सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा काँग्रेसको ‘क्लिन स्विप’
नेपाली काँग्रेसले सुनसरी संसदीय क्षेत्र नम्बर–४ का ४ पालिकाको प्रमुख पदमा जितेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रमा काँग्रेसले ‘क्लिन स्विप’ गरेको हो । काँग्रेसका प्रभावशाली नेता समेत रहेका मन्त्री कार्कीको निर्वाचन क्षेत्रमा रहेको सुनसरी–४ का वराहक्षेत्र नगरपालिका, कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा काँग्रेस विजयी भएको छ ।
निर्वाचन क्षेत्रका पालिकाको प्रमुखमा मात्र नभई उपप्रमुखसहित बहुमत जनप्रतिनिधि सत्तारुढ गठबन्धनका दलका उम्मेदवार विजयी भएका छन् । काँग्रेसले जीत हासिल गरेको हरि नगर गाउँपालिका र कोसी गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत विजयी भएका अध्यक्ष र उपाध्यक्षहरू दोहोरिएका छन् ।
कोशी गाउँपालिकाको अध्यक्षमा ऐयुव अन्सारी र उपाध्यक्षमा अनितादेवी यादव दोस्रो कार्यकालका लागि काँग्रेसबाटै पुनः निर्वाचित भएका छन् । हरिनगर गाउँपालिकामा पनि गफार मिया अन्सारी र रिमझिमकुमारी भगत दोस्रो कार्यकालका लागि काँग्रेसबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन् ।
भोक्राहानगरसिंह गाउँपालिकामा काँग्रेसका अजमल अख्तर आजाद अध्यक्ष तथा सुनितादेवी उराँव उपाध्यक्षमा निर्वाचित भएका छन् । बराहक्षेत्र नगरपालिकामा निवर्तमान नगरप्रमुख रहेका नेकपा एमालेका उम्मेदवार निलम खनाललाई पराजित गर्दै रमेश कार्की नगर प्रमुखमा निर्वाचित भएका छन् ।
हरिनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गफार अन्सारीले काँग्रेसले हरिनगर मात्र नभई पूरै सुनसरी क्षेत्र नम्बर ४ नै ‘क्लिन स्विप’ गरेको बताए । उनले जनतालाई प्राथमिकतामा राखेर काम गरेर आगामी दिनमा पनि स्थानीय बासिन्दाकै आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काँग्रेसका वराहक्षेत्र नगरपालिकाका प्रचारप्रसार तथा परिचालन समितिका संयोजक रेवती दुलालले पार्टी संगठन र जनचाहनालाई प्राथमिकता दिँदा वराहक्षेत्र नगरपालिकामा प्रमुखसहित बहुमत जनप्रतिनिधि निर्वाचित गर्न सफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन