शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक महाशाखाको अभियान : सुरक्षित मोटरसाइकल यात्रा (फोटोफिचर)

बिहीबार, १५ भदौ २०७४, १० : ४१
बिहीबार, १५ भदौ २०७४

काठमाडौँ । काठमाडौँ उपत्यकामा धेरै मानिसले मोटरसाइकल दुर्घटनाबाट ज्यान गुमाएको भन्दै यसलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान शुरु गरेको छ । 

महाशाखाले बुधबारबाट यो अभियान सुरु गरेको हो । महाशाखाका प्रमुख *डिआइजी सर्वेन्द्र खनालले दिएको जानकारी अनुसार अभियान दुई सातासम्म जारी रहनेछ । अभियानमा मोटसाइकल यात्रुलाई बीच बाटोमा रोकेर पाँच मिनेट ट्राफिक जनचेतनामूलक शिक्षा दिनुका साथै मोटरसाइकलमा स्टीकर टाँसेर छाड्ने गरेको छ । 

दुर्घटना न्युनिकरण गर्न तथा मोटरसाइकल चालकको अनुशासन पालनाका लागि सहयोगि हुने उद्देश्यले भद्रकाली, त्रिपुरेश्वर, महाराजगञ्ज, चाबहिल, गौशाला, पाटन, जावलाखेल, नयाँबानेश्वर, कोटेश्वरलगायतका क्षेत्रमा अभियान सञ्चालन गरिएको हो । 

महाशाखाले मोटरसाइकलबाट सुरु गरेको यो अभियान ठूला सवारीसाधनमा समेत लागू गर्ने तयारी गरेको छ । 

अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकहरुलाई लेन अनुशासन कायम राख्ने, जिकजयाक मोटरसाइकल नचलाउने, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउने, ओभरटेक गर्दा बाँयाबाट नगर्ने, कुनै पनि ठाउँमा जाँदा घरबाट केही समय छिटो निस्कनेलगायतका १० बुँदे प्रशिक्षण दिएको महाशाखा प्रमुख खनालले रातोपाटीलाई बताए । प्रशिक्षण दिएका मोटरसाइकल चालकलाई स्टीकर टाँसेपछि पुनः प्रशिक्षण दिनुनपर्ने भएकाले यो व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘पहिले दुर्घटना वा नियम मिचेपछिमात्र कक्षा दिने चलन थियो । तर, अहिले दुर्घटना हुन नदिन पहिले नै प्रशिक्षण दिन लागिएको हो । यसबाट दुर्घटना न्युनीकरण हुने हामीले आशा गरेका छौँ ।’

हाल काठमाडौँ उपत्यकामा मात्र आठ लाखको हाराहारीमा मोटरसाइकल चल्ने गरेका छन् । उपत्यकामा हुने ९० प्रतिशत दुर्घटना मोटरसाइकलसँग सम्बन्धित हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप