आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय
संसद्

बहुमत कायमै रहँदा प्रधानमन्त्रीले किन लिँदैछन् विश्वासको मत ?

शुक्रबार, ०४ जेठ २०८१, १९ : ४८
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको १४ दिनमा अर्थात् जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

चौथो पटक विश्वासको मत लिनेबारे प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए ।

संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त  ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्न सक्ने व्यवस्था छ ।

यसैगरी उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्न सक्ने भनिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले आवश्यक ठानेर नै विश्वासको मत लिन लागेको हुनसक्ने बताए । ‘प्रधानमन्त्रीले आवश्यक ठानेरै विश्वासको मत लिन लाग्नु भएको होला । सबै विषयवस्तु सरकारले निर्णय गर्ने हुँदा आवश्यक ठानेमा लिनुहुन्छ । आवश्यक नठाने लिनुहुन्न । अवस्था हेरेर सरकारले निर्णय गर्ने कुरा हो’, पाण्डेले रातोपाटीसँग भने ।

जसपा नेपालका १२ जना सांसदमध्ये अशोक राई नेतृत्वमा सात जनाले पार्टी विभाजनका लागि वैशाख २३ गते निर्वाचन अयोगमा निवेदन दिएका थिए । आयोगले वैशाख  २४ मा राईको नेतृत्वमा जसपा नाम गरेको दल दर्ता गर्ने निर्णय गरेको थियो । दल विभाजन हुँदा अमेरिका र कतारको भ्रमणमा रहेका अध्यक्ष उपेन्द्र यादवले स्वदेश फर्किएपछि दल विभाजन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

यादवको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले दल विभाजनका विषयमा भएका निर्णय यथास्थितिमा राख्न निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतले जेठ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

संसदीय अङ्कगणित के छ ?

फागुन २१ गते सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला संसदमा उपस्थित २६८ जना सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले १५७ मत पाएका थिए । जसमा एमालेको ७६, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १२, एकीकृत समाजवादीको १०, नाउपाको ४ र दुई जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

जसपा विभाजन भएपछि जसपा नेपालका ५ जना सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई बाँकी १५२ जनाको समर्थन कायमै छ ।

२०७९ पुस १० गते एमालेसहित ६ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए ।

तर सरकार गठन भएको तीन महिना नपुग्दै सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला प्रतिनिधि सभामा उपस्थित सङ्ख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो ।

२०८० वैशाख २२ गते रास्वपा सरकारबाट बाहिरिएपछि भने उनले विश्वासको मत लिएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप