शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
सर्वसाधारणको दसैँ

'पैसा भए नयाँ लुगा किन्छौँ, नत्र पुरानैले काम चलाउँछौँ'

सोमबार, १३ असोज २०८२, २० : ००
सोमबार, १३ असोज २०८२

सारांश

  • अत्तरिया बजारमा दसैँको किनमेल गर्नेहरूको घुइँचो लागेको थियो, तर लीलादेवी चौधरीलाई चाडको रमझमभन्दा घरखर्चको चिन्ता थियो।
  • दैनिक ज्याला मजदुरी गर्ने र खेतीपातीमा निर्भर लीलादेवीको परिवारलाई दसैँ मनाउन आर्थिक समस्या रहेको र स्वास्थ्य समस्याले सताइरहेको छ।
  • उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितामा विश्वास नगरेको र दसैँमा परिवारसँगै बसेर चाड मनाउनु नै आफ्नो लागि ठूलो खुसी भएको बताइन्।

धनगढी । सुदूरपश्चिमको मुटुको रूपमा रहेको अत्तरिया बजारमा सोमबार दिउँसोको माहोल दसैँका लागि किनमेल गर्नेहरूको घुइँचोले तातेको थियो ।

चर्को घाम र गर्मीसँगै बजारमा किनमेल गर्नेहरूको भिड पनि बढ्दो थियो । त्यही भिडमा, सडक किनारको फुटपाथमा जुत्ता सिलाउने एक जनाको छेउमा कैलालीको गोदावरी नगरपालिका–६, बढैया गाउँकी ३८ वर्षीया लीलादेवी चौधरी आफ्नो पुरानो चप्पल सिलाइदिन आग्रह गर्दै थिइन् । बजारको यो तामझाम र उल्लासभन्दा उनको अनुहार निरासा थियो ।

देशभर दसैँको उल्लास र उमङ्ग छाइरहँदा लीलादेवीजस्ता कैयौँ सर्वसाधारणलाई भने चाडको रमझमभन्दा घरखर्च र आफ्नो उपचारको चिन्ताले बढी छोएको छ । अधिकांश नेपालीका लागि दसैँ नयाँ लुगा लगाउने, मीठो खाने र घुमफिर गर्ने अवसर भए पनि उनीजस्ता धेरैका लागि यो पर्वले खासै नयाँ खुसी ल्याउन सकेको छैन । दैनिक ज्याला मजदुरी र खेतीपातीमा निर्भर उनको छ जनाको परिवारको जिम्मेवारी काँधमा बोकेकी लीलादेवीलाई दसैँ भव्य बनाउने रहरभन्दा पनि कसरी सहज रूपमा टार्ने भन्ने चिन्ता छ ।

‘दसैँमा रमाइलो त हुन्छ, तर हामी जस्ता मजदुरी गरेर खानेलाई सधैँ सहज हुँदैन,’ उनी भन्छिन्, ‘पैसा भएको बेला छोराछोरीलाई नयाँ कपडा किनिदिन्छौँ, नभएको बेला पुरानै लगाएर मनाउँछौँ । हाम्रा लागि ठुलो कुरा परम्परा धान्नु हो ।’ बाली सप्रिएका बेला परिवार चलाउन केही सहज भए पनि मौसमले साथ नदिँदाको पीडा र अनिश्चित आम्दानीले चाडपर्वमा थपिने खर्चको व्यवस्थापन गर्न उनीजस्ता परिवारलाई सधैँ चुनौतीपूर्ण हुन्छ ।

थारु समुदायमा दसैँ मनाउने तरिका र परम्परामा आफ्नै मौलिकता र विशेषता छ, जुन पहाडी समुदायको भन्दा केही भिन्न छ । लीलादेवीका अनुसार, उनीहरूको समुदायमा दसैँको तयारी घटस्थापनासँगै सुरु हुन्छ । घटस्थापनाको दिन नुहाइधुवाइ गरेर जमरा राखिन्छ । त्यसपछि नदीमा गएर ‘ढिक्री’ (चामलको पिठोबाट बनाइने एक प्रकारको परिकार) बनाउनका लागि चामल पखालिन्छ, जुन विशेषगरी देवतालाई चढाउन प्रयोग गरिन्छ । 

उनीहरूको समुदायमा दसैँको टीकाभन्दा दुई दिनअघि, अर्थात् चतुर्दशीका दिन, विशेष पूजाआजा गरिन्छ । ‘हामीकहाँ चौध गते (चतुर्दशी) का दिन मुख्य पूजा हुन्छ । त्यस दिन देवतालाई पूजा गर्छौँ, कुखुरा काट्छौँ र जमरा चढाउँछौँ,’ उनले आफ्नो सांस्कृतिक परम्पराबारे प्रस्ट्याउँदै भनिन् । उनका अनुसार, देवतालाई चढाइसकेपछि मात्र मानिसहरूले लगाउने टीकाको पालो आउँछ, जुन १६ गते हुन्छ । ठूलाले सानालाई आशीर्वाद दिएर टीका लगाइदिने चलन हाम्रो पनि उस्तै हो । यो परम्पराले प्रकृतिको पूजा र पितृहरूको सम्मानलाई प्राथमिकतामा राखेको देखिन्छ । 

चाडपर्वको चटारोका बीच लीलादेवीलाई आफ्नो स्वास्थ्यले पनि निरन्तर सताइरहेको छ । उनी लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित छिन् । कम्मरदेखि पैतालासम्म झमझमाउने र हिँड्न गाह्रो हुने समस्याले उनको दैनिक जीवन कष्टकर बनेको छ । यो रोगले उनको शरीरलाई मात्र होइन, परिवारको आर्थिक अवस्थालाई पनि कमजोर बनाएको छ । 

‘यहाँ धनगढीमा उपचार गर्दा खासै निको भएन । डाक्टरले जिन्दगीभर औषधि खानुपर्छ भनेका छन्,’ उनले आफ्नो पीडा सुनाइन्, ‘हरेक महिना उपचारका लागि भारत जानुपर्छ । औषधि र अन्य खर्च गरेर १० हजारभन्दा बढी सकिन्छ ।’ केही समयअघि अत्तरियामा फिजियोथेरापी गराउँदा उल्टै स्वास्थ्य बिग्रिएर नेपालगञ्जको आईसीयूमा भर्ना हुनुपरेको तितो अनुभवले उनलाई स्थानीय स्वास्थ्य सेवाप्रति झनै सशङ्कित बनाएको छ । ‘त्यतिबेला त झन्डै ज्यान गएन,’ उनले भनिन् । 

सरकारले गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम ल्याए पनि लीलादेवीको परिवारले यो सुविधा लिएको छैन । बीमाबारे जानकारी भए पनि यसको प्रभावकारितामा उनलाई विश्वास छैन । बीमा गरेकाहरूले पनि अस्पतालमा राम्रो सेवा नपाएको, अनावश्यक झन्झट बेहोर्नुपरेको र कर्मचारीहरूले वास्ता नगरेको गुनासो जताततै सुनेकाले उनले बीमा नगराएको बताइन् ।

‘बीमा गरे पनि अस्पतालमा वास्तै गर्दैनन्, अनेक बहाना बनाएर पन्छाउँछन् भन्ने सुनेको छु,’ उनले भनिन्, ‘त्यसैले दुःख पाएर पनि हामीले बीमा गराएका छैनौँ ।’ दुख आफ्नो ठाउँमा छ लीलादेवीले दसैँको तयारीलाई रोकेकी छैनन् । छोराले बुहारी भित्र्याइसकेका छन्, छोरीहरूको पनि बिहे भइसकेको छ । दुःखसुखका बीच परिवारसँग बसेर चाड मनाउनु नै उनका लागि सबैभन्दा ठुलो खुसी हो । नजिकै रहेको माइत जाने योजना पनि छ ।

'जे सकिन्छ त्यसरी नै दसैँ मनाउने हो,' उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप