सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’ सञ्चालनमा

आइतबार, १५ फागुन २०७८, १४ : २७
आइतबार, १५ फागुन २०७८

नेपालको आर्थिक नगरी रुपमा स्थापित पर्साको वीरगञ्ज महानगरपालिकाले, गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’ सञ्चालन गर्दै आएको छ । भारतबाट नेपाल प्रवेश गर्ने प्रवेशद्वारका रुपमा रहेको महानगरपालिकामा सञ्चालन हुँदै आएको उक्त अभियान’ले नगरवासीलाई खुसी बनाएको छ  । 

अभियानअन्तर्गत पालिकाभित्रका सबै सहरी क्षेत्रदेखि गाउँ क्षेत्रका हरेक सडकमा बिजुली बत्ती जडान गर्ने अभियानलाई निरन्तरता दिँदै आएकाले  नगरवासीमा खुसियाली छाएको हो ।  ग्रामीण भेगका विभिन्न वडालाई उज्यालो बनाउन राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा बहुवर्षीय परियोजनाका रुपमा उक्त अभियान सञ्चालन हुँदै आएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । 

एकसय ३२ दशमलव एक वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको महानगरपालिकाको ३२ वटै वडाका सबै सडक तथा गल्लीमा एलइडीलाइट र चोक–चोकमा टावरलाइट जडान भएपछि रातिको समय आवतजावतमा सहज हुनाका साथै चोरीलगायत अन्य आपराधिक गतिविधि न्यून भएको वडा नं २१ विन्दवासनी निवासी मनुकुमार यादवले  बताए ।  

अभियानले नगरवासीलाई बेलुकाको समयमा व्यापार व्यवसाय गर्न सहज भएको  व्यवसायीहरुको भनाइ छ ।  सोह्र वटा वडा नगर क्षेत्र र १६ वटा वडा ग्रामीण क्षेत्र रहेको महानगरपालिकाको सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन राष्ट्रिय योजना आयोगको ५० प्रतिशत समपूरक अनुदान प्राप्त भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डलेले जानकारी दिए । 

एलइडीलाइट जडानका लागि महानगरपालिकाले आह्वान गरेको सार्वजनिक सूचनाका आधारका टेण्डर प्रक्रिया पुर्‍याई तीन वर्षभित्र १४ हजार बत्ती जना गर्न सूर्योदय/टपसन जेभीसँग २०७५ जेठ २५ गते सम्झौता भएको उनको भनाइ थियो । 

महानगरभित्र ४० वटाको तीन हजार ९४३ वटा, ६० वटाको सात हजार २०६ वटा र १०० वटाको दुई हजार २४१ वटा एलइडिलाइट जडान गर्न २३ करोड ९६ लाख २४ हजारमा ठेक्का सम्झौता भएकामा हालसम्म ५० प्रतिशतभन्दा बढी बत्ती जडान भइसकेको अधिकृत पाण्डेले जानकारी दिए । उनले सम्पूर्ण एलइडी लाइटलाई पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने र पाँच प्रतिशत बत्ती जगेडा राख्नुपर्ने  सम्झौतामा उल्लेख भएको बताए । 

राति भएपछि गाउँगाउँमा अँध्यारोका कारण तरकारीको बिक्री बन्द गर्नुपर्ने समस्या हुँदै आएकामा टावरलाइट जडान भएपछि ती समस्या समाधान भएको पर्साको बैरिया बिर्ता निवासी राजुदिन मियाँ अन्सारीले जानकारी दिए । उनले चोकमा बत्ती नहुँदा अँध्यारोमा समान तथा नगद चोरीको समस्या हुँदै आएकामा बत्ती भएपछि अबेर रातिसम्म कारोबार हुन थालेको  छ बताए ।  

ग्रामीण क्षेत्रको चोकमा महानगरपालिकाले टावर लाइट र सडकमा एलइडीलाइट जडान गरापछि गाउँमा पनि  रौनक छाएको वडा नं २६ निवासी सिंघासनप्रसाद कुर्मीले बताए । ग्रामीण क्षेत्र उज्यालो भएपछि यस भेगमा पनि व्यापार वृद्धि भएको उनको भनाइ थियो ।  ग्रामीण क्षेत्रका १५ वटा वडामा  पनि लाइट जडानको कार्य पूरा भएको र आउने तीन महिनाभित्र बत्ती जडानको कार्य पूरा हुने ठेकेदार कम्पनीका परियोजना प्रमुख तथा इञ्जिनीयर भागिरथ दुवेले जानकारी दिए । उनले हालसम्म आठ हजारभन्दा बढी लाइट जडान भइसकेको र बाँकी रहेका लाइटलाई अब दुई महिनाभित्र पूरा गरिने  बताए । 

विद्युत् प्राधिकरणको पाँचौँ प्रसारण लाइनमा केही समस्या देखिएपछि अटो सेन्सर लाइट जडान थालिएकाले काम चाँडै पूरा हुने इञ्जिनीयर दुवेको भनाइ थियो  । उनले कोरोना सङ्क्रमणका कारण भएको लकडाउन र तारको समस्याले गर्दा निर्धारित समयमा परियोजना पुरा नभएको बताए । 

महानगरपालिकाभित्र रहेका विजुलीको पोलमा जडान गरिएको वत्ति दिनभरी बलिरहने र राज्यको धेरै उर्जा खेर गइरहेको देखेपछि ओटो सेन्सर तथा अटो कट प्रविधियुक्त वत्ति जडान गर्न थालिएको नगर प्रमुख सरावगीले जानकारी दिए । उनले वर्षौदेखि अँध्यारोमा बस्दै आएका आम नागरिकको घर अगाडीको पोलमा एलइडिड लाइट जडान भई उज्यालो भएपछि सर्वसाधारण हर्षित भएको बताए । अभियानअन्तर्गत महानगरपालिकाभित्रका सबै विद्यालय, मठमन्दिर, मस्जिदलगायत धर्मस्थलीदेखि गल्ली गल्लीलाई उज्यालो बनाइने भएको छ । एलइडी लाइट अत्याधुनिक टेक्नोलोजीको भएका कारण सात वर्षसम्म कुनै समस्या नदेखिने बताइएको छ ।  

अभियानका लागि दुई हजार जति खम्बा थपिएकाले त्यसमा एलइडी लाइट जडान गर्न महानगरपालिकाले थप दुई करोड रुपैयाँ बजेट छुट्याएको छ । विद्युत् प्रसारण लाइनको पाँचौँ तर समयमा जडान हुन नसक्दा आफूहरुको ६० देखि ७० लाख अतिरिक्त खर्च भएको नगर प्रमुख सरावगीले जानकारी दिए । विद्युत् प्राधिकरणलाई पटकपटक पत्राचार गर्दा अब बल्ल छ करोड बजेट छुट्याएर पाँचौँ तार हाल्ने तयारी भएको उनको भनाइ थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप