भीएआरले जोगियो रियल म्याड्रिड
एजेन्सी - साविक विजेता रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा डच क्लब अजाक्सलाई २–१ गोलले पराजित गरेको छ । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) विवादका कारण घरेलु टोली अजाक्सको सुरुवाती अग्रता रद्द भएको खेलमा रियल भाग्यमानी बनेको थियो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा अजाक्सको गोललाई रेफ्रीले भीएआरको सहायताले मान्यता दिएनन् । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा रियलले ६० औं मिनेटमा खाता खोल्यो । रियलका करिम बेन्जेमाले गोल गरे । बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए ।
७५ औं मिनेटमा अजाक्सका हाकिम जिएचले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले डेविड नेरेसको पासमा उत्कृष्ट गोल गरेका थिए । त्यसपछि थप जोसिएको रियलले ८७ औं मिनेटमा निर्णायक गोल गरेको थियो । रियलका मार्को असेन्सियोले दोस्रो गोल गरे । उनले ड्यानी कार्भाजलले मिलाई दिएको पासमा गोल गरेका थिए । अजाक्सले खेलको अन्तिमसम्म बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।