बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लन्डनमा महामारीपछिकै ठूलो सांस्कृतिक कार्यक्रम ‘नेपाली मेला’ आइतबार हुने

सोमबार, ०७ भदौ २०७८, १३ : ०८
सोमबार, ०७ भदौ २०७८

 

 आगामी आइतबार लन्डनस्थित केम्प्टनपार्क रेसकोर्समा १२ औं  नेपाली मेलाको आयोजना हुने भएको छ । तमुधिं यूकेको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा हुन लागेको नेपाली मेलामा गैर आवासीय नेपाली संघ यूकेको पनि सहभागिता रहेको छ । सन् २००९ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली मेला गतवर्ष भने कोरोना महामारीका कारण स्थगित भएको थियो ।

प्रवासमा नेपाली धर्म, संस्कृति, परम्परा र रहनसहनलाई प्रतिनिधित्व गर्दै 'हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नारासहित उक्त मेलाको आयोजना गरिंदै आएको हो । 

कार्यक्रममा स्वदेशी तथा विदेशीको पनि बाक्लो उपस्थिती रहने गर्दछ । तर, यसपटक भने विगतमा जस्तो अन्य देशका कूटनीतिज्ञहरुको सहभागिता  नहुने आयोजकले जानकारी दिएको छ ।

 मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले गर्नेछन् । बिहान १० देखि साँझ ८ बजेसम्म हुने मेलामा सहभागी भएर नेपाली खानपान र नेपाली मौलिकतामा रमाउन सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई उपस्थित हुन  आयोजक संस्था तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले अपिल गरेका छन् । ‘सम्पूर्ण बेलायतवासी नेपालीहरुकै साझा कार्यक्रम नेपाली मेला नाफा कमाउने उद्देश्यले नभई ‘विदेशमा पनि नेपाली कला संस्कृति, रितिरिवाज, भेषभूषा, धर्म संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो ‘ गुरुङले भने ।

मेलामा विभिन्न प्रकारका नेपाली खाना, च्यारिटी, हस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विशेषगरी नेपाली मौलिक भेषभुषा देखि लिएर ग्रामिण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतो लगायतका विभिन्न सामग्रीहरुको पनि प्रदर्शन गरिनेछ । आर्थिक दृष्टिकोणले पनि निकै खर्चिलो मानिने नेपाली मेलाको अनुमानित खर्च तीस हजार पाउण्ड अर्थात करिब ५० लाख रुपैयाँ जति हुने मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले जानकारी दिए । आयोजक तमुधिं यूकेका तर्फबाट मेलाबारे जानकारी दिन आइतबार आफ्नै भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक गुरुङले नेपाली मेलाको तयारीबारे विस्तृत जानकारी दिएका हुन् ।  मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभुषा झल्कने विभिन्न झाँकी, नृत्य प्रस्तुत गर्नेछन्

उक्त मेलामा झाँकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई एकहजार एकसय पाउण्डसहित ‘एम्बासडर कप’ प्रदान गरिनेछ । प्रथम हुनेलाई अतिरिक्त ३ सय पाउन्डको ‘एनआरएनए यूके कप’ समेत दिइनेछ । दोश्रो हुनेले ७ सय पाउण्ड एवं तेश्रो हुनेलाई ५ सय पाउण्ड नगद प्रदान गरिनेछ ।

त्यसैगरि झाँकीमा मात्र प्रथम हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई ३०० पाउण्ड तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोश्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिनेछ । दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ ।

राफल ड्र प्रथम विजेतालाई एक तोला सुन, द्धितिय विजेतालाई ट्याबलेट र तृतीयालाई एकसय पाउण्ड नगद दिइने तमुधिं यूकेले जनाएको छ ।

तमुधिं यूकेद्वारा हरेक वर्ष गोर्खा कप र नेपाली मेला जस्ता दुईवटा इभेन्टको आयोजना हुने गर्दछ, जुन  नेपालीहरुको जमघट हुने सबैभन्दा ठूला इभेन्ट हुन् । विगतमा ८ देखि १० हजारसम्मको उपस्थिति हुने गरेको भएपनि अहिलेको परिस्थितिमा एक तिहाइको उपस्थिति भएपनि खर्च धान्न सकिने आयोजकले ठहर छ ।

 सरकारले कोरोना महामारीका कारण लकडाउनसम्बन्धि  प्रतिबन्ध हटाएपनि मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न र कार्यक्रमको अघिल्लो दिन सम्भव भए सबैले एकपटक परीक्षण गराउन पनि आयोजकले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप