शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

त्यो कुन रोग हो जसले शिल्पा शेट्टीको पटकपटक गर्भपतन गरायो ?

बिहीबार, ०१ जेठ २०७७, १० : १०
बिहीबार, ०१ जेठ २०७७

बलिउड अभिनेत्री शिल्पा शेट्टीले यसै वर्ष फेब्रुअरीमा सरोगेसीमार्फत् एक छोरीलाई जन्म दिएकी छिन् । उनकी छोरीको नाम समिषा हो र उनको जेठो छोराको नाम वियान हो ।

हालै इन्टरनेशनल मदर्स डेको मौकामा शिल्पाले आफ्नो सरोगेसी अघि गर्भधारणको समस्याबारे बताएकी छिन् ।

उनले एक वेबसाइटलाई दिएको अन्तरवार्तामा आफूले थुप्रै वर्षदेखि गर्भधारणको कोसिस गरेको र एक रोगका कारण पटक–पटक गर्भपतनबाट गुज्रनु परेको खुलासा गरिन् ।

शिल्पा शेट्टीले भनिन्, ‘वियानपछि हामी लामो समयदेखि अर्को एक सन्तानको चाहनामा थियौं । तर मलाई विभिन्न स्वास्थ्य समस्या भयो । मलाई एक अटो इम्यून डिजीज एप्ला ९ब्एीब्० भयो । जसका कारण मेरा थुप्रै गर्भपतन भए । एकपटक त मैले आशै मारिसकेकी थिएँ ।’

उनले भनिन्, ‘म चाहन्नँ कि वियान एक्लै हुर्कियोस् । त्यसपछि हामीले सरोगेसीको कोसिस गरौं भनेर निर्णय गर्यौं । तीनपटकको कोसिसपछि हामी पुनः आमा–बुवा बन्न सफल भयौं ।’

के हो एप्ला सिन्ड्रोम ?

शिल्पा शेट्टीले एप्ला नामको जुन रोगबारे कुरा गरेकी छिन् यसले विशेषतः महिलालाई गाँज्ने गर्दछ ।  यो रोगको पूरा नाम एन्टिफोसफोलिपिड सिन्ड्रोम हो ।

भारतको म्याक्स अस्पतलकी प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. तान्या बख्शी रोहतगी भन्छिन्, ‘एन्टीफोसफोलिपिड सिन्ड्रोम एक अटो इम्यून रोग हो । यसमा हाम्रो शरीरले यस्ता कोसिका बनाउँछन् जसले स्वस्थ कोसिकामाथि हमला गरेर त्यसलाई नष्ट गरिदिन्छन् । अटो इम्युनमा एउटा यस्तो खराबी पैदा हुन्छ जसमार्फत् असामान्य कोसिकाले रगत छिटोछिटो जम्न बाध्य पार्छ ।’

यो सिन्ड्रोमको असर शरीरको धमनी, नसा र अंगमा पर्छ । यसमा रगत जम्दा रक्तप्रवाहमा बाधा उत्पन्न हुन्छ र अंगमा समस्या निम्तिन थाल्छ । यही रोगका कारण गर्भ, मृगौला, फोक्सो, दिमाग, हात–खुट्टा आदि अंग प्रभावित हुन्छ जसका कारण गर्भपतन, अंग निष्क्रिय हुने र आघातजस्ता समस्या निम्तिन सक्छ ।

डाक्टर तान्या भन्छिन्, ‘यो समस्या महिला र पुरुष दुबैमा हुन्छ । कतिपटक बच्चामा पनि देखिन्छ । तर विशेषगरी महिलामा यस्तो समस्या देखिन्छ ।’

डाक्टर तान्या रोहतगीका अनुसार महिलामा अटो इम्युन सम्बन्धि रोग धेरै पाइन्छ । यस्तो बंशानुगतका कारण पनि हुनसक्छ र हर्मोनका कारण पनि यस्तो समस्या निम्तिन सक्छ । महिलाको शरीरमा भएको हर्मोन जस्तै इस्ट्रोजन आदिका कारण पनि उनीहरुको रगत गाढा हुन्छ र जम्ने खतरा बढी हुन्छ ।

किन हुन्छ गर्भपतन ?

एप्ला सिन्ड्रोमले गर्भधारणमा असर पर्दा गर्भपतन हुनसक्छ, बच्चा राम्रोसँग विकसित नभइकनै जन्मन सक्छ वा मृत बच्चा पनि जन्मन सक्छन् ।

डाक्टर तान्या रोहतगीले भनिन्, ‘हाम्रो शरीरमा स–सानो नसा छन् । यो रोग लागेका व्यक्तिहरुको नसामा रगत जम्न थाल्छ । गर्भमा बच्चा विकसित हुनका लाथि निर्वाध रक्त प्रवाह चाहिन्छ । यसो भएमात्रै बच्चाले पर्याप्त पोषण पाउनसक्छन् । तर   रगत जमेको खण्डमा बच्चाको विकास राम्रोसँग हुन सक्दैन, यसैका कारण गर्भपतन हुनसक्छ । गर्भपतन सुरुवाती महिनामा वा पछिका महिनामा पनि हुनसक्छ ।’

‘जुन महिलाको गर्भपतन हुँदैन, उनीहरुको सालमा स–साना रगत जम्न थाल्छ जसका कारण बच्चाको विकास हुनसक्दैन वा सानो अथवा अविकसित जन्मन्छन् । उनीहरुको तौल निकै कम हुन्छ । बच्चा समय अगावै जन्मन पनि सक्छन् । बच्चाले सालमार्फत् नै पोषणा पाउँछन् । कतिपटक त जब बच्चाको पोषण निकै कम हुन्छ तब बच्चाको गर्भभित्रै मृत्यु हुन्छ ।’

एप्ला सिन्ड्रोमको कारणः

यो सिन्ड्रोमको कारण एकभन्दा बढी हुनसक्छन् । यो शरीरको कुनै पनि अंगमा हुनसक्छ ।

डाक्टर तान्या भन्छिन्, ‘यसको कारणबारे पत्ता लगाउनका लागि सुरुमा बिरामीको मेडिकल हिस्ट्रीबारे थाहा पाउनुपर्छ ।’

यो रोग लाग्ने सम्भावित कारण यस्ता हुनसक्छन् –

– गर्भनिरोधक औषधीले पनि रगत जमाउने खतरा हुनसक्छ ।

– यसका पछाडि वंशानुगत कारण पनि हुनसक्छ ।

– खराब जीवनशैलीका कारण पनि एप्ला सिन्ड्रोमको खतरा बढ्नसक्छ ।

के हो लक्षण ?

डाक्टर तान्याका अनुसार यदि कुनै महिलाको पटक–पटक गर्भपतन भइरहेको छ भने यसको एउटा कारण एप्ला सिन्ड्रोम पनि हुनसक्छ । यदि सुरुवाती स्तरमा नै यसको उपचार हुनसक्यो भने यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।

उनी भन्छिन्, ‘अर्को कारणको कुरा गर्ने हो भने साधारणतया जुन अंगमा रगत जम्छ त्यसमा समस्या देखिन्छ । खुट्टामा रगत जम्दा, खुट्टा सुन्निने हुनसक्छ । कतिपटक रगत जम्ने समस्याकै कारण मृगौला बिग्रएको हुन्छ । टाउको दुख्नेलगायतका समस्या पनि पर्नसक्छन् । दृष्टिमा समस्या आउन सक्छ र छालामा डाबर आउनसक्छन् ।’

‘यदि समयमै उपचार नभए रगत जम्ने समस्याले अन्य अंगलाई पनि प्रभावित पार्न सक्छ । साथै कुनै अंगलाई पूर्ण रुपमा निष्क्रिय पनि पार्नसक्छ । ’

के उपचार सम्भव छ ?

डाक्टरका अनुसार यसको उपचार हुने सम्भावना धेरै छ । यसका लागि रगत पातलो हुने औषधी दिइन्छ । यदि एप्ला सिन्ड्रोमबारे पहिले नै थाहा भए महिलाले सामान्य प्रसवमार्फत् नै बच्चा जन्माउन सक्छिन् । यद्यपि, यो रोगको स्तर र अन्य कम्प्लिकेशनमा पनि निर्भर हुन्छ । कुनै अन्य अंगमा पनि एप्ला सिन्ड्रोम हुँदा यसलाई निको पार्न सकिन्छ ।

 डाक्टर तान्याका अनुसार यो रोग विशेषगरी युवा र मध्यम आयु वर्ग अर्थात् २० देखि ५० वर्षको उमेरमा लाग्ने गर्छ । यो रोग संसारभरीका एक लाख व्यक्तिमध्ये ४० देखि ५० व्यक्तिलाई लाग्ने गर्छ । एप्ला सिन्ड्रोमबारे पत्ता लगाउनका लागि यसको परीक्षणको तरिका निकै महत्वपूर्ण हुन्छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप