केन्द्रीय संस्करण

महिलाले जङ्कफुड नखाएकै राम्रो : डा. अरुणा उप्रेतीको सुझाव

person access_timeअसार २८, २०७५ chat_bubble_outline0

बरिष्ठ जनस्वास्थ्य चिकित्सक अरुणा उप्रेतीनेपाली स्वास्थ्य क्षेत्रमा निकै चलेको नाम हो । ६० वर्षकी उप्रेती स्वास्थ्य क्षेत्रमा लागेको ३२ वर्षभन्दा धेरै भयो । स्वास्थ जीवनका लागि अहिलेसम्ममा उनले पोषणका बारेमा धेरैलाई सचेत गराइसकेकी छिन् । पोषणसम्बन्धी जनचेतनाका लागि नेपाली धेरै ठाउँमा पुगिन् भने कतिपय विद्यालयमा अहिले पनि धाइरहेकी छिन् । नेपालीको स्वास्थ्यमा दैनिक समस्या बढ्दै गइरहेको छ । उनी बाटोमा हिँड्दा कसैले अस्वस्थकर खाना खाएको देख्दा सचेत गराउन पनि पछि पर्दिनन् ।  सचेतनाका लागि सुझाव दिँदा धेरैले पागल पनि भन्ने गरेको उनले सुनाइन् । 

तर नेपालीहरू जबसम्म पोषणका बारेमा सचेत भइसक्दैनन् तबसम्म उनको यो यात्रा चलिरहने बताउँछिन् ।  परिवर्तित समयसँगै आम नेपालीको दैनिक खानामा पनि निकै परिवर्तन भइरहेको छ । मोटोपन, मधुमेह, प्रजनन् जस्तो स्वास्थ्यमा समेत हामीले खने खानाको महत्वपूर्ण भूमिका हुन्छ । स्वास्थ रहन कस्तो खानाले फाइदा गर्छ र कस्ते खानाले बेफाइदा गर्छ भन्ने बारेमा बरिष्ठ जनस्वास्थ्य चिकित्सक डाक्टर अरुणा भन्छिन् :

फलामको भाँडामा खाना पकाउँदा रक्तअल्पता कम हुन्छ 
हाम्रो गाउँघरमा पहिले पहिले फलामको भाँडामा पकाएर खाने चलन थियो । फलाम तत्व पेटमा सोसिन्थ्यो र महिलामा रगतको कमी हुने समस्या खासै हँुदैन थियो । यो हाम्रो संस्कारगत अभ्यास थियो । त्यो खाना महिलाहरूको स्वास्थ्यमा निकै फाइदाजनक मानिन्छ । 

तर अहिले आएर फलामका भाँडामा खाना पकाउने प्रचलन हट्दै गएको छ । पछिल्लो समय खाना पकाउनका लागि आधुनिक भाँडाहरू बजारमा आएका छन्, जसले हाम्रा खाना पकाउने परम्परागत भाँडाहरू हराइसकेका छन् । अहिले बढी मात्रामा प्रेसर कुकरको प्रयोग हुनेगरेको छ ।

 

अफ्रिकी महादेशमा गरिएको एक अध्ययनले जसको घरमा फलामका भाँडामा खानेकुरा पकाइन्छ, त्यस घरका  महिलालाई रक्तअल्पता कम भएको देखाएको छ । अहिले नेपालमा पनि यो विषयमा काम गर्ने भनेर मान्छेहरू आइरहेका छन् । तर हामीकहाँ पहिलेदेखि नै फलामको भाँडामा खाना पकाउने चलन थियो । 
हामीसँग जे कुरा थियो, त्यही कुरा हामीले गुमाइरहेका छौँ । त्यही कुरा बाहिरबाट अनुसन्धान गरेर फेरि फलामको भाँडामा खानेकुरा पकाऊ भनेर हामीलाई सिकाउने अवस्था आएको छ । 

५, १० वर्षमा ५० प्रतिशत मोटोपनको सिकार
पोषणका बारेमा कुरा गर्ने हो भने नेपालीहरूको खानेकुरा एकदमै राम्रो छ । भात, दाल, तरकारी, अचार, दही, दूध, कोदो, फापर, गहुँ, धान, मकैबाट शरीरलाई चाहिने कार्बाेहाइड्रेड र प्रोटिन पाइन्छ । तर समस्या के छ भने एकातिर कुपोषण त छँदै छ, अर्कातिर हाम्रा स्थानीय खानेकुरालाई प्रयोग नगर्दा मानिसहरू मोटोपनको सिकार भएका छन् । स्वास्थ्यसम्बन्धी पछिल्लो अध्ययनले २३ प्रतिशत पुरुष र १७ प्रतिशत महिलाहरू मोटोपनको सिकार भएको पाइएको छ । 

पहिले पहिलेका मान्छेहरू प्रशस्त काम गर्थे । दिनमा कम्तीमा पनि २, ३ घण्टा हिँड्थे । तर अहिले हामी तरकारी किन्न, जिरा, धनियाँ किन्न पनि मोटरसाइकलमा जान्छौँ । 
बालबालिकालाई पनि नजिकै विद्यालय भए पनि गाडीमा, मोटरसाइकलमा राखेर लान्छौँ । बालबालिकालाई दिने खाजाहरूमा पनि परम्परागत खाजा पाइन्न । आमा बुबालाई जस्तो सजिलो लाग्छ, त्यस्तै खाजा दिने चलन छ । हामीले विद्यालयमा गरेको पछिल्लो रिसर्चमा धेरै बालबालिकालाई खाजाका लागि ५० देखि सय रुपियाँसम्म पैसा दिएर पठाउने गरेको पाइयो । विद्यार्थीलाई कसले के खाजा खान्छन् भन्ने प्रश्नमा ९० प्रतिशतले चाउचाउ खाएका पाइयो । एकातिर बालबालिका कुपोषणको सिकार भइरहेका छन् भने चाउचाउ, कुरमुरे, चिप्स जस्ता खानेकुरा खाँदा मोटोपनको सिकार पनि भइरहेको पाइयो । 

गाउँघरमा मकै, भटमास, चना, चिउरा खाने बानी बिस्तारै हट्दै छ । आमा, बुबाको मानसिकता कस्तो भएको छ भने चाउचाउ चाहिँ खाजा हो, हाम्रा परम्परागत स्थानीय खाजा केही पनि होइन भन्ने छ । यस्तै हुँदै जाने हो भने अबको ५, १० वर्षमै ५० प्रतिशत मोटोपनको सिकार बन्नुपर्ने अवस्था हुन्छ । बालबालिकामा मोटोपन भयो भने घटाउन गाह्रो हुन्छ । त्यसपछि बालबालिकामा अनि ठूलो भएपछि चिनी रोग र रक्तचापको समस्या हुन्छ । वयस्कमै मधुमेह, मोटोपनको समस्या देखिन्छ भने ३०, ४० वर्षको उमेरमा घँुडा दुख्ने, कम्मर दुख्नेलगायतका धेरै समस्या देखिन्छन् । पोषणले गर्दा हाम्रो जीवनमा ठूलो समस्या ल्याउँछ भन्ने बारेमा कतिलाई त थाहा छैन तर कतिलाई थाहा भएर पनि वास्ता गर्दैनन् । 
अमेरिकाको एउटा दुखद उदाहरण के हो भने त्यहाँका २५ प्रतिशत बालबालिका मोटोपनका सिकार भएका छन् । त्यसको मुख्य कारण खाजा हो । उनीहरूको खाजामा पिज्जा, केक, बर्गरको प्रयोग हुन्छ । घरमा पनि त्यही हुन्छ । हामी त्यहाँ त्यस्तो छ भन्छाँै तर विस्तार बिस्तारै नेपालमा पनि यो समस्या देखिन थालेको छ ।
 
चिनीको मात्रा बढ्दै गयो 
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक व्यक्तिले एक दिनमा ५ चिया चम्चा मात्र चिनी खानु भनेको छ तर हामी दिनमा ५ पटक चिया खान्छौँ अनि एक कपमा ५ चम्चा जति लगाउँछौँ भने  २५ चम्चा चिनी एक दिनमै खाइन्छ । पहिला बोकेर लानुपर्ने चलन थियो थोरै खाइन्थ्यो तर अहिले सडकको समस्या छैन, सजिलै पाउने अनि धेरै खाने भयौँ । 
बालबालिकाले २ चम्चा मात्रै खानुपर्छ । चिनीका कारणले मोटोपनको समस्या हुन्छ । शरीरमा क्याल्सियमको कमी हुने जसले गर्दा हाम्रो हड्डीहरू खिइन्छ ।  
त्यसैले पोषणका बारेमा बच्चादेखि नै जानकारी गराउनका लागि गर्भवती महिलालाई गर्भ जाँच गराउन आउँदानै पोषणका बारेमा जानकारी दिनसक्दा राम्रो हुन्छ । 


 

चाउचाउले पार्ने असर 
चाउचाउ स्वास्थ्यका लागि हानिकार हुन्छ । तर युवतीहरूको हातमा खाजाको रूपमा बढी मात्रामा यही नै हुन्छ । चाउचाउ खानाले स्वास्थ्यमा अन्य समस्या त छँदै छ, महिलाको स्वास्थ्यमा झनै बढी समस्या देखिन्छ । किशोरीहरूको प्रजनन् स्वास्थ्यमा एकदमै नराम्रो प्रभाव पार्छ । किशोरीको पाठेघरमा बस्ने अण्डा फुकेरोग अर्थात ओवारिएन सिक्स एकदमै धेरै देखिएको स्त्री रोग विशेषज्ञहरूले बताउँदै आएका छन् । यसको मुख्य कारण खाना र जीवनशैली पनि एक हो ।  

ओवारिएन सिक्स विवाह भएको ५, ६ वर्षसम्म सन्तान नभएपछि महिलाहरू अस्पताल जान्छन् अनि यसको बारेमा जानकारी हुन्छ । यो ढिलो भयो भने निको हुन गाह्रो हुन्छ १५ देखि १९ वर्षसम्म थाहा पाएको खण्डमा ५ देखि ६ वर्षसम्ममा सुधार हुन्छ । डाइबिटिज हुने सम्भावना पनि धेरै हुन्छ । महिलाका सन्दर्भमा कुरा गर्ने हो भने मोटो भएपछि प्रजनन् स्वास्थ्यमा यसै पनि समस्या हुन्छ । ४९, ५० वर्षमा महिनावारी रोकिसकेपछि पनि महिलामा विभिन्न खालका समस्या देखिन्छन् । किशोरीहरूको प्रजनन् स्वास्थ्यमा असर पर्छ नै त्यसपछि पनि विभिन्न नकारात्कम असर पर्छ । यस्तै फ्रुटीमा ८० प्रतिशत चिनीको झोल हुन्छ । यो पनि स्वास्थ्यका लागि बेफाइदा हुन्छ ।  
हाम्रो क्यालेन्डरमा पनि विभिन्न जातजातिको चाडपर्व परिरहेको हुन्छ । फरक, फरक स्थानीय परिकार खाने चलन छ । त्यो स्वास्थ्यका लागि निकै फाइदा हुन्छ ।

आइरन चक्कीसँगै स्थानीय खाने कुरा खानुस्
 नेपाल सरकारको डीएचएसको रिपोर्टअनुसार ९१ प्रतिशत महिलाले आइरन चक्की खानेगरेको देखाइएको छ । तर ९१ प्रतिशत महिलाले आइरन चक्की खाँदा सन् २००६ मा १५ देखि ४९ वर्षका महिलामध्ये ३६ प्रतिशत रगतको कमी भएको थियो भने सन् २०१६ मा बढेर ४१ प्रतिशत भयो । घट्नुपर्ने ठाउँमा झन् धेरै देखियो । यसले के देखाउँछ भने कि आइरन चक्की महिलाले खाँदैनन् कि प्रोटिन खानेकुराको बारेमा पनि जानकारी गराइएन । 

हाम्रो नीतिगत रूपमा केही न केही खराबी भएको हुनै पर्छ । महिलाहरूमा हुने रक्त अल्पताका बारेमा किन कुरा गरेको भने रक्तअल्पता भयो भने गर्भमा रहेको बच्चा सानो हुन्छ । दोस्रो, सुत्केरी अवस्थामा रगत कम बगे पनि मृत्यु हुने सम्भावना बढी हुन्छ ।  

हाम्रो खानपानमा समस्या छ, गर्भवती महिलालाई दिने औषधिमा समस्या छ । गर्भवती महिलालाई आइरन ट्याब्लेट खाऊँ भनेर दिन्छन् तर त्यो ट्याब्लेटले मात्रै रगतको कमी गर्दैन । आइरन ट्याबलेट खाँदा एउटा आइरन मात्रै पाइन्छ भने स्थानीय विभिन्न प्रकारको खाना खाँदा सबै प्रकारको प्रोटिन पाइन्छ । तर यो कुरा कहीँ पनि भनिँदैन । नेपाल सरकारको कृषि मन्त्रालयले कुन खानेकुरामा कुन पोषण तत्व पाइन्छ भन्ने कुराको लिस्ट नै बनाएको छ । तर त्यो स्वास्थ्य मन्त्रालयसम्म पुगेको हुँदैन ।


 

अञ्जु तामाङ

अञ्जु तामाङ रातोपाटीकी संवाददाता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ