शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
काठमाडौँमा तार व्यवस्थापन

तार भूमिगतको विषयलाई लिएर काठमाडौँ महानगर र विद्युत् प्राधिकरण आमने सामने

महानगर भन्छ– सडक अलपत्र पारियो, प्राधिकरण भन्छ – भूमिगतको काम रोकियो
शनिबार, २२ वैशाख २०८१, १६ : ०३
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । तार भूमिगतको विषयलाई लिएर काठमाडौँ महानगरपालिका र विद्युत् प्राधिकरण आमने सामने भएका छन् । तार भूमिगत परियोजनाले सडकमा जथाभाबी खाल्डा खनेर बेवारिसे पारेको भन्दै दुई निकाय आमनेसामने भएका हुन् । विद्युत् प्राधिकरणले भारतीय ठेकेदारमार्फत काठमाडौँ उपत्यकामा विद्युतको तार भूमिगतको काम गर्दै आएको छ ।

यही विषयमा महानगरपालिकाको महानगर प्रहरी र प्राधिकरणबिच विवाद चुलिँदो अवस्थामा छ । महानगर प्रहरीको टोलीले तार भूमिगत गर्ने ठेक्का पाएको कम्पनीका कामदार धरपकड गरेपछि काम रोकिएको बताएको छ । यस्तै महानगर प्रहरीले भने प्राधिकरण मातहत भइरहेको तार भूमिगत आयोजनाले सडकमा जथाभाबी खाल्डा खनेर अलपत्र पारेको आरोप लगाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महानगरले धमाधम कामदार पक्राउ गरेपछि भारतीय ठेकेदार कम्पनीले तार भूमिगतको काम रोकेको छ । प्राधिकरणका अनुसार महानगर प्रहरीले पछिल्लो साता दिनयता तार भूमिगत गर्ने ठेक्का पाएको कम्पनीका कामदारलाई सम्बन्धित स्थलबाटै पक्राउ गर्दै लैजाने गरेको छ । सडकमा धुलो उडाएको र देखिने गरी काम भइरहेको सङ्केत नराख्ने लगायत कारण देखाउँदै महानगर प्रहरीले कामदार पक्राउ गर्दै आइरहेको छ ।

कामदारलाई पक्राउ गर्दै जरिवाना तिराएर छाड्ने गर्न थालेपछि आजदेखि ठेकेदार कम्पनीले काम रोकेको प्राधिकरणका आयोजना प्रतिनिधि तारा प्रधानले बताए । उनले भने, ‘काम भइरहेको जानकारी दिने सङ्केत राम्रोसँग नराखेमा प्रक्रिया अघि बढाउँदा फरक पर्दैन । तर धुलो उडेको भन्दै कामदार समात्न थालेपछि समन्वयको प्रक्रिया अघि बढाएका छौँ ।’

ठेकेदार कम्पनीले पनि कानुनी व्यवस्था मान्नुपर्नेमा दुई मत नरहेको प्राधिकरणको भनाई छ । तर, सुख्खा याममा भइरहेको निर्माणस्थलबाट धुलो उड्यो भन्नु उचित भएन । वर्षायाम अघि नै काम नसकिएमा लामो समय रोकिन्छ । वर्षा सुरु भएपछि तार भूमिगतको काम रोक्नुपर्ने प्रधान बताउँछन् ।

सोही कारण, वर्षायाम सुरु हुनुअघि नै काम सक्नेगरी लक्ष्य भइरहे पनि महानगरको धरपकडका कारण ठेकेदार कम्पनीले काम रोकेको प्रधानले बताए । ‘फकाएर हिजो शुक्रबारदेखि काममा फर्काएका थियौँ,’ प्रधानले रातोपाटीसँग भने, ‘फेरि हिजो नै महानगरले कामदार समातेछ । फेरि काम रोकेका छन् ।’ उनका अनुसार आज मुस्किलले एकाध ठाउँमा काम भइरहेको हुनसक्ने समेत बताए ।

यता महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने प्राधिकरण मातहतको आयोजनाले सडकमा जथाभावी खाल्डा खनेर बेवारिसे छाड्ने गरेको आरोप लगाए । रातोपाटीसँगको कुराकानीमा भने, ‘प्राधिकरण, मेलम्ची खानेपानी आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जथाभाबी सडक खन्दै अलपत्र पार्दै आएका छन् ।’ यी निकायले सडकमा खाल्डा खनेर त्यसै छाड्ने, धुलो उडाउने, व्यवस्थित ढङ्गले परियोजनाको काम नगर्ने गरेको पाण्डेको भनाई छ ।

‘जथाभाबी खाल्डाखुल्डी खन्ने, सडक भत्काएर धुलो उडाउने गरेको जनगुनासो बढ्दो छ,’ पाण्डेले थपे, ‘यी तीन निकायले सडकलाई भद्रगोल पारेका छन् ।’ सोही कारण तीनै निकाय मातहत सञ्चालित आयोजनाका कामदारलाई नियन्त्रणमा लिँदै जरिवाना गरिरहेका छौँ । साथै सबै निकायका इन्जिनियरलाई छलफलमा समेत बोलाइरहेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप