आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित

शुक्रबार, १८ असार २०७८, १५ : १४
शुक्रबार, १८ असार २०७८

बागमती प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट माथि छलफलका लागि शुक्रबार मध्यान्ह १२ बजेदेखि बसेको बैठक २० मिनेटका लागि स्थगित गरिएको हो ।

बैठकमा विषेश समयमा दलीय आधारमा प्रदेशसभा सदस्यहरुले सार्वजनिक महत्वको विषयमा आफ्ना धारण राखेका थिए । बैठकमा सत्तापक्ष र विपक्षका गरी कुल १३ जना प्रदेशसभाका सदस्यहरुले धारणा राखेका थिए । बैठकमा सत्तापक्ष नेकपा एमालेका सांसदहरुले प्रदेश सरकार र मातहतका मन्त्रीहरुले विपद् व्यवस्थापनमा सक्दो काम गरेको धारणा राखेका थिए ।

उनीहरुले प्रदेश सरकारले प्रदेशका सबै क्षेत्रलाई समेटेर क्षमताको आधारमा विपद् व्यवस्थापनको योजना ल्याएको भन्दै उद्धार र राहतको काममा पनि सक्रियता देखाएको बताएका थिए । त्यस्तै बैठकमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सामाजिक मन्त्री युवराज दुलाल ‘शरद’ले प्रदेश सरकार विपद् व्यवस्थापन र जोखिम नियन्त्रणको काममा असफल भएको बताएका छन् ।

प्रदेश सरकारले विपद्बाट पीडित भएका व्यक्तिहरुलाई सम्बोधन गर्ने कुनैपनि योजना नल्याएको बताएका छन् । प्रदेश सरकारले खातामा बजेट राखेर सिन्धुपाल्चोक र प्रदेशका अन्य जिल्लाका विपद् पीडित परिवारलाई बेवास्ता गरेको बताए ।

त्यस्तै बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता निमा लामा र प्रभात तामाङले सरकारले विपद्को जोखिम रहेको ठाउँमा नै विकास निर्माणको काम गरेर जनतालाई भ्रममा राखेको बताएका छन् । उनीहरुले सिन्धुपाल्चोकमा हरेक वर्ष विपद्बाट धैरै नागरिक पीडित हुने गरेको भन्दै विकास गर्दा विपद्को जोखिम अनुमान र अध्ययन गरेर गर्नुपर्ने बताए ।

मेलम्ची र हेलम्बु मानवीय आवास क्षेत्रका लागि उपयुक्त नभएको थाहा हुँदा समेत प्रदेश सरकारले कुनै चासो नदिएको र विपद्को जोखिम कै बीच विभिन्न योजनाहरु लागू गर्नुले सिन्धुपाल्चोकप्रति सरकारको चासो नभएको प्रष्ट हुने बताए ।

त्यस्तै विवेकशील साझा पार्टीको संसदीय दलका नेता रमेश पौड्यालले सरकारले सिन्धुपाल्चोकका नागरिकहरुलाई प्रत्येक वर्ष आश्वासन बाँड्ने गरेको बताए । प्रदेश सरकारले हरेक वर्ष विपद् गएपछि मात्र अनुगमनका लागि सो क्षेत्रमा गएर जनतामा आश्वासन मात्र बाँड्ने गरेको उनको भनाई छ । सरकारले यस अघि बाँडेका आश्वासन मध्ये एउटा पनि पुरा नगरेर गैरजिम्मेवारीपन देखाएको बताए ।

त्यस्तै बैठकमा अन्य प्रतिपक्ष दलका सांसदहरुले प्रदेश सरकार विपद् व्यवस्थापनमा चुकेको बताएका छन् । सरकारले विपद्बाट पीडित भइरहेका जनताको सहायतामा मात्र नभई क्षतिको तथ्याङ्क समेत सहि राख्न नसकेको बताएका छन् ।
बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेश सरकारको विपद् प्रभावित क्षेत्र मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अवलोकन र अनुगमनको प्रतिवेदन पेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप