बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस सांसदले जब प्रचण्डतर्फ फर्किएर अब हुँदै गरेका प्रधानमन्त्री भनेर सम्बोधन गरे....

सोमबार, २७ माघ २०७६, १९ : ३५
सोमबार, २७ माघ २०७६

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रधानमन्त्री बन्ने लालसा नराखेको बताएका छन् । उनले अहिले आफूलाई प्रधानमन्त्रीको रेसमा रहेको रुपमा नबुझिदिन पनि आग्रह गरे । भविष्यमा भने प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व लिन सक्ने उनको संकेत थियो । ‘म अहिले प्रधानमन्त्री बन्दै छैन’, तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको जन्मथलो नुवाकोटको तुप्चेमा बोगटीको शालिक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक सामारोहलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘भविष्यको कुरा अर्कै हो ।’

कार्यक्रममा काँग्रेस सांसद बहादुरसिंह लामा तामाङले अब हुँदै गरेका प्रधानमन्त्री भन्दै प्रचण्डलाई सम्बोधन गरेका थिए । लामाको भनाइको खण्डन गर्दै प्रचण्डले प्रधानमन्त्री बन्ने मनसाय नराखेको प्रष्टीकरण दिएका हुन् । प्रचण्डले आफ्नो ध्यान सत्तामा नभई मुलुक विकासमा रहेको स्पष्ट पारे । चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा एकैसाथ भेटेका बेला आफूले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राखेको चर्चा गर्दै उनले त्यसमा अहिले आएर तीनै मुलुकका बीचमा करिब सैद्धान्तिक सहमति कायम भएको उल्लेख गरे । ‘उहाँहरुले त्यतिबेला दुई प्लस वान भन्नुभएको थियो, मैले नेपाल सानो छैन । टु प्लस वान होइन, थ्री नै हो भनेको थिएँ’, प्रचण्डले भने, ‘त्यही प्रस्तावअनुसार चीनको ल्हासाबाट नुवाकोट हुँदै ठोरीबाट भारत जोड्ने सडक सञ्जाल निर्माण हुने सम्भावना बढेर गएको छ ।’ उनले त्रिदेशीय रणनीतिक विकास, कूटनीतिक र कनेक्टिभिटी नै त्रिदेशीय साझेदारी भएको व्याख्या गरे ।

फरक प्रसंगमा प्रचण्डले पोष्टबहादुर बोगटीले आफूलाई पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै राजनीतिक सबै अप्ठ्यारा उतारचढावहरुमा निसर्त साथ दिएको सम्झँदै उनको निधनले पार्टी र आफूलाई ठूलो क्षति भएको स्मरण गरे । सामान्य गरिब परिवारमा जन्मेको र औपचारिक रुपमा उच्च शिक्षा हासिल नगरेका बोगटीमा असाधारण क्षमता र व्यक्तित्व रहेको उनको भनाइ थियो । बोगटीमा रहेको चारीत्रिक र नैतिक बलका कारण उनले बोलेपछि पार्टीका शीर्ष नेताहरु समेत हच्किने गरेको प्रचण्डको भनाइ थियो । तत्कालीन बेला आफ्नो दायाँ र बायाँ बाबुराम भट्टराई र मोहन वैद्य रहेको स्मरण गर्दै प्रचण्डले बोगटीका अगाडि दुवै डराउने गरेको समेत सुनाए । ‘मेरो दायाँ र बायाँतिर ठूल्ठूला विद्वान डाक्टर र वैद्य थिए, उहाँ त धेरै नपढेको मान्छे तर, उहाँ बोलेपछि डाक्टर र वैद्यको पसिना छुट्थ्यो ।’ बोगटीको असामयिक निधनमा काँग्रेस, तत्कालीन, एमाले, मधेस केन्द्रित दल तथा स्वदेशी र विदेशी मिडिया सबैतिरबाट दुःख व्यक्त भएको स्मरण पनि प्रचण्डले गरे । उनले पोष्टबहादुर बोगटीजस्तै सरल, असल, सहृदयी र मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने असाधारण विद्यार्थी उत्पादन गर्न विद्यालयलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले विद्यालय हातामा निर्मित बोगटीको शालीक अनावरण गरेका थिए । 

प्रसारण लाइनमुनिको जग्गाको पनि मुआब्जा दिने उर्जामन्त्रीको घोषणा 

कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले विद्युत प्रसारण लाइनभन्दा तलको जमिनको पनि सरकारले पूर्ण मुआब्जा दिने तयारी गरेको बताए । मन्त्री पुनले आगामी पाँच वर्षमा ५ हजार र १० वर्षमा १६ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको भन्दै विद्युत वितरणका लागि प्रसारण लाइन निर्माणको काम पनि तीव्र रुपमा अघि बढेको बताए ।

‘अबदेखि प्रासरण लाइनको मुनि परेको जग्गाको पनि मुआब्जा दिने गरी कार्यविधि तयार भएको छ ।’ यसअघि सरकारले प्रसारण लाइनको जग्गामा आंशिक मात्र मुआब्जा दिने गरेको थियो । उनले वर्तमान सरकार बन्नुअघि मुलुकमा ९ सय मेगावाट मात्र विद्युत रहेकामा पछिल्लो दुई वर्षमा ४ सय मेगावाट थपिएर कूल जडित क्षमता १३ सय मेगावाट पुगेको उल्लेख गरे ।

यसै आर्थिक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित १ हजार मेगावाट विद्युत केन्द्रीय प्रसारणमा थपिने जानकारी उनले दिए । ‘यो वर्षबाट हामी विद्युतमा आत्मनिर्भर हुँदैछौं’, उनले भने, ‘हामीले वार्षिक १८ अर्बको बिजुली छिमेकी मुलुकबाट आयात गरिरहेका छौं, यही वर्षदेखि आयात प्रतिस्थापन गर्दैछौं ।’ मन्त्री पुनले रसुवा र नुवाकोटमा धेरै विद्युत आयोजना निर्माण भएको र कतिपय निर्माणको चरणमा रहेको चर्चा गर्दै त्यहाँका जनात विकासमैत्री रहेको बताए । फरक प्रसंगमा मन्त्री पुनले पोष्टबहादुर बोगटीलाई निष्ठाको राजनीति गर्ने नेताका रुपमा स्मरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप