शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिमस्टेक सम्मेलनको तयारीः काठमाडौंको सडक मर्मत तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

बुधबार, ३० साउन २०७५, १९ : ३६
बुधबार, ३० साउन २०७५

काठमाडौं– सरकारले आसन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) चौंथो शिखर सम्मेलनको तयारीको कामलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको मूल तयारी समितिको बैठकले विमस्टेक शिखर सम्मेलनको नारा, घोषणा पत्र तयारीलगायतको कामलाई अन्तिम रुप दिएको हो । 

सदस्य राष्ट्रहरुबीच लगानी र व्यापार प्रवद्र्धन हुने गरी संगठनलाई प्रभावकारी बनाउने गरी सम्मेलनको तयारीको कामलाई अन्तिम रुप दिइएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवम् विमस्टेक शिखर सम्मेलन मूल तयारी समितिका अध्यक्ष ओलीले सम्मेलनलाई ध्यानमा राखेर काठमाडौंको सडकको मर्मत/सम्हारको कामलाई तीव्रता दिन पनि मातहतका निकायलाई सचेत गराएका थिए ।

सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुखहरु आउने भएकाले सडकको उचित व्यवस्थापन गर्न ढिलाई नगर्न प्रधानमन्त्री ओलीले मातहतका निकायलाई निर्देशन पनि दिनु भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

आसन्न भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेकको चौंथो शिखर सम्मेलन हुँदैछ । सरकारले सोही सम्मेलनको तयारीको कामलाई तीव्रता दिन मूल तयारी समिति र त्यस अन्तरगतका विभिन्न उपसमितिहरु बनाएको छ । सम्मेलनलाई प्रभावकारी बनाउन नेपालको महत्वपूर्ण योगदान दिने गरी तयारीको कामलाई अघि बढाइएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप