घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
सारांश
- सरकारले उपभोक्ताहरूलाई बिक्री गर्दै आएको काठको मूल्य घटाएको छ ।
- वन पैदावार आपूर्ति समितिले जेठ ११ गतेदेखि लागु हुनेगरी काठको मूल्य घटाएको छ ।
- काठको मूल्य घटेसँगै केही दिन यता वन कार्यालयमा काठ लिन आउने उपभोक्ताको चाप बढेको छ ।
बारा । सरकारले उपभोक्ताहरूलाई बिक्री गर्दै आएको काठको मूल्य घटाएको छ । मधेस प्रदेश वन निर्देशनालयले जेठ ११ गतेदेखि लागु हुनेगरी काठको मूल्य घटाएको हो ।
डिभिजन वन कार्यालय बारा, वन पैदावार आपूर्ति समितिले जेठ ६ गते काठ, दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो । आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृत गरेको हो ।
घटेको दररेटमा ५० क्युफिटसम्म सालको गोलाई खरिद गर्ने उपभोक्तालाई ग्रेड अनुसार १५ हजारदेखि १९ हजार रुपैयाँसम्म राहत हुने देखिन्छ ।
प्राकृतिक रूपमा प्राप्त वन पैदावारमा राजस्व, मूल्य अभिवृद्धि कर (भ्याट), सङ्कलन तथा घाटगद्दी खर्च, सेवा शुल्कका नाममा उपभोक्ताले प्रतिक्युफिट २ हजार २०५ रुपैयाँ १७ पैसा (ए ग्रेड) बुझाउँदै आएका थिए ।
पछिल्लो समय वन पैदावार आपूर्ति समिति र साझेदारी वन समूहहरूले सेवा शुल्कका नाममा लिँदै आएको प्रतिक्युफिट ५ सय रुपैयाँलाई घटाएर २५० कायम गरिएको छ । यो रकम उपभोक्ताले प्रतिक्युफिट १ हजार २५० रुपैयाँ राजस्व रकमको २० प्रतिशतमात्रै हो ।
यसअघि उपभोक्ताहरूले राजस्व रकमको अधिकतम् ५० प्रतिशतसम्म सेवा शुल्क बुझाउँदै आएका थिए । सङ्कलन तथा घाटगद्दी खर्च पनि केही कटौती गरिएको छ ।
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाले जिल्लाभित्रका सम्पूर्ण उपभोक्तालाई सहुलियत दरमा काठ उपलब्ध गराउन मूल्य घटाइएको बताए । ‘हामीसँग काठ फालाफाल छ, तर सामुदायिक र साझेदारी वन समूहभन्दा बाहिरका उपभोक्तालाई काठको मूल्य महँगो पर्न गएकाले आपूर्ति समितिबाट निर्णय गरेर मूल्य घटाइएको हो,’ उनले भने ।
_ywkCaLkJ7i.jpg)
डिभिजन वन अधिकृत झाका अनुसार मूल्य घट्दा देशको राजस्व बढ्नुका साथै जनताले पनि सहुलियत दरमा काठ पाउँछन् । यसले चोरी निकासी पनि कम हुने उनको भनाइ छ ।
अहिले आपूर्ति समितिमार्फत बिक्री हुने काठको मूल्य साझेदारी वन उपभोक्ता समूहको भन्दा केही कम निर्धारण गरिएको छ । बारामा ४ वटा साझेदारी र ४२ वटा सामूदायिक वन समूह छन् ।
साझेदारीको हकमा कटान भएको काठको ३० प्रतिशत र सामूदायिक वन समूहमा भने आन्तरिक खपत गरेर बाँकी रहेको काठको ५० प्रतिशत आपूर्ति समितिलाई दिनुपर्ने कानुनी व्यवस्था छ । हाल डिभिजन वन कार्यालय बारामा आपूर्ति समितिमा १९ हजार क्युफिट काठ घाटगद्दीमा छ ।
काठको मूल्य घटेसँगै केही दिन यता वन कार्यालयमा काठ लिन आउने उपभोक्ताको चाप बढेको छ । कार्यालयका अनुसार दैनिक ८ देखि १० जनाले आवेदन फारम बुझाएका छन् ।
_kAjisYGOLI.jpg)
सिम्रौनगढ नगरपालिका वडा नं ९ का सौरभ यादवले काठको मूल्य घट्दा धेरै खुसी लागेको बताए । ‘पहिला काठ नपाउने समस्या थियो । अहिले डिभिजन वनले पनि धेरै सहजीकरण गरेको छ,’ यादवले भने, ‘काठको लागि आवेदन भर्नासाथ स्थलगत रूपमा अनुगमन गरेर सजिलै उपलब्ध गराइन्छ ।’
वन क्षेत्र र काठको घाटगद्दी जिल्लाको उत्तरतर्फ हुँदा जिल्लाको दक्षिणतर्फ भेगका उभोक्ताहरू काठका लागि ३० देखि ४० किलोमिटर उत्तरतर्फ आउनुपर्ने बाध्यता छ । सिम्रौनगढका स्थानीय सौरभ यादव वन कार्यालय र साझेदारी वन समूहहरूले दक्षिणी भेगमा पनि काठ, दाउराको घाटगद्दी राखिदिए उपभोक्ताहरूलाई ढुवानी भाडा कम पर्ने बताउँछन् ।
_anUuvqGmV3.jpg)
फेटा गाउँपालिका वडा नं ३ का सोनालाल प्रसाद तेलीले काठको मूल्य घटेर धेरै राहत भएको बताए । ‘पहिला प्रतिक्युफिट २२ सय रुपैयाँ थियो, आज १८ सय २५ भएको छ । साहै्र खुसी लागेको छ,’ उनले भने ।
यसअघि काठ नपाएर घरको झ्याल, ढोकामा आल्मुनियम प्रयोग गरेका उपभोक्ताहरूले पनि मूल्य घटेपछि काठको प्रयोग गर्न सुरु गरेको तेलीको भनाइ छ ।
काठको मूल्यमा उपभोक्तालाई कति राहत ?
उपभोक्ताहरूले ‘ए ग्रेड’ को सालको गोलाईमा प्रतिक्युफिट राजस्व १२५०, बी ग्रेडको ९ सय, सी र डीको क्रमशः ६ सय र ३ सय रुपैयाँ राजस्व बुझाउँदै आएका थिए । सो राजस्व रकममा थप सङ्कलन तथा घाटगद्दी खर्च २५९, समितिको सेवा शुल्क ५ सय र कुल रकमको १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडेर ए ग्रेडको २२०५, बीको १८०९, सी र डीको क्रमशः १४७० र ९३१ रुपैयाँ बुझाउँदै आएका थिए ।
तर, जेठ ११ गतेदेखि लागु हुनेगरी सङ्कलन तथा घाटगद्दी खर्चमा प्रतिक्युफिट ४६ रुपैयाँ र समितिको सेवा शुल्क २५० घटाइएको छ । पछिल्लो दररेट अनुसार ए ग्रेडको १९०३, बीको १४३७, सीको १०३८ र डीको ६३९ रुपैयाँ कायम गरिएको छ ।
यता साझेदारी वन उपभोक्ता समूहले पनि चालु आर्थिक वर्ष प्रतिक्युफिट २५३ रुपैयाँदेखि ४ सय रुपैयाँसम्म मूल्य घटाएको छ ।
वन समूहले उपभोक्तालाई नयाँ घर निर्माणका लागि ५० देखि ६० क्युफिटसम्म काठ उपलब्ध गराउँछ भने आगलागी र घर मर्मत गर्नुपरेमा ३० क्युफिटसम्म काठ उपलब्ध गराइन्छ ।
_M6geXxy5OM.jpg)
गढीमाई साझेदारी वन समूहका अध्यक्ष राम एकवाल प्रसाद तेलीले काठको मूल्य बढी हुँदा उपभोक्ताहरूले चिरान मिलबाट खरिद गर्न थालेकाले मूल्य घटाउनु परेको बताए ।
‘चिरान मिलमा लिलामको काठ आएर धेरै सस्तो हुँदा हामी धेरै मारमा परेकाले समिति बसेर प्रतिक्युफिट २५३ देखि ४ सय रुपैयाँसम्म घटायौँ,’ अध्यक्ष तेलीले भने, ‘मूल्य घटेपछि काठ लिन आउने उपभोक्ताको भिड लागेको छ ।’
साझेदारी वन समूहमा काठका लागि उपभोक्ताहरूले आवेदन फारम बुझाउनु पर्दछ र सोही फारमका आधारमा साझेदारी र सव डिभिजनका वन कर्मचारीहरूले स्थलगत रूपमा अनुगमन गरेपछि उपभोक्तालाई काठ उपलब्ध गराइन्छ ।
_YCh0al37qR.jpg)
अन्य जिल्लाबाट लिलाम भएका धेरै काठ बारा जिल्लामा आउने गर्दछ । ती काठ चिरान मिलमार्फत प्रतिक्युफिट ३ हजारदेखि ३ हजार २ सय मूल्य तिरेर उपभोक्ताले खरिद गर्ने गर्दछन् ।
बारा जिल्लामा वार्षिक ७० हजारदेखि १ लाख क्युफिटसम्म काठ उत्पादन हुने गर्दछ । यी उत्पादन भएका काठमध्ये साल र सतिसाल बाहेक अन्य प्राजातिका काठ घाटगद्दीमै कुहिने गर्दछन् । पछिल्लो समय डिभिजन वन कार्यालय बाराले १ वर्षभित्र आन्तरिक खपत नभएका काठलाई तत्कालै लिलाम प्रक्रियामा लगेर बिक्री वितरण गर्न सुरु गरेको छ ।
मधेस प्रदेश वन निर्देशनालयका सूचना अधिकारी लालबाबु यादवले मधेस प्रदेशका सबै जिल्लामा चालु आर्थिक वर्षदेखि काठको मूल्य घटेको बताए । उनले कुल राजस्व रकम (१२५०) को २० प्रतिशतभन्दा धेरै नाफा लिन नपाउने व्यवस्था गरिएको जनाए ।
‘कानुन संशोधन गरेर आपूर्ति समितिले राजस्व रकमको १० देखि २० प्रतिशतमात्रै नाफा लिन पाउने व्यवस्था गरिएको छ । त्योभन्दा माथि जान नमिल्ने व्यवस्था गरिएको छ,’ यादवले भने ‘यो व्यवस्था सबै जिल्लाहरूमा लागु भइसकेको छ ।’
_ByNKwZGHow.jpg)
_SfpKTBTlHb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण