शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय

आइतबार, ०४ साउन २०७७, १५ : ३५
आइतबार, ०४ साउन २०७७

काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो । 

सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । 

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सन्दर्भमा परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी छलफल गर्ने निर्णय भएको यनले बताए । 
उनले भने, ‘संक्रमणको संख्यामा हाल केही कमी हुँदै गएको र निश्क्रमणको संख्याहरु बढ्दै गएको हुनाले यसलाई नियन्त्रित रुपमा राख्न पर्ने नै विश्लेषण भएको छ । केही निकायहरुबाट अनुमतिका लागि सीसीएमसीमा आएको सन्दर्भमा छलफल हुँदा साउन ६ गतेसम्म कायम भएको नेपाल सरकारको निर्णय छ त्यो निर्णयलाई परिमार्जन गर्न के कस्तो क्रियाकलापहरु गर्न सकिन्छ अथवा यसलाई कसरी लानुपर्छ भन्ने विषयमा फेरि छलफल गरेर नेपाल सरकार मन्त्रिपरिसद्मा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव लैजाने गरी निर्णय भएको छ । थप निर्णय आज भएको छैन । अरु थप कुराहरु भएको छैन जस्तो श्रमिकहरु जुन मुलुकबाट धेरैजना आउन बाँकी रहेको छ ती मुलुकहरुबाट श्रमिकहरु ल्याउनलाई हवाई उडानको प्राथमिकरण राख्ने भन्ने भएको छ ।’ 

क्वारेन्टाइनमा रहेको संख्या घट्दै गएकाले पीसीआर परीक्षणको संख्या पनि घटेको गुरागाईंले बताए । उनले आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउन सक्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको जानकारी दिए । उनले भने, ‘अहिले क्वारेन्टाइनमा रहेको संख्या नै घटदै गएको छ । अहिले परीक्षण गर्दा अस्ति धेरै देखिएको टेस्टको नतिजा आउन बाँकी रहेर अहिलकति संख्या धेरै भएको थियो । अहिले जति आवश्यकता छ आवश्यकता अनुसार पीसीआरको परीक्षणको काम भइराखेको छ । क्रमशः आवश्यकता अनुसार जति आवश्यक हुन्छ त्यो अनुसार पीसीआर परीक्षण गर्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप