शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सन्दीपको कप्तानीमा नेपाल : हिट कि फ्लप ?

बुधबार, ०९ चैत २०७८, १३ : १८
बुधबार, ०९ चैत २०७८

कप्तान पारस खड्का । यो आवाज नेपाली क्रिकेट समर्थकहरूमाझ अझै गुन्जिन्छ । यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए । 

एक दशक नेपाली टोलीको कप्तानी सम्हालेका पारसले सन् २०१९ अक्टोबर १५ मा नेपाली टोलीको कप्तानबाट राजीनामा दिए । नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनबाट फुकुवा भएर नयाँ कार्यसमिति आएको भोलिपल्ट नै पारसले राजीनामा दिँदा केही चर्चाको विषय पनि बनेको थियो । 

पारसको राजीनामापछि नेपाली टोलीको कप्तान को बन्ने भन्ने विषयमा चर्चा भयो । त्यसपछि क्यानले २०७६ कार्तिक १३ गते ज्ञानेन्द्र मल्ललाई नयाँ कप्तानको जिम्मेवारी दियो । ज्ञानेन्द्रको कप्तानीमा नेपाली क्रिकेटले केही नयाँ मोड लिने अपेक्षा गरिरहेकै समयमा गत साउन १९ गते पारसले नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरे ।

उता ज्ञानेन्द्र राम्रोसँग कप्तानको सफलता चाख्न नपाउँदै क्यानसँग विवादमा मुछिए । खेलाडीहरूको वर्गीकरणको विषयलाई लिएर मिडियामा बोल्दा क्यानले स्पष्टीकरण सोध्यो । दुई पटक सोधेको स्पष्टीकरण चित्त नबुझ्दो आएको भन्दै क्यानले कप्तान मल्ल सहित चार खेलाडीलाई कारबाही गर्‍यो ।

मल्लसहित दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेपछि गत मङ्सिर २९ गते क्यानले सन्दीपलाई नयाँ कप्तानको रूपमा जिम्मेवारी दियो । नेपाली टोलीको १०औँ कप्तानको रूपमा आएका सन्दीपको अगाडि धेरै चुनौतीहरू थिए । तर युवा उमेरमा नै नेपाली टोली सम्हाल्ने मौका पाएका सन्दीपका लागि अवसरहरू पनि त्यतिकै थिए । 

सन्दीपले कप्तान जिम्मेवारी पाउँदा नेपाली क्रिकेट र समर्थकका लागि खुसीको कुरा नै थियो । अनुभवको कुरा पनि नचलेको भने होइन । सन्दीप जति खेलाडीको रूपमा परिपक्व छन् त्यति कप्तानीको रूपमा परिपक्व हुन भने केही समय अझै लाग्नेछ । 

राष्ट्रिय टोलीको कप्तानी सम्हाल्नु पूर्व सन्दीपले तीन घरेलु प्रतियोगितामा कप्तानी गरेका थिए । पोखरा प्रिमियर लिग (पीपीएल)–विराटनगर, एभरेष्ट प्रिमियर लिग (ईपीएल) काठमाडौँ किङ्स–११ र काठमाडौँ मेयर्स–११ बाट कप्तानी गरेका थिए । 

सन्दीपको नयाँ यात्राको पहिलो परीक्षा थियो, आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत ग्लोबल छनोट ।  त्यसअघि नेपालका लागि सन्दीपले नेपाल, ओमान, यूएई र आयरल्यान्डबीचको चार देशीय टी–ट्वान्टी सिरिजमा कप्तानको रूपमा डेब्यू गरे । पहिलो खेलमा नेपालले ६ विकेटले ओमानलाई हरायो । तर सिरिजका तीन खेलमा नेपालले एक खेल मात्र जित्न सक्यो । यूएई र आयरल्यान्डसँग नेपाल पराजित भयो ।

सन्दीपका लागि उक्त सिरिज त्यति महत्व थिएन जति नेपाललाई विश्वकप खेलाउने कुरामा थियो । टी–ट्वान्टी क्रिकेटको ग्लोबल छनोटमा भने सन्दीपले गज्जबको सुरुवात गरे । पहिलो खेलमा ओमानलाई ३९ रने हारएको नेपाल सन्दीपको कप्तानीमा आशावादी बन्यो । त्यसपछि लगातार दुई खेलमा नेपाल सहज जित निकाल्न सफल भयो । फिलिपिन्सलाई १३६ रनले हराएको नेपाले क्यानडालाई ८ विकेटले हराउन सफल भयो । 

क्यानडासँगको जितपछि सन्दीपले नेपालाई विश्वकप खेलाउन एक कदम मात्र बाँकी थियो । तर, युवा कप्तान सन्दीपले उक्त अवसर सदुपयोग गर्न सकेनन् । टी–ट्वान्टी विश्वकप खेल्न यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपाललाई जित आवश्यक थियो । सोही खेलमा नेपालले फराकिलो हार व्यहोर्नु पर्‍यो ।

सम्पूर्ण नेपाली समर्थकहरूको मनमा चोट पुग्यो । यता आफ्नो कप्तानीमा नेपाललाई टी–ट्वान्टी विश्वकप खेलाउने अवसरबाट चुकेका सन्दीपले सबैमाझ माफी मागे । कप्तानीको पहिलो सुनौलो अवसर सन्दीपले चुम्न पाएनन् । सन्दीपको कप्तानीमा समर्थकले विरोध जनाए । कम अनुभवमा ठूलो खेल खेल्दा नतिजा यस्तै आउने भन्दै उनमाथि नकारात्मक टिप्पणी आयो । ग्लोबल छनोटको अन्तिम खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै छनोटको अन्त्य गर्‍यो । 

त्यसपछि नेपाले सन्दीपको कप्तानीमा आईसीसी विश्वकप क्रिकेट लिग टूमा यूएईको भ्रमण गर्‍यो । उक्त सिरिजमा पनि नेपाल यूएईमाथि कमजोर साबित भयो । एकदिवसीय क्रिकेटमा आफ्नो कप्तानीमा सन्दीपले सुखद सुरुवात गरे । नेपाल, पपुवा न्युगिनी (पीएनजी) बीच भएको सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराउँदै सिरिजको सुखद सुरुवात गर्‍यो । 

तर, त्यसपछिका दुई खेलमा नेपाल कमजोर बन्यो । लगातार यूएईसँगको पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ९९ रनले पराजित भयो । तर, सिरिजको अन्त्य भने पीएनजीमाथि ७ विकेटको जितबाट गर्‍यो । 

समग्रमा सन्दीपको कप्तानीमा नेपालले आईसीसीले मान्यता दिएका टी–ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीयका ११ खेल खेलेको छ । जसमा नेपालले ६ खेलमा जित निकालेको छ भने नेपाल पाँच खेलमा पराजित भएको छ । जितका हिसाबमा सन्दीप सफल नै देखिएका छन् । तर, उनी महत्त्वपूर्ण खेलमा जित दिलाउन भने चुकेका छन् । 

खेलमा कप्तानमात्र नभएर अन्य खेलाडीहरू पनि त्यतिकै जिम्मेवार हुन जरुरी छ । नेपालले हारेका धेरै खेल खराब ब्याटिङले हो । खराब ब्याटिङ सुधार गर्ने जिम्मेवारी सन्दीपको मात्र होइन । त्यसको जिम्मेवारी मुख्य प्रशिक्षक पुबुदु दशानायकेको पनि हो । 

टिमको कमजोर प्रदर्शन कसरी सुधार गर्ने र टिममा नयाँपन कसरी ल्याउने भन्ने उनकै हातमा छ । तर, मैदान भित्र टिमलाई कसरी परिचालन गर्ने कस्तो अवस्थामा कुन खेलाडीलाई बलिङ गराउने कस्तो अवस्थामा कुन फिल्डिङ कता राख्ने यो सबै जिम्मेवारी कप्तानको नै हुन्छ । अन्तर्राष्ट्रिय लिगसँगै नेपाली क्रिकेटमा भरपर्दा खेलाडी मानिएका सन्दीपको कप्तानीमा नेपालले सफलता पाउनेमा सकारात्मक लक्षणहरू देखिएका छन् । तर, यसका लागि सबै खेलाडी प्रशिक्षक र क्यानले दीर्घकालीन रणनीतिका साथ अघि बढ्न जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप