिरहन्छौँ । त्यो स्वतन्त्रता होइन, त्यो जिम्मेवारीबाट पलायन हो ।
अन्त्यमा
आज एउटा पुस्ताले राजाहरूको शासनविना नेपालको अनुभव गरिरहेको छ र त्यसैले यो पहिलो पुस्ता भविष्यका लागि साँच्चिकै जिम्मेवार छ । राम्रो खबर यो छ कि सिंहासन ढलेको छ । नेतृत्व गर्न अब अनुमतिको आवश्यकता छैन । दृष्टिकोण राख्न अब मुकुट चाहिँदैन । अब हामीले त्यसलाई आफ्ना दिमाग र मुटुमा फेरि नबनाऔँ ।
अब स्थायी बाटा बनाऔँ, प्रश्न गर्ने विद्यालय बनाऔँ । सास फेर्न सक्ने सहर बनाऔँ । एउटा यस्तो राष्ट्र बनाऔँ, जहाँ सबैभन्दा शक्तिशाली संस्था आफैँप्रतिको विश्वास हो । नेपाल स्वतन्त्र छ । अब यसलाई दूरदर्शी बनाऔँ ।
(डा कँडेल जेनभा कार्यरत मेडिकल एपिडेमियोलोजिस्ट तथा मानवशास्त्री हुन् । यहाँ व्यक्त विचारहरू लेखकका नितान्त व्यक्तिगत हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरमा ५ लाख रुपैयाँ बराबरको चोरी
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु
-
गलत मनसायले बजेट प्रक्रियामा हस्तक्षेप गर्नेहरूलाई कारबाही हुन्छ : मुख्यमन्त्री शाह
-
‘संविधान पूर्ण कार्यान्वयन हुन सकेको छैन’
-
काठमाडौँको रानीबारीमा जुवातास खेलिरहेका ९ जना पक्राउ
-
माओवादीलाई निधिको आग्रह : भिजिट भिसामा छानबिन भइरहेको छ, अब सभा सञ्चालन गर्न दिनुस्