शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आपूर्ति राज्यमन्त्री विकको एक्सन, जुत्ता पसलमा सिलबन्दी

बुधबार, ०४ असोज २०७४, २१ : २३
बुधबार, ०४ असोज २०७४

धनगढी – आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको नेतृत्वको अनुगमन टोलीले आज यहाँका दुई वटा पसलमा सिलबन्दी गरेको छ ।  बजार अनुगमनका क्रममा ‘ब्ल्याक हर्स’ कम्पनीको रु ५ सय ५० मा खरिद गरी ल्याएको जुत्ता रु दुई हजार २ सय ७५ मा बिक्री गरेको पाइएपछि स्थानीय बजारको न्यु अनमोल सुज सेन्टरमा सिलबन्दी गरिएको हो । 

यस्तै, पसलसम्बन्धी कागजात उपलब्ध नगराएपछि पंकज स्टोरमा पनि सिलबन्दी गर्नुपरेको टोलीमा सहभागी अनुगमन शाखाका अधिकृत गोविन्दप्रसाद लुइँटेलले जानकारी दिए ।  टोलीले आज स्थानीय बजारका १८ पसलमा अनुगमन गरेको हो । 

यसअघि मंगलबार सो टोलीले कैलालीको गेटास्थित राजश्री फुड इण्डस्ट्रिज र आरपी एग्रो इण्डस्ट्रिज प्रालिसमेत चार वटा उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा आरपी फुड इण्डस्ट्रिजमा फेला परेको खान नहुने करिब रु ५० हजार मूल्य बराबरका बिस्कुटजन्य पदार्थ नष्ट गरिएको छ । 

यस्तै, राज श्री फुडले उत्पादन गर्ने मैदाको उपभोग्य मिति, उत्पादन भएको धेरै समयपछि राखेर बजारमा पठाउने गरेको, भारतबाट उपभोग्य मिति सकिएको चामल आयात गरी त्यसलाई पुनः ‘रिफाइनिङ र ग्रेडिङ’ गरेर बेच्ने गरेको र कामदारलाई निकै कम पारिश्रमिक दिई काममा लगाएर श्रम शोषण गरेको पाइएको लुइँटेलले बताए ।

राजश्री फुड इण्डस्ट्रिजमा डल्ला परेको चामल फेला परेपछि त्यसको नमूना जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ । अनुगमन टोलीमा यहाँका विषयगत कार्यालयको प्रतिनिधिको समेत सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप