शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति

शुक्रबार, २२ जेठ २०८३, २१ : ४१
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • सिराहा जिल्ला प्रशासन कार्यालयले एसईई र कक्षा १२ परीक्षामा जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरेपछि अभिभावक र कानुन व्यवसायीले आपत्ति जनाएका छन्।
  • अनुमानित एक करोड रुपैयाँभन्दा बढी बजार मूल्य रहेका यी उपकरणहरू परीक्षाको मर्यादा कायम राख्न र दुरुपयोग रोक्न नष्ट गरिएको प्रशासनको दाबी छ।
  • अभिभावकहरूले विद्यार्थीको गल्तीमा अभिभावकले किनेको सम्पत्ति नष्ट गर्नु उचित नभएको भन्दै कानुनी कारबाहीको माग गरेका छन्।

सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले गत चैतमा सम्पन्न एसईई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा परीक्षा हलबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरेको विषय विवादित बनेको छ ।

बरामद सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ। अभिभावक तथा कानुन व्यवसायीहरूले यस कदममाथि गम्भीर प्रश्न उठाएका छन्।

प्रशासनको उक्त निर्णयप्रति अहिले सर्वत्र आलोचना भइरहेको छ। प्रशासनले भने परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा हुन सक्ने दुरुपयोग रोक्न उपकरण नष्ट गरिएको दाबी गरेको छ।

एसईई र कक्षा १२ को परीक्षाका क्रममा सात थान आईफोन, ४८९ थान विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो। प्रशासनका अनुसार ती सबै उपकरण हालै नष्ट गरिएको हो।

परीक्षार्थीहरूबाट जफत गरिएका मोबाइल नष्ट गर्ने प्रशासनको निर्णयप्रति अभिभावकहरूले आपत्ति जनाएका छन्। परीक्षार्थीका एक अभिभावक किशोरी यादवले विद्यार्थीको गल्तीका कारण अभिभावकले दुःख गरेर किनेको सम्पत्ति नष्ट गर्नु उचित नभएको बताए।

उनका अनुसार गल्ती गर्ने विद्यार्थी र परीक्षा केन्द्रका प्रतिनिधिमाथि कानुनी कारबाही गर्न सकिन्थ्यो, तर मोबाइल नै नष्ट गर्नु उचित निर्णय होइन।

कानुन व्यवसायीहरूले पनि प्रशासनको कदमलाई विवादास्पद बताएका छन्। सिराहाका कानुन व्यवसायी चन्दनकुमार कर्णले मोबाइल व्यक्तिगत सम्पत्ति भएकाले त्यसलाई नष्ट गर्नु कानुनी परीक्षणको विषय बन्न सक्ने बताए । 

‘यदि अभिभावक कानुनी प्रक्रियामा अघि बढे भने नष्ट गर्ने निर्णयमा संलग्न व्यक्तिविरुद्ध कारबाही र क्षतिपूर्ति दुवै हुन सक्छ। व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व हो,’ अधिवक्ता कर्णले भने।

जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले भने शिक्षा ऐनको व्यवस्था तथा जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार मोबाइल नष्ट गरिएको दाबी गरे।

उनका अनुसार जफत गरिएका सामग्री कानुनी रूपमा लिलामी गर्न सकिने भए पनि मोबाइलजस्ता संवेदनशील उपकरण पुनः दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नष्ट गर्ने निर्णय गरिएको हो।

‘जफत गरिएका मोबाइल लिलामी गर्नुपर्ने व्यवस्था भए पनि भविष्यमा दुरुपयोग नहोस् भन्ने उद्देश्यले नष्ट गर्ने निर्णय गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने।

यसअघि मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइए कडा कारबाही गरिने चेतावनी दिएकी थिइन्। सोही आधारमा जिल्ला परीक्षा समन्वय समिति सिराहाले मोबाइल व्यवस्थापनका लागि छुट्टै उपसमिति गठन गरी बरामद उपकरण नष्ट गर्ने निर्णय गरेको समितिको भनाइ छ।

शिक्षा विकास तथा समन्वय इकाई सिराहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय समिति गठन गरिएको थियो।

समितिले जिल्ला प्रहरी कार्यालय परिसरमा मोबाइलहरू २४ घण्टा पानीमा डुबाएर राखेपछि पूर्ण रूपमा प्रयोग गर्न नसकिने बनाइ फुटाएर नष्ट गरेको जनाएको छ।

उपसमिति संयोजक यादवका अनुसार मोबाइललाई पुनः प्रयोग हुन नसक्ने अवस्थामा पुर्‍याएर नष्ट गर्ने निर्णय गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप