बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छ : राज्यमन्त्री श्रेष्ठ

शुक्रबार, १० असार २०७९, १५ : ०७
शुक्रबार, १० असार २०७९

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गरेका छन् । नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढन पनि निजी क्षेत्रलाई सचेत गराए । नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताए । त्यसका लागि सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने तर लगानी भने निजी क्षेत्रले गर्दा हुने उनले बताए ।  राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रबाट नेपालमा ठूलो इकोनोमिक एक्टिभिटी हुने भएकाले यसमा लगानी गर्नेहरुको भविष्य राम्रो रहेको पनि दोहोर्याए ।

उनले भने, ‘नेपाल पनि हाईएयर एजुकेसनको एउटा हब हुनसक्छ । हाईएयर एजुकेसनमा इन्भेष्ट गरेर एउटा ठूलो इकोनोमिक एक्टिभीटी गर्न सकिन्छ भन्ने त्यो चीजमा सबै लागौं । यसमा सरकारले सकेन भने प्राइभेट सेक्टरका साथीहरुले आएर युनिभर्सिटी बनाउनुपर्यो । हाम्रो मुलुकलाई ११ वटा युनिभर्सिटीले पुग्नेवाला छैन । अर्को २५ वटा युनिभर्सिटी चाहिन्छ भने बरु सरकारले एउटा आधारमा कस्तो युनिभर्सिटी हुने, त्यसका पूर्वाधारहरु के के चाहिन्छ ? कस्तो किसिमको संस्थाहरुलाई हामीले युनिभर्सिटी दिने हो ? यी सबै चिजहरु भएर गयो भने एजुकेशनमा पनि फ्यूचर छ । लगानी गर्ने साथीहरुले शिक्षा र स्वास्थ्यलाई पूरा व्यापार मात्रै नठानेर सेवामूलक व्यवसाय गर्छ भनेर लाग्नुस् । लगानी गर्नुहोस् । यसमा फ्युचर छ ।’

राज्यमन्त्री श्रेष्ठले ठूलो लगानी शिक्षा आर्जनका लागि विदेशिन नदिन सरकारले नेपाललाई एजुकेसन हब बनाउने नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न लागेको पनि बताए । ४ दिनसम्म चल्ने सो फेयरमा उच्च शिक्षा हासिल गर्नका लागि आवश्यक सन्दर्भ सामग्रीबारे एकै थलोमा बसेर जानकारी पाउने व्यवस्था मिलाइएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप