शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासङ्घको चुनाव जेठ २६ मा हुने

शनिबार, २२ वैशाख २०८१, ०९ : २०
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार राति काठमाडौँमा सम्पन्न महासङ्घको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासङ्घको निर्वाचन गर्ने मिति तोकेको हो । 

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासङ्घले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरूको एकसाथ निर्वाचन गर्ने निर्णय गरेको हो ।

नेपाली पत्रकारहरूको छाता संस्था महासङ्घमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासङ्घको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् । निर्वाचनको मिति तोके पनि महासङ्घले साधारण सदस्यको टुङ्गो भने लगाइसकेको छैन । 

महासचिव रोशन पुरीले एक साताभित्र साधारण सदस्यको टुङ्गो लगाइसक्ने भन्दै मिति प्रस्ताव गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप