बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले नेताको घरमा मतदाता नामावली संकलन : आयोगमा तैँ चुप मैँ चुप

आइतबार, ०४ भदौ २०७४, १५ : १४
आइतबार, ०४ भदौ २०७४

काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठमा एमाले कार्यकर्ताको घरमा मध्यरातमा भएको मतदाता नामावली संकलनको विषय व्यवस्थापिका संसदमा समेत कुरा प्रवेश पाउँदा निर्वाचन आयोग भने मौन बसेको छ । यसबारे आज बसेको व्यवस्थापिका संसद बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता गगन थापाले निर्वाचनको पवित्रतामाथि, निर्वाचन आयोग र निर्वाचित जनप्रतिनिधीमाथि नै प्रश्न उठेको बताएका छन् । 

सोही क्षेत्रका निर्वाचित सांसद समेत रहेका थापाले मध्यरातमा एमाले कार्यकर्ताको घरमा फोटोसहितको मतदाता नामावली संकलन कार्यमा खटिने आयोगका कर्मचारी सहितलाई कारबाहीको माग समेत गरेका छन् । 

यसबारेमा निर्वाचन आयोगको प्रतिक्रिया लिन खोज्दा आयोगका पदाधिकारी तथा कर्मचारी पन्छिएका छन् । काठमाडौंको बुढानिलकण्ठमा मध्यरातमा मतदाता नामावली संकलन गरेको बिषयमा आयोग के गर्छ भन्ने बारे आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौंका प्रमुख चन्द्र गौतमलाई सम्पर्क गर्न भने । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गौतमलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

यस्तै आयोगका आयुक्त नरेन्द्र दाहाललाई सम्पर्क गर्दा उनले मध्यरातमा संकलन गरिएको कागजपत्र सबै जफत गरेर जिल्ला निर्वाचन कार्यालयमा लगिएको बताए । उनले पनि यसबारे आफूलाई जानकारी नभएको भन्दै क्षेत्रीय निर्वाचन अधिकृतलाई सम्पर्क राख्न भने । 

निर्वाचन आयोगले आगामी प्रदेशसभा र संसदीय निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि साउन १ देखि ३२ गतेसम्मको समय तोकेको थियो । राजनीतिक दलहरुको सुझाव पछि साउन १६ गतेदेखि काठमाडौंमा बसेका विभिन्न जिल्लाका मतदाताको फोटो सहितको मतदाता नामावली काठमाडौंमै संकलन गर्ने ब्यवस्था मिलाएको थियो । तर साउन ३२ गते नै मतदाता नामावली संकलनको काम सकिएपनि गएराती काठमाडौंको बुढानिलकण्ठस्थित मध्यरातमा एमाले नेताको घरमा मतदाता नामावली संकलन भएको थियो । बुढानिलकण्ठ नगरपालिकाका मेयर दीपक निरौलाको घरमा मध्यरातमा फोटो सहितको मतदाता नामावली संकलन गरिएपछि यसको बिरोध शूरु भएको हो ।     

थापाले संसदमा बोल्दै निर्वाचन आयोगका पदाधिकारीहरुले ‘आफूहरु यस घटनाबाट अचम्मित भएको तर आफूहरु केही गर्न नसक्ने’ भन्दै लाचारी प्रस्तुत गरेको आरोप लगाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप