शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘सपुतजी, ‘पीर’माथि हाम्रो चिन्ता होइन, प्रश्न आत्म स्वाभिमानको हो’

शुक्रबार, ०४ चैत २०७८, १२ : २५
शुक्रबार, ०४ चैत २०७८

कला कलाको लागि या कला जीवनको लागि, यस विषय माथिको बहस निरन्तर चलिरहेको छ र चलिरहने छ । कला केवल कलाका लागि ठान्नेहरु कलाबाट आनन्द र मनोरञ्जन मात्र चाहन्छन् । स्रष्टाद्वारा सिर्जित कला सस्तो लोकप्रियताका लागि होस् वा क्षणिक मनोरञ्जनका लागि केवल त्यसले मानिसलाई आनन्द प्रदान गरे हुन्छ । ती कला साहित्यले समाजलाई कस्तो सन्देश दिन्छ ? मानिसमा कस्तो मनोदशा र मनोविज्ञान पैदा गर्छ ? मानिसको जीवनमा आशा जगाउँछ या निराशा ? यसबारे कला कलाको लागि भन्नेहरुलाई कुनै चासो चिन्ता हुँदैन । उनीहरुलाई केवल कला र साहित्यबाट मनोरञ्जन र आनन्द पाए हुन्छ ।

तर कला जीवनका लागि भन्नेहरु कला वा साहित्यबाट आनन्दानुभूति मात्रै होइन, त्यसले समाजलाई रुपान्तरण गर्नुका साथै मानिसहरुमा जीवनप्रति आशा र विश्वास जगाओस् भन्ने चाहन्छन् । ती कला साहित्यले मानिसहरुलाई व्यूझाउँछन्, चेतना प्रदान गर्छन्, जागरुक बनाउँछन्, सत्य र वास्तविक धरातलमा उभिएर अन्याय र अत्याचार विरुद्ध संगठित हुन सिकाउँछन् । र, कला सस्तो मनोरञ्जनका लागि नभई जीवनको लागि भन्ने पाठ सिकाउँछन् ।

वर्गीय समाजमा कला साहित्य पनि वर्गीय नै हुने गर्दछ । हामी बाँचिरहेको समाज वर्गीय समाज हो । कार्लमार्क्स भन्छन्, समाजको व्याख्या सबैले गर्छन्, मुख्य कुरा त्यसलाई बदल्नु हो । कला कलाका लागि भन्ने स्रष्टाहरुले केवल समाजको व्याख्या मात्र गर्छन्, जीवनका आँसु (हाँसो, सुख–दुख, घाम–छाँया, उकाली–ओरालीलाई सुन्दर ढंगले व्यक्त गर्छन् । तर, त्यस दुःख पीडाबाट मुक्तिका उपाय र जीवन बदल्ने सूत्र बताउँदैन्, जीवन र जगतप्रति उज्यालो दियो सल्काउँदैनन्, आशा र विश्वास जगाउँदैनन् । केवल निभेको विश्वास र टुटेको सपना छाडेर जान्छन् । अन्तमा त्यसको परिणाम निराशा र आत्महत्या हुन्छ । त्यसैले यस्ता खाले कला साहित्यले समाज र मानिसको जीवनलाई वदल्न सक्दैन । केवल व्याख्या मात्र गर्छ र बदलामा जीवनप्रतिको निस्सारता वा निराशा छाडेर जान्छ ।

कला, साहित्य समाजको दर्पण हो । मानिसले भोगेका भोगाईलाई कथा, कविता, गीत, संगीतमा सिर्जना गर्नु साहित्यकारहरुको नवीन सिर्जना हो । प्रकाश सपुतको हालै ‘पीर’ नामक् गीतको भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा प्रस्तुत शब्द, संगीत र गायकी राम्रो छ । भिडियोको कथावस्तुमा माओवादी जनयुद्धका छापामार जसले युद्धका क्रममा वीरतापूर्वक लडे, शान्ति प्रक्रियापछि यहाँसम्म आइपुग्दा उनीहरुका जिन्दगीका कैयौं मीठा सपनाहरु टुटे । नेतृत्वले देखाएका आशा र विश्वासहरु पूरा हुन सकेनन् । युद्धको समयमा उनीहरुको जति सम्मान र मूल्य थियो, शान्ति प्रक्रियापछि अवमूल्यन भयो । नेतृत्वबाट कार्यकर्ताको रक्षा हुन सकेन । अनि, विस्तारै कार्यकर्ताहरु तितरवितर भए । जीविकोपार्जनका लागि जनमुक्ति सेनाका लडाकुहरु विदेश पसे । यताउता भौतारिदै काम र मामको खोजीमा रन्थनिए । यहाँ सम्मको कथा वस्तुमा वास्तविकता र यथार्थसँग मेल खाएको छ । हिजो जनयुद्धको समयमा जीवन मरणको दोसाँधमा उभिएर युद्धको मोर्चा सम्हालेका छापामारहरु (जनमुक्ति सेना) ले शान्ति प्रक्रियापछि दुःख पाएका छन् । यो कटु यथार्थ हो ।

नेतृत्व पंक्तिले कार्यकर्ताहरुको राम्ररी व्यवस्थापन गर्न नसक्दा रोजीरोटीका लागि हजारौं विदेशिएका छन् । उनीहरु श्रम र पसिना बेच्न विवश छन् । यी घटनाहरु सत्य हुन् र गीतको भिडियोमा देखिएका यी दृश्यहरु जीवन्त छन् । तर भिडियोमा प्रस्तुत भएका यस पछिका दृश्यहरु अलिकति अनुचित, अलिकति अप्ठेरो र अलिकति अस्वाभाविक छन् । दृश्यमा यौनकर्मी पनि लडाकु र त्यसलाई भोग्न जाने पनि लडाकु नै देखाइएको छ । प्रश्न यही दृश्य माथिको हो । अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा आफ्नो कुरा भन्न पाइन्छ । देखेका, भोगेका र अनुभव गरेका कुरालाई साहित्य सिर्जनामा उतार्न पाइन्छ तर स्वतन्त्रता भनेको अनुशासन पनि हो । त्यसलाई विवेक भने पनि हुन्छ । स्रष्टाहरुले त्यसलाई सम्मान गर्नु पर्दछ ।

लडाकुहरुले बाँच्नका लागि देहव्यापार गरेको दृश्यमा स्रष्टा प्रकाश सपुतले विवेक पुर्याएको देखिएन । हाम्रो विमति र प्रश्न यही दृश्यमाथि हो । जनयुद्धको समयमा फलामे अनुशासनमा बाँधिएका यौद्धाहरु स्वाभिमान गिराएर यौनकर्ममा लागेका छैनन् । उनीहरुले जतिसुकै दुःख पाएपनि बाँच्नका लागि शरीर बेचेका (घृणित यौनकर्ममा लागेका) छैनन् । तसर्थ सर्जकले गणतन्त्र स्थापनाका लागि ज्यानको बाजी थापेर लडेका यौद्धाहरुलाई बेश्यावृति गर्न लगाइएको दृश्य अशोभनीय छ, निन्दनीय छ । यसले जनयुद्धका सहिद वेपत्ता, घाइते, अपाङ्ग, लडाकु यौद्धाहरुको स्वाभिमानमा चोट लागेको छ । आत्मसम्मानमा ठेस पुगेको  छ ।

नाटकले दिने सन्देश पनि निराशावादी र पलायनवादी छ । सपुतजी, तपाईं जस्ता स्रस्टाहरुले आफ्ना सिर्जनाहरुमार्फत् विकृति र विसंगतिको यथार्थ चित्रण गर्दै युवापुस्तामा आशा, भरोसा र विश्वास जगाउनुपर्ने हो । तर भिडियोको अन्त्य अत्यन्त निराशावादी छ । त्यसले दिने सन्देश भनेको निराशा र पलायन नै हो । त्यसैले पीर गीति भिडियो केवल कला कलाको लागि मात्र भएको छ । यसले आनन्द र मनोरञ्जन त प्रदान गर्ला तर मानिसको स्वाभिमानपूर्वक बाँच्ने आत्मगौरव निमोठिएको छ र बाँच्नका लागि श्रम र पसिना बगाउनु भन्दा शरीर बेच्नु (देह व्यापार गर्नु) ठीक छ भन्ने सन्देश प्रवाह भएको छ ।

अन्तमा, जुन उत्साहका साथ यो भिडियो सार्वजनिक गर्नु भयो, यो भिडियो सबैले मन पराइदेलान्, वाहवाही र तारिफ पाइएला, गौरव र आत्मसम्मान पाइएला भन्ने अपेक्षासहित आत्मगौरव गर्नुभएको छ । तपाईं जति स्वाभिमान र गौरवपूर्वक बाँच्न चाहनु हुन्छ, हामीलाई पनि त्यतिकै स्वाभिमानपूर्वक बाँच्ने अधिकार छ । हामी हिजो नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धका क्रममा सशस्त्र युद्धमा सहभागी भएका लडाकुहरुलाई युद्ध लडेकामा कुनै पश्चाताप छैन, बरु आत्मगौरव बढेको छ । हाम्रो स्वाभिमानको छाती सगरमाथा जतिकै उच्च भएको छ । हाम्रो त्याग, तपस्या र योगदानले गणतन्त्र स्थापनामा सहयोग पुगेको छ ।

हिजो आवाज नभएकाहरुलाई आवाज भरिदिएकोमा, चेतनाको बीउ छरेर गाउँवस्तीलाई व्यूँझाएकोमा, अधिकारका बारेमा बोल्न सिकाएकोमा हामीलाई गर्व लागेको छ । जनमुक्ति सेनाका लडाकुहरुको गर्जन र उत्पीडित जनताको संघर्षले नै निरंकुशतालाई घँुडा टेकाएको हो । त्यसैले परिवर्तनका यौद्धाहरुमाथि गलत सन्देश जाने यस दृश्यमा पक्कै आत्मसमीक्षा गर्नुहुनेछ, परिष्कृत र परिमार्जन गरी सकारात्मक सन्देश प्रवाह गर्नुहुनेछ । तर निर्णय तपाईंकै हो, तपाईंको जीवन तपाईंले बाँच्ने हो, हाम्रो जीवन हामीले बाँच्ने हो । प्रकाश सपुतजी, ‘पीर’ माथि हाम्रो चिन्ता होइन, प्रश्न आत्म स्वाभिमानको हो । त्यसैले भन्छौं, कला कलाको लागि होइन, कला जीवनको लागि हुनुपर्छ ।

रमेश थापा मगर शहिद लखन गाउँपालिकाका अध्यक्ष हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप