बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उपमेयरकै अगाडि वडाअध्यक्षले व्यापारी पिटेपछि...

शुक्रबार, ०३ जेठ २०७६, २३ : २०
शुक्रबार, ०३ जेठ २०७६

जनकपुर-जनकपुरमा जनप्रतिनिधिले नै व्यवसायीसँग निहुँ खोज्दै हातपात गरेपछि जनकपुर बजार तातेको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्रकै सामुत्रे एकजना वडाअध्यक्षले व्यापारीलाई हातपात गर्दै दादागिरी देखाएपछि बजार तातेको हो । उपमेयर रीता मिश्रकै सामुत्रे वडा नम्बर ७ का वडाअध्यक्ष जानकी राम साहले वडा नम्बर २ मा रहेको ग्रिन टेलर्सका सञ्चालकलाई कुटपिट गरेका छन् । 
उपमेयर मिश्रकै सामुत्र वडाअध्यक्ष साहले सञ्चालक असलमलाई हातपात गरेको स्थानीय व्यवसायीहरुले बताए । फोहोरको विषयमा विवाद हुँदा वडाअध्यक्ष साहले हातपात गरेको बताइएको छ ।
पसल अगाडी फोहोर गरेको भन्दै उपमेयर मिश्रले ग्रिन टेलर्सका सञ्चालक असलमलाई प्रश्न गरेकी थिइन् । असलमले ‘पसलको फोहोर मैले झोलामा जम्मा गरेको भन्दै सफाइ कर्मचारीहरु हड्तलामा गएकोले सडकमा फोहोर थुप्रेको’ जबाफ फर्काएका थिए । यसै विषयमा विवाद हुँदा उपमेयर सँगै रहेका वडाअध्यक्ष साहले आफूमाथि हातपात गरेको ग्रिन टेलर्सका सञ्चालक असलमले बताए ।

टेलर सञ्चालक असलममाथि कुटपिट भएको विरोधमा स्थानीय व्यवसायीहरुले उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् । व्यवसायीलाई हातपात गर्ने वडाध्यक्ष र उपमेयरले माफी माग्नुपर्ने भन्दै उनीहरुले उपमहानगरपालिका कार्यालय परिसर भित्र नाराबाजी गरेका थिए । तर उपमेयर मिश्र बाहिर निस्केपछि आक्रोशित व्यवसायीहरु जबरजस्ती उनको कार्यकक्षतर्फ प्रवेश गर्न खोजेका थिए । तर सफाइ कर्मचारी, वडा सदस्य, कर्मचारी, सुरक्षार्थ खटेका प्रहरी लगायतले आफूहरुलाई उल्टै लखेटेको व्यवसायीहरुले बताए । वडा सदस्य तथा केहि कर्मचारीले कुटपिट गरेपछि एक व्यवसायी घाइते भएको र उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको व्यवसायीहरुले बताएका छन् ।

यता उपमेयर मिश्रले वडाध्यक्ष साहले व्यवसायीलाई कुटपिट नगरी हातले धकेलेको मात्र दाबी गरिन् । उनले भनिन्– आन्दोलनरत्त सफाइ कर्मचारीहरुको हड्ताल तोड्न लगाएर हामीले फोहोरको उचित व्यवस्थापन गर्न पसल–पसलमा भन्न निस्केका थियौं । उनले थप्दै भनिन्– ग्रिन टेलर्स पुगेपछि उनले आक्रोशमा आएर कुरा गरे, मसँगै रहेको वडाध्यक्षले उनलाई सामान्य धक्का मात्र दिएको थियो । कुटपिट चाँही गरेनन् ।’ राम्रो काम गर्न खोजेपनि उल्टो भएको उनको भनाइ थियो ।

जनप्रतिनितिले कुटपिट गरेको विरोधमा उपमहानगरपालिका वरिपरिका पसलहरु व्यवसायीहरुले बन्द गर्दै नारावाजी समेत प्रदर्शन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप