जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
सारांश
- जनकपुरधाममा बढ्दो सवारी साधनको चापअनुसार पार्किङ व्यवस्थापन नहुँदा मुख्य सडक र बजार क्षेत्र अस्तव्यस्त भएको छ ।
- व्यवस्थित पार्किङ स्थलको अभावले सडक किनारमा जथाभाबी सवारी साधन पार्किङ हुँदा पैदल यात्रु, व्यापारी र चालकलाई दैनिक सास्ती खेप्नुपरेको छ ।
- पार्किङका लागि छुट्याइएका स्थानमा समेत ठेला तथा अस्थायी पसल सञ्चालन हुँदा समस्या थपिएको छ भने सुरक्षाको चिन्ता पनि बढेको छ ।
जनकपुरधाम । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जनकपुरधाम मधेस प्रदेशको राजधानीसमेत हो । प्रदेश राजधानी बनेसँगै यहाँ सरकारी कार्यालय, व्यापारिक गतिविधि, सेवाग्राही र पर्यटकको चाप बढिरहेको छ । सवारी साधनको बढ्दो सङ्ख्याअनुसार पार्किङ व्यवस्थापन हुन नसक्दा जनकपुरधामका मुख्य सडक र बजार क्षेत्र अस्तव्यस्त बन्दै गएका छन् ।
जनकपुरधाममा दैनिक हजारौँको सङ्ख्यामा स्थानीय, सेवाग्राही तथा पर्यटकको आवागमन हुन्छ । मधेस प्रदेशका आठै जिल्लाबाट सरकारी कामका लागि आउने नागरिकका साथै जानकी मन्दिरलगायत धार्मिकस्थल दर्शन गर्न आउने पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ । तर व्यवस्थित पार्किङ स्थलको अभावका कारण बजार क्षेत्रका सडक किनारमै जथाभाबी सवारी साधन पार्किङ हुने गरेको छ । यसले पैदल यात्रु, व्यापारी र चालकलाई दैनिक सास्ती खेप्न बाध्य बनाएको छ ।
केही दिनअघि मधेस प्रदेश सरकारका सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा विभिन्न स्थानमा भएका फुटपाथ अतिक्रमण हटाइएको थियो । तर हटाइएका स्थानलाई व्यवस्थापन गर्न नसक्दा पुनः फुटपाथमा ठेला तथा अस्थायी पसलहरू लाग्न थालेका छन् । यसले पार्किङ व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको जनकपुर-२ का राजीव ठाकुरले बताए ।
रामचोक, जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, जनक मन्दिर क्षेत्र लगायत भानुचोक, रामानन्द चौक स्थानमा पार्किङका लागि छुट्याइएका क्षेत्रमै ठेला तथा अस्थायी व्यापार सञ्चालन हुने गरेको देखिन्छ । जसका कारण सवारी चालकहरूलाई पार्किङ गर्न समस्या हुने गरेको छ ।
महोत्तरीको कविलासी नगरपालिका निवासी सुन्दर चौधरीले पार्किङका लागि छुट्याइएको स्थानमै ठेला लाग्दा समस्या हुने गरेको बताए । 'पार्किङ गर्ने ठाउँमा ठेला छन्, हामीले गाडी कहाँ राख्ने ? ठेलाकै अगाडि प्रहरी पनि हुन्छन् तर कसैले केही भन्दैनन् । ठेलावालासँग मेरो मुखामुख पनि भएको छ,' उनले भने ।
जनकपुरधाममा रहेका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत तथा विभिन्न प्रादेशिक कार्यालयमा दैनिक ठुलो सङ्ख्यामा सेवाग्राही पुग्ने गर्छन्, तर अधिकांश कार्यालय परिसरमा पर्याप्त पार्किङ सुविधा नहुँदा सेवाग्राहीले सवारी साधन सडक किनारमै राख्नुपर्ने बाध्यता छ ।
जनकपुरधाम–७ का केशव मण्डलले पार्किङ अभावसँगै सुरक्षाको चिन्ता प्रकट गरे । 'पार्किङको व्यवस्था छैन । गाडी कहाँ राख्ने भन्ने समस्या हुन्छ । अर्कोतर्फ गाडी चोरी हुने, हेल्मेट हराउने जस्ता घटना पनि भइरहन्छन्,' उनले भने ।
पछिल्लो समय जनकपुरधाममा व्यापार, सेवा र पर्यटन गतिविधि विस्तार हुँदै गएका छन् । नयाँ कार्यालय थपिएका छन्, निजी व्यवसाय बढेका छन् र पर्यटकको आगमन पनि बढ्दो छ । तर पार्किङ व्यवस्थापन भने सोही अनुपातमा विकास हुन सकेको छैन ।

भारतको महाराष्ट्रबाट जनकपुर भ्रमणमा आएका बस चालक दिलिप गोइनकाले बाहिरबाट आउने पर्यटकलाई पार्किङ अभावले समस्या हुने गरेको बताए । 'गाडी राख्ने ठाउँ खोज्नै समस्या हुन्छ । धर्मशालामा या अरू कुनै ठाउँमा प्रशस्त ठाउँ नहुँदा पार्किङ समस्या भएकाले बेला–बेलामा सडकबाट गाडी हटाउनुपर्छ । घुम्न र बस्न मन लागे पनि सहज छैन । व्यवस्थित पार्किङको व्यवस्था हुनुपर्छ,' उनले भने ।
अव्यवस्थित पार्किङका कारण ट्राफिक जामको समस्या पनि बढ्दै गएको छ । मोटरसाइकल, अटो, ई–रिक्सा तथा चारपाङ्ग्रे सवारी साधन सडक किनारमा जथाभाबी पार्किङ गर्दा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी नायब निरीक्षक विजय राईका अनुसार पार्किङका लागि पर्याप्त स्थानको अभाव नै मुख्य समस्या हो । 'ठाउँ नभएकाले अव्यवस्थित पार्किङ भइरहेको छ । हामी त्यसलाई सकेसम्म व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ । कार्यालय अगाडि पनि पर्याप्त ठाउँ छैन । स्थानीय सरकारले समेत यसलाई प्राथमिकताका साथ व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ,' उनले भने ।
फुटपाथ व्यवस्थापन र अतिक्रमण हटाउने जिम्मेवारी स्थानीय सरकार तथा नगर प्रहरीको भए पनि ट्राफिक प्रहरीले आवश्यक सहयोग गर्दै आएको छ । 'फुटपाथ हटाउने हाम्रो काम होइन । त्यो स्थानीय सरकार र नगर प्रहरीको क्षेत्राधिकारभित्र पर्छ । हामी आवश्यक सहयोग गरिरहेका छौँ,' राईले भने ।
जनकपुरधामका महावीर चोक, पुरानो बजार, सोनारपट्टी, माछा बजार, पेठिया बजारलगायतका व्यस्त क्षेत्रमा अव्यवस्थित पार्किङका कारण दैनिकजसो ट्राफिक जाम हुने गरेको छ । यसबाट सर्वसाधारण, व्यापारी तथा यात्रु सबै प्रभावित हुने गरेका छन् ।
प्रहरी नायब निरीक्षक राईका अनुसार जनशक्ति अभावले पनि व्यवस्थापनमा चुनौती थपिएको छ । 'हाम्रो सङ्ख्या कम छ, क्षेत्र ठुलो छ । सबै ठाउँमा एकैपटक पुग्न र व्यवस्थापन गर्न कठिन हुन्छ । तापनि हामी निरन्तर काम गरिरहेका छौँ,' उनले भने ।
हस्पिटल रोड, राम मन्दिर रोड र जानकी मन्दिर रोडजस्ता व्यस्त सडकमा नो–पार्किङ क्षेत्रमा समेत सवारी साधन पार्किङ गर्ने गरिएको छ । मन्दिर एरियामा पार्किङ स्थलमा फलफूल, माला र प्रसादीका पसल सञ्चालन हुँदा पार्किङका लागि छुट्याइएको स्थान नै साँघुरिएको छ । यसले बाहिरबाट आएका पर्यटक र स्थानीय व्यवसायीबिच कहिलेकाहीँ विवादसमेत हुने गरेको स्थानीय नीरज झाले बताए ।
यता जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता परमेश्वर झाले पार्किङ व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी भइरहेको बताए । 'हामी पार्किङ व्यवस्थापनका लागि विभिन्न ठाउँ अध्ययन गरिरहेका छौँ । फुटपाथ व्यवसायलाई पनि व्यवस्थित गर्ने तयारीमा छौँ । छिट्टै व्यवस्थापनको काम अगाडि बढ्छ,' उनले भने ।
प्रदेश राजधानी र प्रमुख धार्मिक गन्तव्यका रूपमा विकसित भइरहेको जनकपुरधाममा पार्किङ व्यवस्थापन अहिले प्रमुख सहरी चुनौतीका रूपमा देखिएको छ । सम्बन्धित निकायबिच समन्वय गरी दीर्घकालीन समाधान खोज्न नसके अव्यवस्थित पार्किङ, ट्राफिक जाम र सर्वसाधारणको सास्ती अझ बढ्दै जाने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण