बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गगन थापाको राजीनामा फिर्ता लिन कांग्रेस केन्द्रीय सदस्यहरू एकमत !

आइतबार, ०८ चैत २०८२, १३ : २१
आइतबार, ०८ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार गगन थापाको राजीनामा फिर्ता हुनुपर्नेमा केन्द्रीय सदस्यहरू एकमत छन्।
  • ललितपुरमा भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै थापाले राजीनामा दिन नहुने धारणा राखियो।
  • पार्टीले चुनावमा हार बेहोरेपछि थापाले राजीनामा दिएका थिए, जसलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरिएको छ।

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता हुनुपर्ने पक्षमा केन्द्रीय सदस्यहरू शतप्रतिशत एकमत रहेको बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सहभागी नेताहरूले निर्वाचनको समीक्षा गर्दै सभापतिको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका हुन्। 

प्रवक्ता चालिसेका अनुसार हालसम्म बैठकमा धारणा राख्ने ४६ जना केन्द्रीय सदस्यहरू सबैले राजीनामा अस्वीकृत गरी थापाले नै नेतृत्व निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले ठुलो पराजय व्यहोरेपछि सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए। सोही राजीनामा र निर्वाचनको विस्तृत समीक्षालाई मुख्य एजेन्डा बनाएर कांग्रेसको बैठक सञ्चालन भइरहेको छ। 

बैठकमा राजीनामालाई अस्वीकृत गर्ने प्रस्ताव समेत पेस गरिएको छ, जसमा आधारित भएर अधिकांश सदस्यहरूले आफ्नो राय दिइरहेका छन्। हारको जिम्मेवारी नेतृत्वले मात्र नभई सिङ्गो संगठनले लिनुपर्ने र सङ्कटको घडीमा नेतृत्व परिवर्तन गर्दा पार्टी थप कमजोर हुने तर्क सदस्यहरूले गरेका छन्।

प्रवक्ता चालिसेले बैठकको मुख्य केन्द्रबिन्दु निर्वाचनको गम्भीर समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषय रहेको जानकारी दिए। हालसम्म बोलेका सबै ४६ जना साथीहरूले सभापतिको राजीनामा फिर्ता हुनुपर्ने र यसलाई कुनै पनि हालतमा स्वीकृत गर्न नहुनेमा एकमत जाहेर गरेको उनले बताए। निर्वाचनमा व्यहोरेको क्षतिलाई पूर्ति गर्न र पार्टीलाई पुनः एकजुट बनाएर लैजान थापाकै नेतृत्व आवश्यक रहेको सहभागीहरूको सामूहिक निष्कर्ष देखिएको छ।

अधिकांश नेताहरूले नेतृत्वको राजीनामा भन्दा पनि नीतिगत सुधार र संगठन सुदृढीकरणमा जोड दिनुपर्ने माग गरिरहेका छन्। जारी बैठकले राजीनामाका सम्बन्धमा छिट्टै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप