शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा सदस्य पुनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्त्येष्टि

आइतबार, १५ भदौ २०८२, १५ : ०५
आइतबार, १५ भदौ २०८२

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झन्डा ओढाएका हुन् ।  त्यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । 

पार्टीका अगुवा नेता,कार्यकर्ता, परिवारका सदस्य, आफन्तहरूको उपस्थितिमा आर्यघाटमा शोक सभा समेत गरिएको थियो । 

रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका १० तकसेरा बाछी गाउँ निवासी पुनको शनिबार काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

निधनप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सभा सदस्यको हैसियतमा समाज परिवर्तन, सुशासन र जनताका आकाङ्क्षालाई सम्बोधन गर्ने कार्यमा पुनले महत्त्वपूर्ण योगदान गरेको बताए । 

उनलाई एक दूरदर्शी, इमानदार, अनुशासित, विकास प्रेमी र निष्ठावान् जनप्रतिनिधिका रूपमा स्मरण गर्दै पुनको निधन प्रदेशका लागि अपूरणीय क्षति भएको मुख्यमन्त्री आचार्यले बताए । 

पुनको केही दिनअघि एकै पटक दुई वटा ठुलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन भने दोस्रो अपरेसनमार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप