बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

लुम्बिनी प्रदेशका जिल्लाहरूमा एमाले अधिवेशन : कुन जिल्लामा को–को छन् नेतृत्वका आकाङ्क्षी ?

बुधबार, १९ वैशाख २०८१, १२ : १७
बुधबार, १९ वैशाख २०८१

बुटवल । लुम्बिनी प्रदेशका १० वटा जिल्लामा एमाले अधिवेशनको तयारी भइरहेको छ । प्रदेशका १२ जिल्लामध्ये २ जिल्लामा अधिवेशन सकिएको छ । बाँकी १० जिल्लामध्ये धेरैजसोले केन्द्रीय तालिका अनुसार अधिवेशन मिति घोषणा गरेका छन् ।

अहिलेसम्म रोल्पा र रुकुम पूर्वमा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । रोल्पामा अमृत बुढा र रुकुम पूर्वमा लीला मणि गौतम जिल्ला अध्यक्ष बनेका छन् । बर्दियामा आज (बुधबार) अधिवेशन हुँदैछ ।

वैशाख २१ र २२ गते पश्चिम नवलपरासी, २६ र २७ गते कपिलवस्तुमा अधिवेशन हुँदैछ । बाँकेमा जेठ २ र ३ गते, पाल्पामा जेठ ११ र १२ गते, रुपन्देहीमा जेठ १६ र १७ गते अधिवेशन हुने कार्यसूची छ ।

अन्य जिल्लामा पनि अधिवेशनको गृहकार्य भइरहेको एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए । जेठभित्र अधिवेशन गरिसक्नुपर्ने केन्द्रको निर्देशनसँगै जिल्लाहरूसँग समन्वय गरेर मिति तोक्न आग्रह गरेको श्रेष्ठको भनाइ छ ।

कुन जिल्लामा को–को छन् नेतृत्वको आकाङ्क्षी ?

लुम्बिनी प्रदेशका बाँकी १० जिल्लामध्ये अधिकांशमा बहालवाला अध्यक्ष नै दोहोरिने दाउमा छन् । एमाले पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले धेरै जिल्ला अध्यक्ष दोहोरिने मनसायमा रहेको बताए । अधिवेशनको मिति घोषणासँगै कार्यकर्तामाझ अध्यक्षका आकाङ्क्षीहरू आफ्नो पक्षमा माहोल बनाउन व्यस्त हुँदैछन् ।

दाङको पार्टी नेतृत्वमा हुकुम बस्नेत, मनोहर बुढाथोकी र राममणि पाण्डे आकाङ्क्षी देखिएको कार्यकर्ताहरू बताउँछन् । बस्नेत हालका अध्यक्ष हुन् भने बुढाथोकी उपाध्यक्ष र पाण्डे सचिव हुन् । पश्चिम नवलपरासीमा हालका अध्यक्ष दीपेन्द्र अधिकारी पुनः दोहोरिने तयारीमा छन् । जिल्ला उपाध्यक्ष डोलराज भण्डारी र सचिव धिरज शर्मा पनि अध्यक्षका आकाङ्क्षी छन् । अधिकारीले सकभर सर्वसम्मत रूपमा जाने मनसाय राखेका छन् ।

कपिलवस्तुमा बहालवाला अध्यक्ष डम्बर शर्मा दोहोरिने तयारीमा छन् । यहाँ बाबुराम खनाल र उपाध्यक्ष विश्राम चौधरी पनि अध्यक्षका दाबेदार गरेको कार्यकर्ताहरू बताउँछन् ।पाल्पामा धनेन्द्रराज घिमिरे अध्यक्ष छन् । यहाँ उनीसँगै सचिव रामजी पोखरेल र पूर्व सचिव ओमबहादुर घर्तीले नेतृत्वमा आकाङ्क्षा राखेका छन् ।

प्युठानमा अहिलेका अध्यक्ष विजय विराट विष्ट दोहोरिने तयारीमा छन् । अर्घाखाँचीमा अधिवेशनको मिति नतोकिए पनि अध्यक्षमा पीताम्बर भुसाल दोहोरिने तयारीमा छन् । गुल्मीमा पनि अधिवेशनको मिति तोकिएको छैन तर यहाँ अहिलेका अध्यक्ष बालसिंह काउछा र पहिले प्रदेश कमिटी सदस्य हिरा एसी प्रतिस्पर्धाका लागि तयारीमा जुटेको कार्यकर्ताहरू बत्ताउँछन् ।

रुपन्देहीमा वर्तमान अध्यक्ष तेजेन्द्र केसीले दोहोरिने तयारी गरेका छन् । तर सचिव यज्ञ गैरे र उपसचिव चित्रबहादुर केसी पनि बलियो दाबेदार छन् । केसीले आफू अध्यक्षमा दोहोरिन चाहेको बताए । सैनामैनाका पूर्व मेयरसमेत रहेका चित्रबहादुर केसी पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेको बताइन्छ ।

बाँके जिल्लामा ४ जना आकाङ्क्षी देखिएका छन् । अहिलेका अध्यक्ष किस्मत कक्षपतिसहित निरक गुरुङ, प्रदेश सदस्य घननाथ खनाल र केन्द्रीय लेखा आयोग सदस्य विजया धिताललाई मुख्य दाबेदारका रुपमा हेरिएको छ ।

लुम्बिनी प्रदेशको अधिवेशनमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पक्षबिच प्रतिस्पर्धा भएको थियो । जिल्ला अधिवेशनमा पनि यिनै दुई नेताका गुटबिच प्रतिस्पर्धा हुने देखिएको छ । यस अतिरिक्त लुम्बिनी प्रदेशबाट केन्द्रमा पुगेका नेताहरू उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्माले पनि विभिन्न जिल्ला अधिवेशनमा आफू अनुकूल नेतृत्वका लागि चासो राखेका छन् ।

प्रदेशका धेरैजसो जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रमुख अतिथि बनाइएको छ । कपिलवस्तुमा ओलीसँग समय मागेर अधिवेशन मिति हेरफेर गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप