बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो तामाकोशी आयोजना छिटो सम्पन्न गर्न मन्त्री पुनको निर्देशन

सोमबार, ०३ मङ्सिर २०७५, १५ : १०
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका छन् । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागत समेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गर्नुभएको उनको सचिवालयले जानकारी दिएको छ । 

आयोजनाको काम पछिल्ला दिनमा प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या समाधान गरी छिटोभन्दा छिटो विद्युत् उत्पादन शुरु हुने वातावरण तयार पार्नसमेत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई निर्देशन दिए । 

शुरुमा आयोजनाको लागत रु ३५ अर्ब रहेको भए पनि पछिल्लो दिनमा निर्माण सामग्रीको मूल्य बढेको, अमेरिकी डलरमा भएको मूल्य वृद्धिका कारण लागत बढेर रु ७० अर्बको हाराहारीमा पुग्ने अवस्था देखिएको छ । त्यसमा लागत अवधिको ब्याजसमेत जोडिएको छ । 

आयोजनाको भौतिक निर्माणको काम करीब करीब सकिने अवस्थामा पुगेको भए पनि केही निर्माण व्यवसायीले समयमा काम नगरिदँदा विद्युत् उत्पादन मिति नै पर सर्न पुगेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ठूला पाइप आयातमा समस्या देखिएको छ । लामोसाँघु–जिरी सडकखण्ड मर्मतमा ढिलाइ हुँदा निर्माण सामग्री आयातमा ढिलाइ भएको भन्दै पछिल्ला दिनमा आयोजनाको सुरुङमा जडान हुने पाइप आयोजना स्थल पुग्न सकेको छैन । 

आयोजनाको सुरुङभित्र रहेका दुई वटा ठाडो सुरुङ (३७० मिटर र ३१० मिटर) मा पाइप जडान गर्ने काम पूर्ण हुन सकेको छैन । आयोजनाले आगामी असारमा परीक्षण उत्पादन शुरु गर्ने र आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । विगतमा आगामी पुस मसान्तदेखि नै परीक्षण उत्पादन शुरु गर्ने कार्यतालिका तय गरिएको थियो । 

मन्त्री पुनले आयोजनामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमन गर्ने र आयोजना स्थलमा नै समस्या समाधान गर्ने तयारी गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललाई मिलाएर काम गराउने तयारीमा आफूहरु लागेको जानकारी दिए । 

हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय ठेकेदार कम्पनी टेलम्याको रहेको छ भने इलेक्ट्रोमेकानिकलको जिम्मा एन्ड्रिज हाइड्रोको रहेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ५९ वटा पाइप प्राधिकरणको सुनकोशी विद्युत् गृहमा रहेको छ । 

‘आयोजनालाई गति दिने र तोकिएको समयमा नै सम्पन्न गराउने तवरले मन्त्रीज्यूले चासो दिनुभएको हो, त्यसलाई सहजरूपमा लिँदै आयोजना स्थलमा देखिएको समस्या समाधानका लागि हामी प्रतिबद्ध भएर लागेका छौँ’, प्रवक्ता डा.न्यौपानेले भने । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप