कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
सुर्खेत । कर्णाली सरकारले ल्याएको आगामी आर्थिक वर्ष (२०८३/८४) को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । बिहीबारदेखि सुरु छलफलमा प्रदेशसभाका अधिकांश सांसदले भाग लिए । सबैको एउटै निष्कर्ष थियो- नयाँ नीति तथा कार्यक्रममा अधिकांश पुरानै कुरा आए ।
नयाँ नीति तथा कार्यक्रममा कुनै नवीनतम कुरा नआएकाले सत्तादेखि प्रतिपक्षका धेरैजसो सांसदहरूले यसलाई थप सुधार गर्नुपर्ने र समृद्ध बनाएर लैजानुपर्ने धारणा राखे । सांसद विन्दमान विष्ट, वेदराज सिंहजस्ता पूर्व अर्थमन्त्रीहरूले दोहोरिएका र विगतका लोकप्रिय कार्यक्रम हराएको बताए । विष्टले सधैं नीति तथा कार्यक्रममा आइरहने तर कार्यान्वयन नहुने सुर्खेत विमानस्थल विस्तारबारे प्रश्न उठाए ।
२०७८ मै विस्तार कार्य अघि बढ्नै लाग्दा रोकिनुका पछाडि हालका मुख्यमन्त्री यामलाल कँडेलमाथि नै असहयोगको आरोप लाग्ने गरेको छ । तर उनी मुख्यमन्त्री बनेपछि विस्तारको कुराले प्राथमिकता पाइरहेको छ । यद्यपि हालसम्म विस्तारको कार्य नै सुरु हुन सकेको छैन ।
‘प्रदेश सरकारको नीति, कार्यक्रम विमानस्थल विस्तार गर्ने छ, तर विस्तार कार्य प्रभावित क्षेत्रमा पर्ने विद्यालयको नयाँ भवनको शिलान्यास गर्न मुख्यमन्त्री नै जानु भएको छ,’ उनले भने, ‘यहाँ तालमेल कहाँ मिलेको छैन ? नीति तथा कार्यक्रमा विस्तारको कुरा आइरहने तर विस्तार क्षेत्रमा मुख्यमन्त्रीकै सहभागितामा भौतिक संरचना बनिरहने ? यो त भन्ने कुरा न हो भनेजस्तो भएन र ?’ सरकारको संगती नै नमिलेको उनको आरोप छ ।
अर्का सांसद सिंहले हालको विमानस्थल विस्तार आवश्यक नै रहेको बताए । साथै, पूर्वी सुर्खेतमा निर्माण हुने भनिएको प्रादेशिक विमानस्थल विस्तारको कुरा नीति तथा कार्यक्रममा नआएको बताए । २०७५ सालदेखिका कतिपय कार्यक्रम आइरहने, दायित्व बढिरहने कार्यक्रमबारे सरकारले केही नबोलेको पनि उनले बताए ।
‘कि त्यस्ता कार्यक्रम यो वर्ष सक्ने गरी बजेट निर्माण गर्ने भनेर ल्याउनुपर्थ्यो, कि सबैको ठेक्का तोड्ने भन्ने आउनुपर्ने,’ उनले भने, ‘यो अवस्थाले नयाँ आयोजना पनि प्रविष्ट गर्न नसक्ने, पुराना पनि पूरा गर्न नसक्ने स्थितिलाई अन्त्य गरिनुपर्छ ।’
संसद्मा बोलेका धेरैजसो सांसदले अघिल्लो सरकारका पालामा आएको लोकप्रिय ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमबारे प्रश्न उठाए ।
तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पालामा यस कार्यक्रमलाई लोकप्रिय भनेर चर्चा गरियो । केही वर्ष कार्यान्वयन पनि गरियो । अघिल्लो वर्षसम्म करोडौं रकम खर्च पनि भइसक्यो । पछिल्लो समय अलपत्र परेको यो कार्यक्रम अहिले नीति तथा कार्यक्रमबाट नै हराएको छ । यसबारे अधिकांश सांसदले प्रश्न उठाए ।
‘के यो सरकार छोरीहरूप्रति अनुदार बन्न खोजेको हो,’ अधिकांश महिला सांसदले प्रश्न गरे ।
प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले निष्कर्षसहित भने, ‘यो नीति तथा कार्यक्रम पूर्णरुपमा ‘कपीपेस्ट’ छ । त्यस बाहेक अन्य आशा गर्नुपर्ने कुरा कुनै नभएको उनले बताए ।
पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, हिक्मत विष्टदेखि अन्य केही सांसदहरूले कार्यान्वयनको विषयमा जोड दिए । ‘कार्यक्रम आइरहने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनुपर्छ,’ सांसद जानकी सिंहले भनिन् ।
सांसदले उठाएका प्रश्नको जवाफ शुक्रबार मुख्यमन्त्री यामलाल कँडेलले दिए । अधिकांश सांसदले नीति, कार्यक्रम ‘कपीपेस्ट’ भनेपछि सुरुमै यही विषयमा प्रष्टीकरण दिए, ‘एउटै प्रस्तोता वा नेतृत्व भइसकेपछि त्यसले ल्याएको नीति तथा कार्यक्रमलाई अब कपीपेस्ट भन्नुस् वा अरू केही भन्नुस् मेरो कुनै टिप्पणी छैन ।‘
कँडेलले आफू सत्तामा हुँदा त्यही ल्याउँदा क्रान्तिकारी हुने तर सत्ता बाहिर हुँदा धङधङी देखाइहाल्ने प्रवृत्ति रहेको बताए । ‘हामीले विगतको भन्दा सच्याएर ल्याएका छौँ,’ उनले थपे, ‘तर पनि अहिलेको छलफल हेर्दा धङधङी यहाँ देखियो ।’
बरू सांसद र नेताले बोल्ने कुरामा खासै परिवर्तन नभएको उनले बताए । विगतको भन्दा केही सच्याएर ल्याएको र अझ सच्चिएर जानैपर्ने कुरामा उनले जोड दिए ।
‘अब यही ठाउँमा एउटै प्रस्तोताले वा भिन्न प्रस्तोताले भए पनि धेरै कुरा परिवर्तन नभएकै दृष्टान्त पाइन्छ,’ उनले भने, ‘त्यसमध्ये पनि एउटै प्रस्तोता वा नेतृत्व भइसकेपछि त्यसलाई अब कपीपेस्ट भन्नुस् वा अरू केही भन्नुस् मेरो कुनै टिप्पणी छैन ।’ त्यसलाई आफू सकारात्मक तरिकाले नै बुझ्ने उनले बताए ।
मुख्यमन्त्री कँडेलले अधिकांश कार्यक्रमले निरन्तरता पाएको दाबी गरे । कतिपय पुराना लोकप्रिय कार्यक्रम हराएको विषयमा कँडेलले कार्यक्रमभित्र जटिलता रहेको बताए । ‘लेखेर मात्र हुने भए कार्यान्वयन भइसक्थ्यो त,’ उनले भने, ‘यो विषयमा थप छलफल गर्नुपर्ने छ । जे कारणले आजसम्म रोकियो त्यसको समाधान गरिने छ ।’
मुख्यमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम संसद्बाट पारित भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण