शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बङ्गलादेशबिरुद्धको जीतमा भारत र कोहलीको किर्तिमानै किर्तिमान

सोमबार, ०९ मङ्सिर २०७६, ०७ : ४०
सोमबार, ०९ मङ्सिर २०७६

भारतले बङ्गलादेशलाई कोलकाताको इडन गार्डन्समा खेलिएको दिवा–रात्री टेस्टमा आइततबार एक इनिङ र ४६ रनले पराजित गरेको छ । भारतले दुई टेस्टको सिरिज २–० ले क्लीन स्वीप गरेको हो ।

योसँगै भारत इनिङको अन्तरले लगातार चार टेस्ट जित्ने पहिलो देश पनि बनेको छ । भारतको घरेलु मैदानमा यो लगातार १२ औँ टेस्ट सिरिज जित पनि हो ।

भारतले पहिलो इनिङमा ९ विकेटको क्षतिमा ३ सय ४७ रन रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो । उता, बङ्गलादेश भने पहिलो इनिङमा १०६ र दोस्रो इनिङमा १ सय ९५ रनमा अलआउट हुनपुग्यो ।

इसान्त शर्माले दुई टेस्टमा कूल १२ विकेट लिए । उनी म्यान अफ द म्याचको साथै म्यान अफ द सिरिज चुनिए ।

स्पीनरले विकेट नै लिएनन्

भारतमा खेलिएको टेस्टहरु मध्ये सबैभन्दा कम समयमा यो खेल सकिएको थियो । यो खेलमा कुनै पनि स्पीनरले विकेट लिन सकेनन् । भारतको घरेलु मैदानमा कुनै पनि स्पीनरले विकेट लिन नसकेको यो पहिलो अवसर हो । यसअघि सन् २०१८ मा जोहानेसबर्गमा दक्षिण अफ्रिाकाबिरुद्ध खेलिएको खेलमा स्पीनरहरुले विकेट लिन सकेका थिए ।

लगातार ४ टेस्ट इनिङको अन्तरले जीत

भारत लगातार ४ टेस्ट इनिङको अन्तरले जित्ने पहिलो टोली बनेको छ । यही वर्ष पुणेमा दक्षिण अफ्रिकालाई इनिङ र १३७ रनले हराएको भारतले त्यसपछि दक्षिण अफ्रिकालाई नै राँचीमा इनिङ र २०२ रनको अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा बङ्गलादेशलाई इनिङ र १३० रनले पराजित गरेको भारतले अन्तिम टेस्टमा बङ्गलादेशलाई नै इनिङ र ४६ रनले हरायो ।

अपराजित भारत

भारत र बङ्गलादेशबीच कूल ११ टेस्ट खेलहरु भएका छन् । जसमा भारत अपराजित रहेको छ । हालसम्म भारतले ९ खेलमा जीत हासिल गरेको छ भने दुई टेस्ट ड्र भएको छ ।

लगातार सातौँ पटक इनिङ घोषणा

भारतले लगातार सात पटक इनिङ समाप्तिको घोषणा गर्ने पहिलो टोली पनि बनेको छ । यसअघि इङ्ल्याण्डले सन् २००९ मा लगातार ६ पटक इनिङ समाप्तिको घोषणा गरेको थियो ।

यता, खेलमा विराट कोहलीले पनि नयाँ किर्तिमान बनाएका छन् । उनी लगातार सात टेस्ट जित्ने पहिलो भारतीय कप्तान बनेका छन् । उनको नेतृत्वमा भारतले वेस्ट इन्डिज, दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्ध लगातार जीत हासिल गर्न सफल भएको हो । यसअघि यो किर्तिमान महेन्द्रसिंह धोनीको नाममा थियो । धोनीले सन् २०१३ मा लगातार ६ टेस्ट जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप