शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गुगलको सहारामा ६ हजार ८३६ किलोमिटरको यात्रा

‘काठमाडौँ–कन्याकुमारी यात्रा मेरा लागि लाइफटाइम अचिभमेन्ट हो’
बुधबार, २५ फागुन २०७८, ०९ : ५८
बुधबार, २५ फागुन २०७८

भनिन्छ: यात्रा नै जीवन हो र जीवन नै यात्रा । यही यात्रारूपी जीवनलाई थप स्मरणीय बनाउन जसले काठमाडौँ टु कन्याकुमारी (दक्षिण भारत) सम्म ६ हजार ८३६ किलोमिटरभन्दा लामो एड्भेञ्चर (साहसिक) यात्रा तय गरे ।
आवाशिष ओझा र विजयराज कसजु दुबैजना बैंकर हुन् । यी दुई व्यक्ति एकै पेशामा, तर फरक फरक बैंकमा नोकरी गर्छन् । तर, पछिल्लो समय यी दुबै व्यक्तिको परिचय फेरिएको छ, ‘एड्भेञ्चर बाइक राइडर्स’ । 

राइडर ओझा र कसजुले पहिलोपटक नेपालदेखि भारतको कन्याकुमारी र कन्याकुमारीदेखि काठमाडौँसम्मको लामो यात्रा पूरा गरेका छन् । त्यो पनि मोटरसाइकलमार्फत । सुन्दा विश्वास नलाग्ला, तर यो वास्तविकता हो ।
राइडर ओझा र कसजु जो अविस्मरणीय यात्राको खोजी गर्दै थिए । फेसबुक, युट्युब, इन्टा र भ्लग चहार्दा चहार्दै एउटा योजना बन्यो – ‘के टु के’ अर्थात् काठमाडौँ टु कन्याकुमारी बाइक यात्रा गर्ने । 

कसरी जाने ? कुन बाइकमा जाने ? कुनै आइडिया थिएन । यात्राका लागि कुन बाइक उपयुक्त हुन्थ्यो, त्यो पनि उनीहरूलाई जानकारी थिए । ‘अन्ततः राइडकै लागि भनेर हामीले एउटै बाइक किन्यौँ केटीएम एड्भेञ्चर २५०,’ राइडर आवाशिष ओझा बताउँछन् । तर, सिटीभित्र बाहेक राइडको कुनै अनुभव थिएन ।

योजना बनिसकेको थियो । राइडिङ्ग रुट तय गरिसकिएको थियो । पहिलो दिन काठमाडौँ टु भैरहवा, दोस्रो दिन भैरहवा टु झान्सी, तेस्रो दिन झान्सी टु धुले, पालोलिम, थालसारी, अर्नाकुलम हुँदै नवौँ दिन रामेश्वरम (कन्याकुमारी) । १० औं दिन बैङ्लोर फर्किएर, ११ औं दिन त्यहीँ बसेर १२ औ दिन निन्जामवाद, जवलपुर, भैरहवा हुँदै १५औं दिनमा काठमाडौँ आइपुग्ने । ‘बीचमा केही अपवाद बाहेक योजना अनुसार नै यात्रा पूरा भयो,’ ओझा बताउँछन् ।

‘काठमाडौँ टु कन्याकुमारी, कन्याकुमारी टु काठमाडौँ कूल ६ हजार ८३६ किलोमिटर त्यो पनि बाइकमा, साढे १४ दिनमा पूरा गर्‍यौँ । सम्भवतः यो नै नेपालको पहिलो अन्तरदेशीय बाइक यात्रा हो । मैले विभिन्न च्यानल, युट्युब भ्लगहरू हेरे । अहिलेसम्म कोही पनि यसरी बाइकमा त्यहाँसम्म पुगेको रेकर्ड भेटिनँ,’ ओझा थप्छन् ।

यस्तो रह्यो यात्रा अनुभव
‘हामीलाई अरू केही थाहा थिएन, मात्र भारतको केही ठाउँहरू थाहा थियो । गोवा, हैदरावाद, यमकुलम, केरला र नाकपुर त पहिले पनि पुगिसकेको थिएँ । मेरा लागि इन्दौर बिल्कुल नयाँ ठाउँ थियो । तर, उहाँ (कसजु) का लागि चाहिँ प्रायः सबै ठाउँहरू नयाँ थिए । बाटो पहिचानका लागि हाम्रा लागि एकमात्र सहारा गुगल म्याम थियो । हामी दुबैले आ–आफ्नो बाइकमा मोबाइल स्ट्यान्ड राखेका थियौँ, ता कि म्याप हेर्न सहज होस् । र हामीसँग एक एकवटा कन्ट्याक्ट फोन थियो । यसैको सहारामा हामी हुइँकिरहेका हुन्थ्यौँ । 

सरदर एक दिनमा ५०० किलोमिटर यात्रा गरियो । एक दिन त अधिकतम ८२० किलोमिटरसम्म यात्रा गरेको हामीसँग अनुभव छ । त्यो इलिचिपुरदेखि माइहिरसम्म १६ घण्टाको यात्रा थियो । यस्तै, १२औं दिन ब्याङ्लोरदेखि इलिचिपुर फर्किर्दै गर्दा पनि एक दिनमा ७४२ किलोमिटर राइड गरियो । बेलुकीसम्म निकै थकित भइसकेका थियौँ । 

बिहान सबेरै उठ्यो, बाइक स्टार्ट गर्यो, कुद्यो । भरे कहाँ बस्ने या खाने भन्ने ठेगान हुँदैनथ्यो । जहाँ पाइन्थ्यो–त्यहाँ बसेर खाइन्थ्यो । ४–५ घण्टा विश्राम गरेर फेरि बिहान उसैगरी कुद्थ्यौ । यसरी दौडधुममा नै हाम्रो यात्रा पूरा भयो । यसले हामीलाई के चाहिँ पाठ सिकाएको छ भने–लामो यात्रा टाइट सेडुलमा गर्नु राम्रो होइन रहेछ । यसले केही गाह्रो अनुभव पनि भयो। 

स्मरणीय किस्साहरू

यात्राको रमाइलो किस्सा, जो घरबाटै शुरू भएको थियो । त हामी पहिलोपटक त्यो पनि बाइकमा भारतको कन्याकुमारीसम्मको दूरी तय गर्दै थियौँ । घरबाट निस्कनै लाग्दा आमाले ‘नगए हुन्न र ? जानै परे प्लेनमा गए हुन्न ?’ भन्दै हुनुहुन्थ्यो । प्लेनमा त किन जान्थ्यौँ र ! 

मोटरसाइकल लिएरै निस्किइयो  आवश्यक लत्ताकपडा, बाइकको सुरक्षा कवच (चेन) सहित । त्यही त हो नि नेपाली ! कहाँ के पर्छ, खानेबस्ने सुविधा मिल्ला नमिल्ला, हल्का खानेकुरा पनि बोक्नै पर्यो । अझ भनेको ठाउँमा तेल पाइने हो कि होइन, दुई÷दुई लिटर बोटलमा तेल पनि बोकियो । तर त्यस्तो भएन, भारतको जुनकुनै ठाउँमा पनि सहजै तेल पाइने रहेछ ।

अझ रमाइलो किस्सा त के छ भने–दुईवटा उस्तै बाइक त्यो पनि रातो नम्बर प्लेटमा बागमती प्रदेश लेखिएको देख्दा भारतीयहरू छक्क पर्थे । नजिकै आएर सोध्थे, ‘भाइ कौन सा स्टेट से है ?’ मध्यप्रदेश सुना है, उत्तर प्रदेश सुना है, ऐ बागमती प्रदेश क्या है ?’ हामी ‘नेपालबाट हो’ भन्यौँ । अनि फेरि उनीहरू ‘उति टाढादेखि, त्यो पनि बाइकमा !’ भन्थे । अनौठो लागेछ क्यार ! हाम्रो नजिक आएर सेल्फी लिन्थे ।

भुल्नै नसक्ने घटना चाहिँ हैदरावादमा घट्यो । करिब ४ घण्टा बाटो पहिल्याउन नसकेर एकै ठाउँमा घुमेको घुम्यै भयौँ । एउटा हाइवे थियो: जहाँ मोटरसाइकल चलाउन निषेध थियो । त्यहाँबाट अर्को हाइवे भेट्न अर्को बाटो जानुपथ्र्यो । तर, हामी त्यहीँ घुमेको घुम्यै भयौँ । गुगल म्यामले पनि त्यही एउटै बाटो देखाइरह्यो । पछि एउटा ट्रक ड्राइभरलाई सोधेपछि उसले राम्रो आइडिया दियो, ‘तपाईंहरू एउटा गाउँमा जानुहोस् र त्यहाँबाट फेरि गुगल म्याम गर्नुस् । त्यहाँबाट अर्को हाइवे देखाउँछ ।’ त्यसै गरौँ र मुक्ति पायौँ । 

सिकेको पाठ
यात्रामा निस्किएपछि त्यसको तयारी पूर्णतः गर्नुपर्ने रहेछ । कहाँ जाने ? कहाँ बस्ने र कति समय व्यतित गर्ने ? टाइट सेडुलमा कुद्दा धेरै थकित होइने रहेछ । राम्रोसँग घुम्न र अनुभव गर्न पनि नपाइने रहेछ । 

अर्को कुरा: ठाउँ अनुसार बाठो हुन नसक्दा वा वास्तविकता बताउँदा पनि ठगिइने रहेछ । जुन केही ठाउँहरूमा भोग्नुपर्यो । केही ठाउँहरूमा भारतीयहरूले हामीले चढेको केटीएम बाइकको नेपालमा मूल्य कति पर्छ ? भनेर सोध्ये । सीधा जवाफ: हामीले ६–८ लाख पर्छ भन्यौँ । तर, उनीहरूलाई यो धेरै लाग्यो । किनकी भारतमा त यही बाइक १–२ लाख भारुमै पाइन्छ । यसले हामीहरूसँग धेरै पैसा छ भन्ने लागेछ, त्यसपछि खान र बस्न बढी मूल्य तिर्नुपर्यो । थाहा छ हामी ठगिँदैछौँ । तर, केही गर्न या भन्न सकिएन । यसले गतिलो पाठ सिकाएको छ ।

यात्रा अनुभूति
हिम्मत नै ठूलो कुरा हो जस्तो लाग्छ । आँटियो भने नसकिने होइन । जीवनका धेरै आयामहरू हुन्छन् जुन मरेर गएपछि सबै छाडेर गइन्छ । तर, सँगै लाने भनेको अनुभव वा स्मरणमात्रै हो । त्यसैले यस्तो अविस्मरणीय यात्रा सबैले गर्नुपर्छ जस्तो हामीलाई लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप