बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

बुधबार, २८ पुस २०७८, १८ : ००
बुधबार, २८ पुस २०७८

नर्भिक इन्टरनेशनल हस्पिटलले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । पब्लिक कम्पनीमा रूपान्तरण भएको पहिलो वार्षिक साधारणसभाबाट बोनस सेयर पारित भएको हो ।आइपिओ निष्कासन तयारीमा रहेको अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरण प्रस्ताव पारित गरेको जानकारी दिएको छ ।

हाल नर्भिकको चुक्तापुँजी १५ करोड रुपैयाँ छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, साधारणसभाले हाल ३० करोडमा सीमित अधिकृत पुँजीलाई बढाएर एक अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।

नर्भिकले आर्थिक वर्ष २०७७/७८ मा आठ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ । 

थापाथलीस्थित बीएलसी बिल्डिङमा बुधबार सम्पन्न साधारणसभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिए । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएको र नर्भिकले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले जानकारी दिएका थिए । 

उनले अस्पतालमा हालै आइभीएफ सेन्टर सञ्चालनमा आएको, निकट भविष्यमै अन्तरराष्ट्रिय स्तरको स्किन सेन्टर स्थापना तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने र अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने बताए ।

कार्यक्रममा नर्भिकका संस्थापक अध्यक्ष तथा संरक्षक वसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेघा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा संचालक र सेयरधनीहरू सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप