शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा गाडीभन्दा महँगा नम्बर प्लेट

शुक्रबार, १५ असोज २०७८, ११ : ४८
शुक्रबार, १५ असोज २०७८

लण्डन । बेलायतमा प्रचलनमा रहेका गाडीका नम्बर प्लेट सवारी साधनभन्दा पनि कैयौं गुणा महँगा हुने गर्दछन् । सामान्य रुपमा दर्ता भएका गाडीका नम्बर प्लेटबाट गाडी कति वर्ष पूरानो हो र कुन क्षेत्रमा दर्ता भएको हो भन्ने सजिलै छुट्याउन सकिन्छ । तर, प्राइभेट नम्बर प्लेटमा भने फरक हुन्छ । यिनै नम्बर प्लेटहरुसम्बन्धी केही रोचक जानकारी यहाँ प्रस्तुत छ ।

बेलायतमा अक्षर र संख्या गरेर सात डिजिट भएको नम्बर प्लेट प्रयोग गरिन्छ । ती अक्षर र संख्याले छुट्टाछुट्टै अर्थ राख्छन् । नम्बर प्लेटमा दुई भाग हुने गर्दछ, सुरुमा दुई अक्षरसँगै दुई अंक र अन्तिममा तीनवटा अक्षर ।

सुरुको दुई वटा अक्षरले रजिष्ट्रेशन गरिएको क्षेत्रलाई जनाउँछ, जसका आधारमा गाडी कुन ठाउँमा दर्ता भएको भन्ने बुझ्न सकिन्छ । जस्तो बर्मिङहममा दर्ता भएका नम्बर प्लेटमा 'BA’ वा 'BY', अक्सफोर्डमा दर्ता भएको नम्बर प्लेटमा 'OA’ वा ‘OY’, रेडिङमा दर्ता भएकोमा ‘RA' आरए वा ‘RY’ जस्ता अक्षर सुरुमा राखिन्छ ।

त्यस्तै, बीचमा भएको दुई अंकले कुन वर्ष दर्ता गरिएको हो भनेर छुट्याउन मद्दत गर्छ भने अन्तिमको तीन अक्षरले खासै कुनै अर्थ राख्दैनन् ।

बेलायतमा अहिले प्रचलित नम्बर प्लेट सिस्टम सन् २००१ देखि लागू गरिएको हो, जुन ५१ को संख्याबाट सुरु गरिएको थियो ।

यहाँ वर्षमा दुई पटक छुट्टाछुट्टै किसिमको रजिष्ट्रेशन नम्बर परिवर्तन गरिन्छ । हरेक ६ महिना अर्थात् मार्च महिना र सेप्टेम्बर महिनामा नयाँ रजिष्ट्रेशनको व्यवस्था छ । मार्चमा वितरण गरिने नम्बर प्लेटमा सोही वर्षको अन्तिम दुई डिजिट प्रयोग गरिन्छ ।

तर सेप्टेम्बर महिनामा प्रयोग गरिने नम्बर प्लेटको प्रक्रिया अलि फरक छ । सेप्टेम्बरमा दर्ता हुने नम्बर प्लेटमा ‘प्लस फिफ्टी’ (+ ५०) को नियम लागू हुन्छ । जसमा अहिलेको जुन वर्ष हो, त्यसमा ५० जोडेर हुने संख्या नै नम्बर प्लेटमा राखिन्छ ।

सन् २०२० को नम्बर प्लेट प्रयोग गर्दा मार्चमा २० राखिन्छ भने सेप्टेम्बरमा ७० (+५०) राखिन्छ । यसरी बेलायतमा प्रयोग गरिने नम्बर प्लेटबाट कुन ठाउँमा दर्ता गरिएको हो र कति सालमा दर्ता भएको हो भनेर पत्ता लगाउन सजिलो हुन्छ । तर प्राइभेट नम्बर प्लेटमा भने यो नियम लागू हुँदैन ।

प्राइभेट नम्बरप्लेट

बेलायतमा आफ्नो सवारी साधनमा व्यक्तिगत नम्बर प्लेट राख्न चाहेमा धनी नै हुनुपर्छ भन्ने छैन । यहाँ कम्तीमा एक सय पाउण्डदेखि लाखौँ पाउण्ड मूल्य पर्ने नम्बर प्लेट किन्न पाइन्छ । यदि कसैले आफूले इच्छाएको वा आफ्नो नाम वा कम्पनीसँग मिल्दोजुल्दो नामको नम्बर प्लेट राख्न चाहन्छ भने तोकिएको प्रक्रिया पूरा गरी ड्राइभर एण्ड भेइकल लाइसेन्सिङ एजेन्सी (डीभीएलए) मार्फत दर्ता गर्न सक्ने प्रावधान छ ।

यसरी दर्ता गर्न डीभीएलए लगायत ‘प्लेट फोर लेस’ जस्ता अन्य एजेन्सीमार्फत प्राइभेट नम्बर प्लेट दर्ता गर्न सकिन्छ, जहाँ आफूले चाहेको वा आफ्नो नामसँग मिल्दोजुल्दो नम्बरप्लेट खोजेर दर्ता प्रक्रिया पूरा गरी प्राइभेट नम्बर प्लेट प्रयोग गर्न सकिन्छ ।

प्रयोग गरिएका अंक र अक्षरका आधारमा नम्बर प्लेटको मूल्य निर्धारण गरिन्छ । जति धेरै खोजिन्छन्, त्यत्ति नै नम्बर प्लेटको मूल्य बढ्ने गर्दछ ।

हालसम्म प्रयोग भएको सबैभन्दा महँगो प्राइभेट नम्बर प्लेट ट्वेन्टी फाइभ ओ (25 O) हो जसलाई सन् २०१४ मा डीभीएलएले ५ लाख १८ हजार पाउण्ड अर्थात् झण्डै ८ करोड रुपैयाँमा बिक्री गरेको थियो । त्यसैगरी, पछिल्लो समयमा ‘SW 1’ लेखिएको नम्बर प्लेट पनि तीन लाख पाउण्डमा बिक्री भएको थियो ।

यसरी नै अर्को एउटा अनौठो 'F 1’ नम्बर प्लेट छ, जसको मूल्य दश लाख पाउण्डभन्दा पनि बढी हुनसक्ने बताइएको छ । सो नम्बर प्लेट एकजना गाडी व्यवसायका मालिक अफ्जान खान भन्ने व्यक्तिको स्वामित्वमा छ ।

एक लाखभन्दा माथिका यस्ता थुप्रै प्राइभेट नम्बर प्लेट विक्री भएको ड्राइभर एण्ड भेइकल लाइसेन्सिङ एजेन्सी (डीभीएलए) मा तथ्यांक छ ।

प्रतिबन्धित नम्बर प्लेट

ड्राइभर एण्ड भेइकल लाइसेन्सिङ एजेन्सी (डीभीएलए) ले ‘७१’, ‘COVID’  र गालीगलौजका शब्दको प्रयोगलाई प्रतिबन्ध गरेको छ । जस्तै, तालिवानसँग सम्बन्धित ‘TA71 BAN’, ‘TA71 BNN’ जस्ता अक्षरलाई पनि प्रतिबन्ध गरिएको छ ।

कतिपय मानिसले नक्कली प्राइभेट नम्बर प्लेट पनि प्रयोग गरेको डीभीएलएले जनाएको छ । यस्तो गरेको पाइएमा एक सय पाउण्डदेखि एक हजार पाउण्डसम्म जरिवानाका साथै लाइसेन्समा तीन पोइन्टसमेत गुम्नेछ ।

सन् २०२१ को मार्चसम्म बेलायतमा ३ करोड ८६ लाख सवारी साधन दर्ता रहेको आरएसी फाउन्डेसनको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा बढी ८२.१ प्रतिशत अर्थात् ३ करोड १७ लाख कारको संख्या छ । सन् २०२० डिसेम्बरसम्मको तथ्यांक अनुसार ३५ प्रतिशत गाडी धनी महिला छन् ।

सन् २०२१ को जुलाइसम्म बेलायतमा सवारी चालक अनुमति प्राप्त गर्नेको संख्या ४ करोड ७ लाख ८ हजार ६३४ रहेको ड्राइभर एण्ड भेइकल लाइसेन्सिङ एजेन्सी (डीभीएलए) को तथ्यांकले देखाएको छ । जसमध्ये ४ करोड ६ लाख ६६ हजार २७६ जनाले फुल लाइसेन्स प्राप्त गरेका छन् भने ९० लाख ५२ हजार ३५८ जनाले प्रोभिजनल लाइसेन्स लिएका छन् । त्यस्तै फुल यूके लाइसेन्स लिनेमध्ये करिब ५० लाख ७० वर्षभन्दा माथि उमेरका पर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप