शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले तय गर्‍यो तालमेलका आधार र मापदण्ड

मङ्गलबार, २९ चैत २०७८, २२ : ००
मङ्गलबार, २९ चैत २०७८

पाँच दलीय सत्तारुढ गठबन्धनले स्थानीय तहमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनभित्र मात्रै तालमेल गर्ने र अन्य दलहरूसँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले चुनावी तालमेलका आधार पनि तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु टुंगो लगाएको छ ।

गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू
१. २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।
२. २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार ।
३. २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी ।
४. २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरूले प्रमुख पदमा पाएको मत
५. एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रूपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रूपमा स्वीकार गर्ने ।
६. सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरूको सङ्गठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
७. गठबन्धनमा रहेका दलहरूबीचमा चुनावी तालमेल गर्न पाउने ।

मापदण्ड  :
१. महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
२. नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
३. सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई प्रतिनिधि रहने ।
५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।
६. सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप