शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘राखेपलाई नै चुनौती दिएर खेलकुद प्रतियोगिता गर्ने आँट गर्‍यौँ’

शुक्रबार, १६ वैशाख २०७९, २२ : ५५
शुक्रबार, १६ वैशाख २०७९

सरकारले सबै प्रदेशमा खेलकुदको विकासका लागि भनेर प्रदेश खेलकुद विकास परिषद् स्थापना गरेको छ । पछिल्लो तीन वर्षमा प्रदेश स्तरमा पनि खेलकुदले केही मूर्त रुप लिन परिषद्को राम्रो भूमिका रह्यो । तर परिषद् स्थापना भएको सबै प्रदेशमा खेलकुदले राम्रो रुप लिन सकेको छैन । बजेट अभाव र भौतिक पूर्वाधारको कमीले प्रदेश खेलकुद विकास परिषद्ले सोचेअनुरुप विकासको मोड लिन नसकेको सदस्य–सचिवहरु बताउँछन् ।

तर, प्रदेश खेलकुद परिषद् वागमती प्रदेशको हकमा बेग्लै छ । नीति निर्माणदेखि लिएर खेलकुद प्रतियोगिताका हिसावले वाग्मती प्रदेश अग्रस्थानमा रह्यो । बागमती प्रदेशको खेलकुदका सदस्य–सचिव सूर्यलाल भण्डारीका अनुसार पछिल्लो समय वाग्मती प्रदेशले खेलकुदमा लिएको गतिले प्रदेशको खेलकुद विकासमा ठूलो योगदान पुगेको छ । प्रस्तुत छ, रातोपाटीले सदस्य–सचिव भण्डारीसँग गरेको कुराकानी :

बागमती प्रदेश खेलकुदको अहिलेको अवस्था कस्तो छ ?

अहिले पछिल्लो समय केही सुस्त छ खेलकुदको गतिविधि । मौसमका हिसावले पनि खेलकुद गतिविधि कम भएको हो । तीन वर्षदेखि कोरोना महामारीले समग्र खेलकुदलाई असर गरे पनि अहिले प्रदेशदेखि जिल्ला स्तरमा खेलकुदले मूर्त रुप लिन थालेको छ ।

तपाईं प्रदेश अन्तर्गतको पहिलो सदस्य–सचिव, खेलकुद विकासका लागि अन्य प्रदेशभन्दा फरक हुनु पर्ने होइन ?

पक्कै पनि हामी अरु प्रदेशभन्दा अग्रस्थानमा नै छौं । कानुन बनाउनेदेखि परिषद् गठन गर्नेमा समेत हामी पहिलो भयौं । नीति कार्यक्रम बजेटको हिसावले पनि हामी पहिलो छौं ।

परिषद् स्थापना भएको पहिलो वर्षजस्तै हामी अघि बढ्न पाएको भए प्रदेशमा खेलकुदको अवस्था धेरै माथि हुन्थ्यो । कोरोनाको प्रभावको बावजुद पनि हामीले जुन किसिमका खेलकुद प्रतियोगिता गर्न सफल भयौं, सुरुवातदेखि नै अलि राम्रो गरेका छौं ।

अन्य प्रदेशभन्दा धेरै बजेट छ, कसरी कार्यान्वयन गर्नु भएको छ ?

हामीले दुई वटा पोलमा योजना बनायौं । भौतिक पूर्वाधारको विकासका लागि एउटा पोल खडा गर्यौ भने अर्काेतर्फ जनशक्ति विकासका लागि योजना बनायौं । भौतिक पूर्वाधारमा प्रत्येक पालिकामा पालिकास्तरीय खेलकुद मैदान निर्माण, प्रदेश निर्वाचन क्षेत्रमा कभर्ड हल र प्रत्येक जिल्लामा रंगशाला अनि प्रदेश स्तरमा अन्तर्राष्ट्रिय स्तरको संरचना निर्माण गर्ने हिसावले हामी लाग्यौं ।

जनशक्तितिर राम्रो रेफ्री, प्रशिक्षक र खेलाडी उत्पादन गर्नेतिर लाग्यौं । तीनवटै जनशक्ति राम्रो उत्पादन भयो भने खेलकुदमा विकास हुन सम्भव छ । यो सबै योजना अघि सारेका थियौं । केही कार्यान्वयनमा आएका छन्, केही बाँकी छन् ।

अपेक्षाअनुसार काम गर्न सकिएको छ त ?

सकिएको छैन, त्यो सहज पनि छैन । नयाँ संरचना भएकाले कानुन निर्माण गर्दै काम गर्नुपर्ने भएकाले अपेक्षा गरिए अनुसारको काम गर्न सकिने अवस्था आएन । अर्काे नयाँ संरचनामा नयाँलाई अभ्यस्त बनाउँदै लैजानुपर्ने भएकाले सहज थिएन । एउटा नयाँ अनुभव भयो । नयाँ व्यवस्था बनाउन सबैलाई अवसर पनि हुँदैन । चुनौती पनि सँगसँगै भयो ।

केन्द्रले नवौं खेलकुद गर्न असहज मानिरहेको समयमा तपाईंले प्रदेश खेलकुद गर्नु भयो । सहजता–असहजता कस्तो थियो ?

भौतिक संरचना र बजेटको हिसाबले केन्द्रलाई समयमै खेलकुद गर्न सक्ने अवस्था थियो, सहज पनि थियो । बरु असहज त प्रदेशलाई थियो । नयाँ भौतिक संरचना, नयाँ मोडबाट जानुपर्ने अवस्था थियो । खेलाडीहरुको व्यवस्थापन पनि सहज थिएन । पहिलो सिकाइका रुपमा हामीले प्रदेश खेलकुदलाई लिएका छौं । अब आगामी वर्षहरुमा भने सहज हुनेछ ।

प्रदेश खेलकुदमा आठ खेल मात्र राख्नुको उद्देश्य के हो ?

प्रदेश खेलकुद विकास परिषद्को लागि यो पहिलो थियो । बजेट अभाव र भौतिक संरचनाले धान्न नसक्ने अवस्था भएकाले सम्भव भएन । तर, पहिलो प्रयास सफलतापूर्वक सम्पन्न भएकाले हामीलाई आगामी वर्षहरुमा खेलकुद प्रतियोगिता गर्न सहज हुनेछ । प्रदेश सरकारबाट पनि धेरै बजेटको अपेक्षा गरिएको छ । यही प्रतियोगिताले गर्दा हामीलाई नवौं खेलकुदमा पनि सहज भएको छ ।

नवौं खेलकुदका लागि बसेको समन्वय समितिको बैठकमा तयारीको लागि कमै समय भएपनि खुलेर समर्थन गर्नु भयो, कारण के हो ?

कोरोनाले गर्दा खेलकुद प्रतियोगिता यसै ठप्प भएको थियो । खेलकुदलाई चलायमान बनाउन पनि नवौं खेलकुद आवश्यक थियो । तयारीका लागि कम समय भएको होइन । खेलाडी छनोटको विषय १२ घण्टासम्म गर्दा र कर्मचारीहरुले १८ घण्टा काम गर्ने इच्छाशक्ति देखाए भने सहज छ । समर्थन मैले मात्र होइन, सबैले गर्ने कुरा हो । मैले अलि धेरै गरेको थिएँ, त्यति हो ।

अन्य प्रदेशले वागमती प्रदेश बराबरी गर्न किन सकेनन् जस्तो लाग्छ ?

मुख्य कुरा इच्छाशक्तिको हो । सबैलाई समान काम गर्ने अधिकार छ । बजेटको कुरा आउँछ । बजेट त प्रदेश सरकार र स्थानीय निकायसँग माग्न सक्ने अवस्था होला नि । मेरो प्रदेशमा बजेटको हिसावले सहज छ । प्रदेश सरकारले खेलकुदलाई प्राथमिकता दिएको छ । कार्यक्रम लिएर बजेट माग्न जाँदा सबै सकरात्मक हुनुहुन्छ । यो सबै प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवको हातमा हुन्छ । मात्र कति मिहिनेत गर्ने भन्ने हो ।

प्रदेश खेलकुद विकास परिषद्को भूमिका के के छ ?

प्रदेश खेलकुद विकास परिषद्को भूमिका सम्बन्धित प्रदेशको खेलकुद विकासमा जोडिएको हुन्छ । राज्य र खेलकुदका लागि पुलको माध्यम प्रदेश खेलकुद परिषद्ले निभाउँछ । प्रदेशमा नयाँ भौतिक संरचना स्थापनामा पनि प्रदेश खेलकुद परिषद्को हातमा हुन्छ । प्रदेश सरकारलाई सक्रिय बनाएर खेलकुदको माहोल सकरात्मक बनाउने पनि यसैको हात हुन्छ ।

नीति निर्माण गरेर सकारात्मक हिसावले जान सकियो भने प्रदेशमा खेलकुदको विकास गर्ने मुख्य निकाय नै प्रदेश खेलकुद विकास परिषद् हो ।

खेलकुदलाई विकेन्द्रीकरण गर्न कति सहज रहेछ ?

राजधानी केन्द्रित खेलकुदलाई विकेन्द्रीकरण गर्न सहज छैन । बजेटदेखि लिएर भौतिक पूर्वाधारको कुरा पनि आउँछ । तर, आँट गर्दा नसकिने भन्ने पनि होइन । हामीले पहिलो प्रदेश खेलकुद गर्दा यति सहज होला भन्ने लागेको थिएन । राखेपलाई नै चुनौती दिएर खेलकुद प्रतियोगिता गर्ने आँट गर्यौं ।

नवौं खेलको तयारी र अपेक्षा के छ ?

यसमा हामी ३० खेलको मात्र खेलाडी छनोट गर्नेछौं । आठ खेलको छनोट हामीले पहिले नै गरिसकेका छौ । नवौं खेलकुदमा हाम्रो लक्ष्य भनेको सबै खेलमा प्रथम हुने हो । विभागीय टोलीले मात्र राम्रो गर्न सक्छन् भन्ने कुरा हामी उल्टाउने योजनामा छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप