बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
कर्णाली अस्पताल मृत्यु प्रकरण

२० दिनसम्म भीमाको शव अस्पतालमै

घटना अदालत पुग्यो, पीडित परिवारलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन आदेश
बुधबार, १९ वैशाख २०८१, १४ : १७
बुधबार, १९ वैशाख २०८१

सुर्खेत । गत चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको शव अझै अस्पतालमा छ ।  पीडित परिवारले डाक्टरहरूकै लापरबाहीले भीमाको मृत्यु भएको र अस्पतालले पीडितको गुनासो सुनुवाइ नगरेको भन्दै शव नबुझेका हुन् । उक्त विषय यतिबेला अदालतसम्म पुगेको छ ।

घटनामा संलग्न चिकित्सकमाथि छानबिनसहित कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्तिको माग गर्दै अदालत पुगेका छन् । अधिवक्ता शेरबहादुर खत्रीको रोहबरका उनीहरू अदालत पुगेका हुन् । भीमाका जेठाजु नाता पर्ने धनबहादुर मगरले कर्णाली प्रदेश अस्पताल र अस्पतालका निर्देशक डम्बर खड्का र उपचारमा संलग्न चिकित्सकविरुद्ध वैशाख १७ गते अन्तरकालीन माग गर्दै जिल्ला अदालत सुर्खेतमा रिट दायर गराएका थिए ।

मङ्गलवार उक्त निवेदनमा सुनुवाइ गर्दै घटनाको गाम्भिर्यता र संवेदनशीलता समेतलाई ध्यान दिँदै दुवै पक्षलाई वैशाख २१ गते छलफलका लागि झिकाउन आदेश दिएको छ । साथै मृतकका आफन्त, परिवार, सहयोगी समेतलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय सुर्खेत र सुरक्षा निकायलाई आदेश दिइएको छ । पीडित परिवारको तर्फबाट अधिवक्ता शेरबहादुर खत्रीले बहस गरेका थिए ।

भीमाको ७ महिने दुधे छोरी छिन् । सामान्य पेट दुखाई सम्बन्धी समस्या भई हिँडेर अस्पताल पुगेकी उनको डाक्टरहरूको लापरबाहीकै कारण मृत्यु भएको पीडित परिवारको गुनासो छ । 

भीमाको शल्यक्रिया गर्नुभन्दा अगाडि डाक्टरहरूको टिमले यो केश सामान्य भएकाले चिन्ता नगर्नु भनेर भनेका थिए । एक्कासि मृत घोषणा गरिएकाले लापरबाहीकै कारण मृत्यु भएको निष्कर्ष परिवारको छ । यो विषयमा अस्पताल प्रशासन, जिल्ला प्रशासन र प्रदेश सरकारबिच पटक–पटक वार्ता हुँदा पनि निष्कर्षमा पुगेन । त्यसपछि परिवारले अदालतको ढोका ढकढक्याउन बाध्य भएको हो । 

के भनिएको छ रिटमा ? 

उपचारका क्रममा भएको त्रुटि, हेलचक्र्याइँ र लापरबाहीका कारण मृत्यु भएकाले क्षतिपूर्ति दिलाई भराई पाऊँ भनेर रिटमा माग गरिएको छ ।  नाबालक छोरीको लालन पालन, रेखदेख संरक्षणका साथै उचित क्षतिपूर्तिका लागि अदालतबाट नै पीडित परिवारलाई दिलाई भराई पाऊँ भनी माग दाबी गरिएको हो ।

साथै स्वास्थ्य परीक्षण प्रतिवेदन लगायतका यावत् प्रमाणहरू नष्ट गर्न सक्ने भएको हुँदा मृतकको स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाई पाऊँ भनेर पनि भनिएको छ । यस्तै बिरामीको शल्यक्रिया गर्दाको चिकित्सकहरूको समूहको बारेमा जानकारी दिन प्रदेश अस्पताललाई आदेश गरि पाउनाका साथै प्रशासन र मानवअधिकार आयोगको प्रत्यक्ष निगरानीमा अर्को अस्पतालबाट शव पोस्टमार्टम गराउन आदेश पाऊँ भनेर माग गरिएको हो । 

भीमाको उपचारमा प्रदेश अस्पतालका चिकित्सक डा.ललितजंग शाही सक्रिय थिए । भीमाको शल्यक्रिया गर्नुअघि डा. शाही समेतको चिकित्सकको समूहले यो केश सामान्य भएको बताएको कुरा रिटमा उल्लेख छ । 

ades

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप