बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोलियो रोगसम्बन्धी जान्नै पर्ने तथ्यहरु, यो रोग लागे सम्भव छैन उपचार

शनिबार, ०६ असोज २०७५, १० : ५९
शनिबार, ०६ असोज २०७५

काठमाडौं–पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै मूत्यु समेत हुनसक्छ । 
 

पोलियो रोगका लक्षणहरु  ?
ज्वरो आउने, रुघा–खोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने र हात–खुट्टा दुख्ने जस्ता लक्षण तथा चिन्हहरु देखा पर्दछ । केही बालबालिकामा यसले अतिशीघ्र लुलो पक्षघात गराई अपाङ्ग पनि गराउँछ भने बालबालिकाको मूत्यु समेत हुनसक्छ । 

पोलियो रोगको भाइरस निकै संक्रामक हुन्छ । रोगीको घाँटी तथा आन्द्रामा यो भाइरस रहन्छ । पोलियो रोगीको दिसाबाट यी भाइरसहरु बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् । पोलियोको भाइरस दुषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्छ र दिसाबाट बाहिर निस्केर अरुमा सर्छ । 

जोखिममा पर्ने व्यक्तिहरु 
जन्मेदेखि एक पटक पनि पोलियो खोप नलिएका वा पोलियो खोप पुरामात्रा नलिएका बालबालिका यस रोगका उच्च जोखिममा हुन्छन् । 

समुदायमा एकजना बच्चालाई पनि पोलियो रोग भएमा अरु बालबालिकालाई सर्ने सम्भावना हुन्छ । खोप कार्यक्रम संचालन भएतापनि खोेप सेवा राम्ररी उपभोग नभएका ठाँउका बालबालिका पनि यस रोगका जोखिममा पर्न सक्छन् । 

पोलियो रोगको उपचार 
पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन । पोलियो रोगको संक्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय भनेको खोप तालिका अनुसार पोलियो रोग बिरुद्ध खोप दिनु नै पर्ने हो । 

पोलियो रोगको बिरुद्ध उपलब्ध खोपहरु 
नेपालमा पोलियो रोग बिरुद्ध दुई किसिमका खोपहरु  उपलब्ध छन् । 
 

(१) ओ.पि.भि
 यो मुखबाट खुवाइने पोलियो रोग विरुद्धको खोप हो । नियमित खोप कार्यक्रम मार्फत पोलियो थोपा बच्चा जन्मेको ६,१० र १४ हप्तामा जम्मा ३ पटक दिनुपर्छ । यसको अतिरिक्त ५ वर्ष मुनिको बालबालिकालाई हरेक पोलियो खोप अभियानमा पनि पोलियोको दुई थोपा खुवाउनुपर्छ । 
 

(२) एफ.आई.पि.भी 
एफ.आई.पि.भी खोप ६ र १४ हप्ताको उमेरमा सुईको माध्यमबाट दिइने खोप हो यो खोप मुखबाट खुवाउने पोलियो खोपको अतिरिक्त दुई पटक दिनुपर्छ । एफ.आई.पि.भी ले पोलियो रोग विरुद्ध लड्न थप प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । 

यसकारण खुवाउनु पर्छ एफ.आई.पि.भी संग पोलियो थोपा 
बालबालिकामा एफ.आई.पि.भी खोप सँगै पोलियो थोपा पनि दिनुपर्दछ । पोलियो थोपासँगै दिईने एफ.आई.पि.भी खोपले बालबालिकामा पोलियो रोग विरुद्ध लड्ने थप प्रतिरोधात्मक शक्ति वृद्धि भई यो रोगको भाइरस विरुद्ध लड्न थप शक्ति प्रदान गर्दछ ।

एकै पटक धेरै खोप लगाउँदा के हुन्छ ?
बालबालिकालाई एकै पटक तीन वा सो भन्दा धेरै खोप लगाउनु सुरक्षित मानिन्छ । बालबालिकालाई रोगहरु लाग्नबाट बचाउन एकै पटक धेरै प्रकारका खोपहरु दिन सकिन्छ । अन्य देशमा पनि एकै पटक धेरै खोप लगाउँदा बालबालिकामा कुनै प्रतिकुल असर देखिएको छैन । वास्तवमा शुरुका महिनामा बालबालिकालाई रोगहरु लाग्ने सम्भावना धेरै भएकोले ६, १० र १४ हप्तामा रोगहरु विरुद्ध धेरै खोपहरु दिने गरिन्छ । 
 

अनिवार्य खोप लगाउनुस् 
पोलियो विरुद्ध खोप नलिएमा बालबालिकालाई पोलियो रोग लाग्ने जोखिम बढी हुन्छ । पोलियो खोप नहुँदा हरेक वर्ष नेपालका हजारौ बालबालिकालाई पोलियो रोगका कारण अति शिघ्र लुलो पक्षघात हुने गर्दथ्यो । पोलियो विरुद्धका खोपका कारणले नै अहिले नेपालमा पोलियो रोग शुन्यमा रहेको छ । यस विरुद्ध खोप नलिएमा फेरि यो रोग देखिन सक्छ ।

पोलियो वा अन्य खोपहरुका वारेमा थप जानकारी नजिकैको स्वास्थ्य संस्था वा खोप केन्द्रमा स्वास्थ्यकर्मीसँग प्राप्त जानकारी लिन सकिन्छ । 

–स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सूचना सामग्री 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप