बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

किसानको गोठमा पनि कोरोनाभाइरसको पीडा : कतै दुध सडकमा पोख्दै, कतै निःशुल्क वितरण

बुधबार, १९ चैत २०७६, १७ : ५३
बुधबार, १९ चैत २०७६

बुटवल । विश्वमै महामारीको रुप धारण गरेको कोरोनाभाइरस (कोभिड १९) बाट नेपाल पनि अछुतो रहन सकेको छैन । सरकारले उक्त भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै ‘लकडाउन’ घोषणा गरेको छ । 

‘लकडाउन’ का कारण हाम्रो दैनिक जीवन घरभित्र सीमित भएकोमात्र होइन, किसानको गोठमा समेत यसको असर देखा पर्न थालेको छ । पशुपालक किसानले व्यावसायिक रुपमा पालन गरेका पशुका लागि दाना खरिद गर्न पाएका छैनन् भने कयौँले दुध बिक्री गर्न पाएका छैनन् ।

कपिलवस्तुमा किसानले उत्पादन गरेको दुध संकलन गरेर बिक्री गर्दै आएको एक संस्थाले दुध नबिकेपछि खेतबारीमा फालेको छ । नवलपरासीको दलदलेमा पनि दुध बिक्री गर्न नपाएपछि किसानले सडकमा पोखेका छन् । रुपन्देहीको सालझन्डी र तिलोत्तमामा निःशुल्क दुध वितरण गरिएको छ । 

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि मुलुक लकडाउन भएपछि दुधको व्यापार प्रायः ठप्प छ । दुध खपत हुने होटल, कफी सप, मिष्ठान्न भण्डार बन्द छन्, जसको मारमा दुध बेच्चे किसान परेका हुन् ।
अधिकांश डेरी पसल पनि बन्द छन् । यसले गर्दा किसानले उत्पादन गरेको दुध अहिले खेर जान थालेको हो । परिणामस्वरुप किसानहरु कतै दुध पोखेर आक्रोस मेट्ने गरेका छन् भने कतै निःशुल्क वितरण गर्न थालेका हुन् ।

रुपन्देहीको मणिग्राममा रहेको लुम्बिनी एग्रो रिचर्स सेन्टरका शशी पौड्याल नेपाल कै नमूना गाई फर्म संचालन गरेर उदाहरणीय बनेका व्यक्ति हुन् । उनले दैनिक २ हजार लिटर दुध उत्पादन गर्दै आएकोमा अहिले गाईलाई खुवाउनका लागि दाना अभाव भएको बताए । स्टक रहेको दानाबाट थोरैथोरै खुवाउने गरेको र पराल कै भरमा बस्नु परेकाले गाईले थोरै दुध दिन थालेको उनले बताए ।
पौड्यालले रातोपाटीसँग भने, ‘स्टक दाना सकियो अब पराल चाहीँ अझै केही समयलाई  होला ।’ दाना र पराल सकिन थालेसँगै थोरै भए पनि उत्पादित दुधको बजार नहुँदा अर्को समस्या थपिएको उनी बताउँछन् ।

दुग्ध सहकारीमा डामाडोल
लकडाउनपछि दुध बिक्री नभएको भन्दै कपिलबस्तुको वाणगंगा नगरपालिका–४ मा रहेको टुईन्स डेरी उद्योगले २ दिनमा गरि १६ हजार लिटर दुध पोखेको छ । प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत ट्याङ्कर किन्न ५० प्रतिशत अनुदान पाएर किसानबाट ठूलो परिमाणमा दुध संकलन गर्दै आएको सो डेरीले बुटवलको सूजल डेरीका लागि दुध दिदैँ आएको थियो ।

सुजलले नलिएपछि दुग्ध विकास संस्थानको बुटवल संकलन तथा वितरण केन्द्रमा पुराएपनि दुध विक्री नभएपछि पोख्नु परेको संचालक इन्दीरा पौडेलले वताईने । यस्तै नवलपरासीको दलदलमा रहेको दल्दले दुग्ध विकास सहकारी संस्थाले किसानबाट किनेको दुध मंगलबार पोखेको थियो । दुध लिन काठमाडौंका ठूला डेरी उद्योग नआएपछि पोख्नुपरेको संस्थाले जनाएको छ ।  

अरू बेला उक्त सहकारीबाट काठमाडौंको हिमालयन डेरी, दुग्ध विकास संस्थान र पोखराको फिस्टेल डेरीले दुध किनेर लाने गरेका थिए । लकडाउनपछि दुध बिक्री नभएको भन्दै हाल कसैले पनि दुध लिन आएका छैनन् । कपिलवस्तुको वाणगंगामा मात्रै ३ वटा यस्तै दुग्ध संकलन र बिक्री गर्ने डेरी उद्योग छन् । जिल्लाभरवाट  दैनिक १६ देखि २० हजार लिटर दुध रुपन्देही निकासी हुने गरेको  छ । 
नवलपरासीको संस्थाका उपाध्यक्ष विष्णु पौडेलले किसानसँग खरिद भइसकेको जानकारी गराउँदा समेत कोही लिन नआएको बताए । उनले यस्तो अवस्था दुध पोख्नुको विकल्प नभएको बताए । यसरी दुध पोख्दा सहकारीले नोक्सान पनि व्यहोर्नु परेको छ । किसानसँग खरिद गरेर ल्याएको दुध पोख्दा सहकारीहरुले दैनिक नोक्सान भोग्नु परेको छ । 

दुई बर्ष पहिले पनि किसानहरुले दुधको उचित मूल्य नपाएको भन्दै चितवनको सडकमा दुध पोखेका थिए । दूग्ध विकास संस्थान र निजी डेरीले दुधको मूल्य घटाएको आरोप लगाउँदै उनीहरूले चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा २०० लिटर दुध पोखेर विरोध प्रदर्शन गरेका थिए ।

कतै निःशुल्क वितरण
कपिलबस्तु र नवलपरासीमा सडकमा दुध पोखेर किसानले आफ्नो पीडा प्रकट गरे पनि रुपन्देहीको सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाले जम्मा भएको दुध गाउँ गाउँमा पुगेर विपन्न परिवारमा निशुल्क वितरण गरेको छ ।

यस सहकारीमा दैनिक रुपमा १५ सय किसानबाट ५ हजार लिटर दुध जम्मा हुँदै आएको छ । दैनिक दुध बिक्री गर्न लगे पनि बजारमा पहिलेभन्दा आधा मात्र दुधको माग रहेको संस्थाका अध्यक्ष तिलकराम घिमिरेले बताए । 

‘किसानबाट दुध नलिने हो भने उनीहरु मर्कामा पर्छन् त्यसैले किसानबाट दुध लिएर बिपन्न परिवारलाई निःशुल्क रुपमा वितरण गरिएको हो,’ घिमिरेले भने । निःशुल्क दुध पाउँदा गरिब जनता भने खुशी भएका छन् ।
रुपन्देहीको तिलोत्तमामा पनि एक समुहले निःशुल्क रुपमा दुध वितरण गरेको छ ।

दुधको विविधिकरणतर्फ ध्यान जाँदै 
ठुलो लगानी, दक्ष जनशक्ति र उपकरण प्रयोग गरेर दुधबाट खुवा, पनिर, घिउ बनाउने गरिएको शशी पौड्यालले बताए । यसबाट दुध बजार नगए पनि लगानी उठ्न सक्ने उनको भनाइ छ । खुवा र पनिर एक हप्तासम्म बजार पठाउनुपर्छ । तर घिउ चाहीँ लामो समय राख्न पनि सकिन्छ ।

दुधलाई बजार पठाउन नसकेको पीडामा सडकमा पोख्नुभन्दा विविधिकरणतर्फ लैजानुपर्ने नेपाल डेरी एसोशिएसनका प्रदेश ५ का अध्यक्ष कृष्ण भट्टराई बताउँछन् । उनले विविधिकरणका लागि राज्यले सहयोग गर्नुपर्ने र व्यवसायीहरु पनि त्यो अनुसार तयार हुनुपर्ने बताए ।

प्रदेश कृषि मन्त्रालयले किसानलाई उपकरण प्रदान गर्ने, तालिमको व्यवस्था गर्ने प्रदेश ५ कृषि मन्त्रालयअन्तर्गत पशुपन्छी महाशाखा प्रमुख तुल्सीराम भण्डारीले बताए ।
भण्डारीका अनुसार प्रदेशमा दैनिक ९ लाख लिटर दुध उत्पादान हुने गरेको छ । जसमध्ये २ लाख लिटर दुध बजारमा जाने हो । डिडिसीले ४५ हजार लिटर दुध लैजाने गरेको थियो । हाल लकडाउनको बेला डिडिसीले कोटा घटाएर यहाँबाट जम्मा २० हजार लिटरमात्रै लैजाने गरेको थियो । 

कृषि मन्त्री आरती पौड्यालका अनुसार किसानका समस्याहरु समाधान गर्न कृषि उपज माछा, मासु, दुध बिक्रीवितरणमा विशेष पहल सुरु गरिएको छ । प्रदेशका १२ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सहजताका लागि आग्रह गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप