शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिकाले अलैंचीमा लगायो कर: किसान भए निराश

मङ्गलबार, १९ मङ्सिर २०७४, ०८ : ०६
मङ्गलबार, १९ मङ्सिर २०७४

लमजुङ - लमजुङको मस्र्याङ्दी गाउँपालिकाले अलैंची निकासीमा कर लगाउन सुरु गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले अलैंची निकासीमा कर लगाउने निर्णय गरेको हो । 

यसअघि जिल्ला समन्वय समितिले लगाउदैँ आएको कर स्थानीय निकायले पनि लगाउन थालेका छन् । समन्वय समितिले अलैंची निकासीमा प्रतिकेजी पाँच रुपियाँ कर लिने गरेको थियो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रति केजी पाँच रुपैयाँ निकासी कर लागु गरिएको रातोपाटीलाई जानकारी दिए । 

थप २० योजना 
गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माका अनुसार गाउँसभाले कृषि शाखा तर्फ ३९ लाख ६९ हजार, पशु शाखातर्फ ५२ लाख ५ हजार, महिला बिकास तर्फ ५ लाख बजेट बिनियोजन गरेको छ । गाउँ सभाबाट २० वटा विभिन्न योजना थप्नुको अशक्त, असहाय, बिपन्न कोषका लागि ५ लाख विनियोजना गरिएको छ । गाउँपालिकाको आर्थिक कार्यविधि २०७४ र एफ.एम. रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि २०७४ पारित गरिएको उपाध्यक्ष विश्वकर्माले बताए ।

किसान निराश    
लमजुङमा यस वर्ष अलैंची उत्पादन बढेपनि मूल्य घट्दा किसानहरु भने निराश छन । गत वर्ष प्रतिकिलो दुई हजार २ सयसम्ममा बिक्री भएको अलैंची यसवर्ष छ सयदेखि सातसयसम्ममा विक्रि भएको छ । जिल्लामा अलैंचीको उत्पादन बढे पनि मूल्य घटेको जिल्ला अलैंची व्यवसायी महासंघको भनाइ छ । महासंघका अध्यक्ष अजय तामाङका अनुसार जिल्लामा उत्पादित अलैंची ६० प्रतिशत मात्र विक्री भएको छ । किसानले मुल्य बढ्ने आशामा बाँकी अलैँची विक्री नगरेको तामाङले बताए ।
    
अलैंची खेती 
जिल्ला कृषि बिकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीका अनुसार लमजुङका करिब नौ सय ८६ केक्टर जमीनमा अलैंची खेती गरिएको छ । यी मध्ये छ सय ५० हेक्टरमा लगाइएको अलैंचीले उत्पादन दिएको थियो । 

१३ करोड आम्दानी
अलैंची खेतीको बिस्तार तीव्र रूपमा अघि बढेको र यसका लागि अनुदानमा बीउ र बेर्ना वितरण गरिरहेको अधिकारीले बताए । कृषि कार्यालयकाअनुसार अलैंची बिक्रीबाट जिल्लामा १३ करोड रुपैयाँ भित्रिएको र यसपटक उत्पादन बढेको अनुमान गरिएको छ ।

निर्यात
नेपालको अलैंचीलाई यूएई, पाकिस्तान र बंगलादेश पठाउनका लागि ट्रेडमार्कमा दर्ता गरिएकाले बजार पाउने सम्भावना रहेको किसानहरु बताउँछन । अलैंची प्राविधिकहरूका अनुसार ८ सयदेखि २ हजार १ सय मिटर उचाइको सेपिलो ठाउँमा अलैंची खेती हुन्छ । जिल्लामा रामसाई, गोलसाई, डम्बरसाई, भलाँगे, जिर्मले प्रजातिका अलैंची खेती गरिँदै आएको छ । अलैंची व्यवसायी महासंघका अनुसार यहाँ उत्पादन हुने अलैंचीको मुख्य बजार नै भारत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप