शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा

शुक्रबार, २२ जेठ २०८३, २२ : ३१
शुक्रबार, २२ जेठ २०८३

मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ ।

विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहनुभएका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

कोरलानाकाबाट पैठारी गरिएका विद्युतीय सवारीको अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली आज बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले जानकारी दिए ।

छानविन टोली मुस्ताङ आउनुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणका लिएका विद्युतीय सवारी साधनको अनुमगन समेत गरेको भन्सार प्रमुख चुडालले जानकारी दिए । चीनबाट पैठारी गरी नेपाल भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान सुरु गरेको हो ।

टोलीले पोखरा हेम्जामा ९८ र पर्वतको कुश्मा १७ वटा विद्युतीय सवारीको अनुगमन गरेको छ । कोरलानाकाबाट भन्सार जाँचपास भई लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ वटा विद्युतीय सवारी साधनको समेत आजै टोलीले स्थलगत अनुगमन गरेका भन्सार प्रमुख चुडालले उल्लेख गरे । मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित बसपार्क क्षेत्रमा पार्किङ गरी राखिएका उक्त सवारी साधनको अनुगमन गरिएको छ ।

छानविन टोली कोरलानाकामा राखिएका ३९४ वटा विद्युतीय सवारीको अनुगमनका लागि शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्ने छ ।

गत भदौ ३१ गतेदेखि सञ्चालनमा आएको कोरलानाकाबाट गत जेठको दोस्रो साता चिनियाँ कम्पनी बिवाईडीले ७७५ वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याएको थियो ।

कोरला नाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारी साधनमध्ये ६४९ वटाको भन्सार जाँचपास भइसकेको सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरिले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप