बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख १२ गतेः ५ नम्बर प्रदेश हेडलाइन, कहाँ के भयो ?

बिहीबार, १२ वैशाख २०७६, २० : १५
बिहीबार, १२ वैशाख २०७६

प्रदेश ५ मन्त्रिपरिषद् निर्णयः विदा थप्नेदेखि १ लाख राहत दिनेसम्म

बिहीबार बसेको प्रदेश नम्बर ५ को मन्त्रिपरिषद्को बैठकले प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा भएका दैवी विपत्तिका घटनाका पीडित परिवारलाई राहत दिने निणर्य गरेको छ ।

बैठकले  ०७४ फागुन ३ गतेदेखि ०७५ पुस मसान्तसम्म आगलागी, चट्याङ, बाढीपहिरो लगायतका विपत्तिमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । 

बैठकले दाङको राप्ती गाउँपालिका – ७ बसन्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने तथा दाङकै घोराही उपमहानगरपालिका – १६ स्थित नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका – १३ स्थित उजीर सिंह रंगशालाको स्तररोन्नति गर्ने निर्णय गरेको पनि मन्त्री चौधरीले जानकारी दिए ।

यस्तै प्रदेश नम्बर ५ सरकारले ६ वटा नयाँ विदाहरु तय गरेको छ । जसमा ४ वटा प्रदेशभर लागू हुनेछ भने १ दिन स्थानीय तहले र अर्को १ दिन स्थानीय समुदायमा आधारित विदा हुने चौधरीले बताए ।

निर्णयसँगै बकर ईदको अवसरमा १ दिन, माघे सक्रान्ती तथा माघीमा २ दिन र प्रदेश स्थापना दिवसमा १ दिन गरी ४ दिन प्रदेशभर बिदा हुनेछ । 

साथै अन्य २ दिनमा भने स्थानीय पर्वको लागि स्थानीय तह आफैँले विदा गर्न सक्ने निर्णय गरिएको छ । उनले भने, ‘यो १ दिन भनेको पाल्पाको भगवती जात्रालगायतलाई मध्यनजर गरी तयार पारिएको हो । यो दिनमा पाल्पाका स्थानीय तहले निर्णय गरेर विदा लिन र दिन सक्नेछन् ।’

अर्को १ दिनको विदा समुदायमा आधारित बिदा रहेको बताउँदै प्रदेश चौधरीले अतहरी, भूमिया पुजालगायतका दिनमा सो पर्व मनाउने कर्मचारीहरुले विदा लिन सक्नेगरी यो विदाको परिकल्पना गरिएको बताए ।

‘भ्रष्टाचार बढ्यो, नागरिकता विधेयकमा सरकार चुक्यो’: महामन्त्री सिंह
नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भएको आरोप लगाएका छन् ।  

‘निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाई कारबाही नगर्ने, राष्ट्रियता विरुद्वमा नागरिकता विधेयक ल्याउने कामले सरकार असफल भयो ।’ रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा बिहीबार आयोजित साक्षात्कारमा उनले भने ।

महामन्त्री सिंहले लोकतन्त्र, गणतन्त्रका बिषयमा सरकारको नीति स्पष्ट भएको बताए । तर  यो सरकार राष्ट्रियताको अडानले सत्तामा आएको स्मरण गर्दै अहिले राष्ट्रियता कहाँ हरायो  ? भन्दै प्रश्न गरे ।

उनले भने— ‘राष्ट्रियताको बिषयमा सरकारले ढुलमुलको नीति अवलम्वन गरेको छ । नागरीकता विधेयक र गृहमन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उठाएको छ ।’

उनले यो सरकार अपदस्थ बनाउने चर्चा चलिरहेको भन्दै उनले आफ्नो पार्टी त्यसमा सहमति नभएको बताए । नेपालको रााष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा  भारतीय विस्तारबादबाट खतरा रहेको उनको दाबी छ ।

गृहमन्त्रीको पुर्ख्यौली गाउँमा झाडा–पखलाको महामारी

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ४ मा रहेको दर्जाकोट गाउँमा झाडा पखलाको महामारी फैलिएको छ । 

दजाकोटका ७५ घरधुरीका बालकदेखि वृद्धसम्म सयौं जना झाडा पखलाबाट थलिएका छन् । स्थानीयहरु ४ दिनदेखि महामारीले थलिएपछि अवस्था नाजुक बनेको स्थानीय शिक्षक दुर्गा रासकोटीले बताए ।  

संक्रमण थप बढ्ने डरले दुई दिनदेखि स्थानीय पशुपति निमावि समेत बन्द गरिएको उनले  जानकारी दिए । सवै गाउँले बिरामी परेपछि बामीटक्सारबाट स्वास्थ्यकर्मी झिकाएर विद्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिए । 

‘१५ देखि २० जनालाई सलान पानी चढाईदैँछ, केहीलाई जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ’ मेयर सापकोटाले भने । उनका अनुसार लुरेखोला मुहानको पानी पिउने सबै घरधुरी झाडापखलाको माहमारीमा परेका हुन् ।

नगरप्रमुख सापकोटाले पानीकै कारण झाडा पखलाको महामारी फैलिएको बताए । गाउँमा आउने पानीको मुहानमाथि लुगाकपडा धुने गरेका कारण पानीमा प्रदुषण मिसिएको हुनसक्ने स्थानीयले बताएका छन् । एक जना बेहोस महिलालाई जिल्ला अस्पताल पठाई सकिएको र थप चार जनालाई पठाउनुपर्ने देखिएको मेयर सापकोटाले बताए ।

मालपोतका कार्यालय सहयोगी घुस रकमसहित पक्राउ
मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

दाङका तीन तहमा ८ मलेरियाका बिरामी भेटिए
दाङमा चालु आर्थिक बर्षमा ८ जना मलेरियाका बिरामी फेला परेका छन् । स्वास्थ्य जाँचका क्रममा ८ जना मलेरियाका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

निजी तथा सरकारी स्वास्थ्य संस्थामा जाँच गराएकामध्ये ८ जनामा मलेरियाको संक्रमण भेटिएको स्वास्थ्य कार्यालयका मलेरिया रोग नियन्त्रण फोकलपर्सन कमल चन्दले जानकारी दिएका छन् । दाङका तीन स्थानीय तहबाट ति बिरामीहरु फेला परेका हुन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार तुलसीपुर उपमहानगरपालिकामा ५, राप्ती गाउँपालिकामा २ र बबई गाउँपालिकामा १ जना बिरामी फेला परेका हुन् ।

कार्यालयका अनुसार बबई गाउँपालिका ५ र ७, राप्ती गाउँपालिकाको ९, शान्तिनगर गाउँपालिका ६ र तुलसीपुर उपमहानगरको वडा नम्बर १३ मा मलेरियाको जोखिम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप