ad
न्यायालय सुधारको बहस– २

संसद्को पिलो न्यायपालिकामा निस्कियो

​चोलेन्द्रले राजीनामा दिनुपर्ने एउटै कारण छ, १० वटा भन्नैपर्दैन

person explore access_timeकात्तिक ९, २०७८ chat_bubble_outline0

म अहिले पत्रकारितामा छैन । म नागरिक आन्दोलनमा छु । नागरिक आन्दोलन कुनै जीविका होइन, कुनै संस्था वा कम्पनी होइन । यो त शुद्धरुपमा स्वयंसेवी भावनाले आफ्ना मुद्दाहरु बोकेर जनतालाई जागृत गर्ने आन्दोलन हो । त्यो स्वयंसेवी भावना लोकतन्त्र बनाउनका लागि हो । आजको विषय शक्ति पृथकीकरणको हो । शक्ति पृथकीकरण संविधानदेखि नै असन्तुलित तरिकाले बस्यो । यो समस्या सुरु भएको संविधानबाट हो भन्नेमा हामी पुगिरहेका छौं । लोकतन्त्र प्रणालीले चल्छ, प्रणाली लोकलाजले चल्छ । जुन प्रणाली चलाउने कुरा दृश्य अदृश्य जे छ, त्यसको आवरण शुद्धरुपमा लोकलाज हो ।


लोकलाज पनि सिद्धिने गरेर काम भएको छ भने प्रणाली टिक्दैन । प्रणालीले काम गरेन भने लोकतन्त्र टिक्दैन । आजको सबैभन्दा ठूलो संकट, हाम्रो व्यवस्थामा आएको संकट चैं ती आवरणहरु च्यातिएको र धुजाधुजा भएको हो । कार्यपालिका राजनीतिक रुपमा जवाफदेही छ । भोलि कार्यपालिकाको कुरा गरौंला, त्यो पनि कम बदमास छैन । तर, त्यो भोलि निर्वाचनमा जान्छ । भोलि त्यसलाई, कार्यपालिकाको शक्तिलाई ठेगान लगाउनलाई फेरि हामी छलफल गर्न सक्छौं । अहिले गर्नुपर्ने छलफल न्यायपालिकाको हो ।



न्यायपालिकामा सबैभन्दा ठूलो कुरा नै यसको नैतिकताको सुरक्षा कवच निकै पातलो र पारदर्शी छ, त्यो पनि सिद्धियो भने त संविधान र शक्ति पृथक्कीकरण भन्ने कुरा सबै खान्छ । त्यसकारण आजको दिनमा पनि हामी आन्दोलित हुन सकेनौँ भने, जाग्न सकेनौं भने र न्यायपालिकालाई बचाउन सकेनौं भने लोकतन्त्रवादी हौं, हिजो जनआन्दोलन लडेका थियौं, यति घाइते भयौं, प्रहरीको ढुंगाले लाग्यो, हिरासतमा थियौं भन्नु आत्मरति मात्रै हुनेछ । इतिहासमा बसे हुन्छ । आजको दिनमा कर्तव्यबोध गर्ने हो भने प्रणालीको सन्तुलनको धारमा भएको ठूलो आघातविरुद्ध हामी सबै एकजुट हुनुप¥यो ।





दोस्रो, हाम्रो सिस्टमले किन काम गरेन भनेर हेर्ने हो भने नेपालमा जे भइरहेको छ, त्यो विभिन्न जनसंघर्षहरुको समष्टि रुप हो । संविधान पनि त्यही हो । संविधान बनाइसकेपछि वा सम्झौता गरेपछि भोलिपल्टदेखि हामी आन्दोलनको ताकत बिर्सन्छौं । हामीले अर्कालाई हाम्रो अधिकार प्रत्यायोजन गरिदिन्छौँ र जनताको खबरदारीको जुन जिम्मेवारी हो, त्यो अर्कोलाई सुम्पिदिन्छौं । अनि, पन्छनेबित्तिकै हामी संविधान बनेको ६ वर्षमै आज संविधानमा आघात पर्यो भनेर गुनासोमात्रै गरिरहेका छौं । गुनासो गर्ने, व्यर्थ समय व्यथित गर्ने जुन चरण छ, त्यसलाई आन्दोलनको पूर्ण उर्जामा रुपान्तरण गर्ने कसरी हो भन्नेमा ध्यान दिनुपर्छ ।



तेस्रो, उनी (चोलेन्द्र शमशेर राणा) प्रधानन्यायाधीश हुनु नपर्ने एउटैमात्र शुद्ध कारण छ, १० वटा भन्नैपर्दैन  । एउटा मात्रै के हो भने न्यायिक टिप्पणी पाएको न्यायाधीश प्रधानन्यायाधीश हुनुहुँदैन । शुद्ध छ, उनी न्यायिक टिप्पणी भएको मान्छे हो । अयोग्य मान्छे हो । तिमीमा न्यायिक योग्यता नै छैन, सर्टिफिकेट होला, उमेर के–के होला । न्यायिक टिप्पणी उठेर अयोग्य भएको मान्छे प्रधानन्यायाधीशमा नियुक्ति कसले ग¥यो. ? सुनुवाइमा एकजना त फेल त भएको थियो नि । तर, यिनको सुनुवाई कसले पारित ग¥यो भने संसदले ग¥यो ।



जवाफदेहिताको एउटा जग, मुख्य आधार संसद् हो । यसलाई निष्क्रिय बनाउने, भूमिकाविहीन बनाउने, कर्तव्यविहीन बनाउने जुन काम हामीले ग-यौं, अहिले न्यायपालिकाको पिलोको रुपमा त्यही निस्किएको हो ।

त्यसकारण, हामीले जुन संविधान ल्यायौं वा व्यवस्था ल्यायौं, त्यसको जवाफदेहिताको जग जो हो, त्यो संसदमा अभ्यास गर्ने हो । आज संसद् सबैभन्दा ठूलो प्रहारको बेलामा छ । संसदमा प्रधानन्यायाधीशको सुनुवाईमा संसद आफैं जवाफदेही हुन सकेन ।

संसद्को जवाफदेही शक्ति क्षय भएको एउटा प्रमाण आजको प्रधानन्यायाधीश हुन् भनेर मैले प्रकाश पार्नैपर्दैन । किनभने, त्यो न्यायिक विचलन भएको व्यक्तिलाई सुनुवाई गरिएको छ, र कहीँ पनि खबरदारी गरिएको छैन । नम्बर दुई– यो राजनीतिक व्यवस्था जुन छ, यसको आधार, अस्तित्व वा त्यसको टिकाउ हुने आधार संसद्ले ल्याउने जवाफदेहिताको जग बिस्तार गर्ने बलबाट मात्रै हुन सक्छ ।

आजको सबैभन्दा ठूलो बिडम्बना संसद्मा सर्वत्र प्रहार छ । त्यो ओलीजीबाट सुरु भयो । संसद् सुरुको दिनदेखि (निर्वाचन भएर आएको दिनदेखि) मारमा छ, थिलोथिलो छ । बैठक हुँदैन । अधिवेशन नै बस्दैन । बलात् अन्त्य गरिन्छ । त्यसले कहिल्यै पनि राज्यलाई खबरदारी गर्नुपर्ने ताकत निर्वाह गर्दैन । त्यहीकारण आजको सबैभन्दा ठूलो विकृतिको समस्या, व्यवस्था चल्न नसकेको कारण संसद्मै प्रहार गरिनु हो ।

अर्को, हामी के त ? राज्य के हो ? के न्यायपालिकाले मात्रै कार्यपालिकालाई सन्तुलन गर्ने हो ? या व्यवस्थापिकाले मात्रै गर्ने हो ? यी तीनवटै प्रणालीले त्यतिबेला मात्रै काम गर्छन्, जब हामीसँग सचेत, जागरुक, आन्दोलित मनस्थितिको समाज हुँदैन ।

हुन त हामी पत्रकारिता, चौथो अंग भन्छौं, यो अंग भन्नु बेकार हो । लफडामात्रै हो । यतातिर नजाऔं । चौथो अंग, पाँचौं अंग भनेको मञ्चमा बस्नेमात्रै भयो । तीनवटापछि भन्यो, मञ्चमा बस्यो । यसरी हुँदैन, हामी पहिलो अंग भन्नुपर्छ । नागरिक समाज पहिलो अंग हो । पत्रकारिता चौथो होइन । यहाँ, एउटा व्यवसायी पाँचौँ अंग भन्छ, प्रोटोकलमा पाँचौँ व्यक्तिका रुपमा भाषण गर्छ । यसरी अंगमा विभाजित भएर साझेदारी गर्ने प्रणाली छाड्नुपर्छ ।

हामी के हो भने एउटा जागरुक, जागृत र कर्तव्यनिष्ठ, सचेत नागरिकहरुको समुदायको क्रियाशीलताबाट मात्रै यी तीनवटा आधारहरुलाई खबरदारी गरिरहन सकिन्छ । इतिहास र विगतको आन्दोलनले के भन्छ भने यो व्यवस्थाको मुख्य आत्मासँग जोडिएका दुईवटा मात्रै एजेन्सी (शक्ति) छन् । एउटा नेपाल बार, अर्को पत्रकार महासंघ । यी दुईवटा एजेन्सी हुन्, शक्ति हुन् । यी दुईवटा शक्तिले मात्रै आफूमा सक्रिय उर्जाका रुपमा काम गर्न सके भने नागरिक आन्दोलन सधैं नै जीवित रहिरहन्छ । नागरिक समाज सक्रिय रहिरहन्छ । किनभने, यसको मुख्य आधारस्तम्भको प्रतिनिधित्व एउटा बलियो मिडियाले गर्ने हो, अर्को चैं बलियो कानूनी, न्यायिक समुदायले गर्ने हो ।

अभिव्यक्ति स्वतन्त्रताको, राज्यलाई स्वतन्त्र बनाउने कुराको, विधिले चल्यो कि चलेन भन्ने कुराको यी दुईवटा प्रतिनिधि शक्तिहरु सधैं क्रियाशील भइरहे भने खबरदारी या नागरिक समाजको जग बलियो भइरहन्छ । र, यसले अन्ततः व्यवस्थालाई जवाफदेही बनाउँछ । यो क्षय हुनु हाम्रो सबैभन्दा ठूलो बिडम्बना हो ।

आज भनौं, आजको दिनसम्म पनि नेपाल बार सुतेर बसेको छ । पत्रकार महासंघ आज मात्रै उठ्यो । महासंघ तातेपछि अब बारलाई पनि लोकलाज छ, त्यो पनि तात्छ । त्यही भएर यी एजेन्सीहरू सक्रिय भइदिए भने नागरिकहरुको आन्दोलनको जग बिस्तार हुन्छ ।  त्यसले अरु राज्य प्रणालीलाई बलियो बनाउन खबरदारी गरिरहने शक्ति निर्माण गर्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।