विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन ग्यालरी घुमेर हेर्दा : लोककलाले बोकेको आधुनिकता

शनिबार, १८ भदौ २०७९, १३ : २५
शनिबार, १८ भदौ २०७९

ग्यालरीको चक्कर मार्न रहर भएर बिहीबार उपत्यकाका तीनवटा कला ग्यालरीमा छिर्ने जमर्को गरेँ– आर्ट काउन्सिल, एमक्युब आर्ट ग्यालरी र तारा आर्ट ग्यालरी । यीमध्ये नेपालको सबैभन्दा ठूलो ग्यालरी आर्ट काउन्सिल हो । त्यसपछिको अर्को ठूलो र महत्त्वको ग्यालरी हो, सिद्धार्थ ग्यालरी । 

यतिखेर मिथिला कला प्रदर्शनीले आर्ट काउन्सिलको कक्ष झकिझकाउ देखिएको छ । चित्रकला र भाँडाकुँडा वा उपयोगी कलाको पनि यसैमा समिश्रण हुँदा कला कक्ष आफैँमा कला मेलाको एक भागजस्तै देखिन गएको छ । 

नेपालमा सन् १९९० ताका नेपाली मैथिली लोककलाको बीजारोपणको भूमिका खेल्ने जनकपुर महिला समूह यसको आयोजक हुँदा पनि यो कला प्रदर्शनीको अलग्गै महत्त्व छ । अलिकता आयआर्जनका कुरा र अलिकता महिलाको सशक्तीकरणको सन्दर्भ यसमा गाँसिएका छन् । कलाकार (सर्जकका रूपमा), समाजको संरचना (आजको अवस्था अनुसार बदल्ने क्रममा), संस्कार–संस्कृति (परिष्कृत र परिमार्जन गर्ने सन्दर्भमा) र महिला–अधिकार आदि अनेक अवयव र सवाल जोडिने हुँदा यस्ता कलालाई मूलतः ‘आइसोलेसन’मा हेर्ने गरिँदैन । यस अर्थले यसको महत्त्व अलग्गै छ । यसलाई लोककला भन्ने वा समसामयिक कला भन्ने दुविधा जुन छ, हिजोआज देखिएका यस्ता कलाका कारण यसलाई मिथिला कला मात्र भने उपयुक्त हुन्छ । विषयवस्तुले व्यापकता पाएसँगै कलामा अवधारणा, सामाजिक मूल्य–मान्यता छिर्न थालेका छन् । यसरी मिथिला कला नयाँ ढंगको कलाको रूपमा स्थापित भएको देखिन्छ । यसमाथि कलाका माध्यमबाट सामाजिक सवालप्रति चासोे राख्न थालिएका छन् । 

प्रदर्शित कलामा थुप्रै हात भएका देवीको संयोजनमा ढिँकी र दिनचर्या पनि मोटिफको रूपमा संलग्न छन् । यसैअनुसार कलाको संरचना हुँदा लैंगिक विभेदको सवाललाई सम्बोधन गरिएको दृश्यावलोकन हुन्छ । समुदायको धार्मिक आस्थाका देवीदेवता वा धार्मिक गाथा आदिलाई समुदायकै कलाकारले जसरी जस्तो रूपमा आउँछ, त्यस्तै प्रकारले बनाउँदै आएका हुन्छन् । यस्ता कला विषयवस्तुका रूपमा बेग्लै देखिन थालेपछि, रंग, आकार र प्रस्तुतिमा आधुनिकता आउन थालेपछि यसको नामकरणमा दुविधा आउनु स्वाभाविकै हो । यी कलामा आजका समुदायको सोच र परिकल्पना समतलीय चित्रपटमा परम्परागत मुखाकृति र शारीरिक संरचनाका साथ प्रस्तुत भएका छन्, जसबाट भावकले मिठो अनुभूति गर्छन् नै । 

प्रायजसो सबै कला प्रदर्शनीमा कला बारेका अभिलेखन भएको वा गरेको पाइँदैन । पहिले सुविधा नभएर वा विविध कारण कलाको अभिलेखन गर्ने चलन थिएन । जसकारण आज हामीले हाम्रा पूर्वज मूर्धन्य कलाकारका नामसम्म थाहा पाउन सक्दैनौ । अझै पनि कलाकार र कलाको आधिकारिक दस्तावेज बन्न नसक्दा कसैले कसैको बारेमा मनलागी भनिदिए पनि हुने वातावरण विकसित हुँदै आएको छ । 

फरक खालका दुई ग्यालरी

एमक्युब कला दीर्घा र तारा आर्ट ग्यालरी व्यक्तिका घरमा सञ्चालित भएकाले यहाँ नितान्त व्यावसायिक कला मात्र नभएर सिर्जनशील कला बढी मात्रामा देखापर्छन् । लोककलाको सन्दर्भमा सिर्जनशीलता, व्यवसाय र संस्कार जोडिएर आएका हुन्छन् । त्यसैले यसलाई व्यापारिक दृष्टिले मात्रै हेरिनुहुँदैन । तर, यो आज नितान्त व्यापार भएरै देखापरेको छ । 

वर्तमान सन्दर्भमा सिर्जनशील र व्यावसायिक कलाकारलाई अलग्गाएर हेर्ने परिपाटी हटेर गइसक्यो, तथापि कलाको आन्तरिक तत्त्व गुणस्तर, पहिचान र ‘एस्थेटिक्स भेल्यु’लाई नियाल्ने हो भने सिर्जनशील र व्यावसायिक कलालाई अलग्गाएर हेर्नैपर्ने हुन्छ । 

व्यावसायिक कलालाई ‘क्राफ्ट’का रूपमा मान्ने गरिन्छ । अनि, आयआर्जनका लागि एकै प्रकारका कलालाई ठूलो मात्रामा उत्पादन गर्ने गरिन्छ । यसभित्र कला अन्तर्निहित हुँदाहुँदै पनि यसलाई उपयोगी कलाको रूपमा ग्रहण गर्ने गरिन्छ । यसभन्दा अलिकता अलग्ग प्रकृति बोकेको सिर्जनशील कलालाई ‘फाइन आर्ट’का रूपमा व्याख्या हुने गरेको देखिन्छ । जसले गर्दा फाइन आर्टमा बढी मात्रामा ग्यालरीको प्रसंग आउँछन् । 

फाइन आर्ट बिक्री नै नहुने वा नगरिने होइन, यसको भेल्यु र सिर्जनशीलताले गर्दा मूल्य चर्को पर्न आउँछ । यस्ता कला हेर्दा मात्र पनि भावकमा एक प्रकारको सुखानुभूति हुन्छ । यस्ता कलाले निसन्देह ग्यालरीको शोभा बढाइरहेका हुन्छन् । कहिलेकाहीँ मात्र प्रदर्शन हुने यस्ता कलाका पारखी सीमित हुन्छन् । व्यावसायिक कलाका लागि सहर–बजारका सयौँ पसल छँदै छन् । अर्कोतिर, ग्यालरीहरूमा जस्तासुकै कला प्रदर्शन हुने परम्परा बस्दा हिजोआज कला हेर्ने दर्शक घटेको पाइन्छ । 

हिजोआज भाडा लिएर कला प्रदर्शन गर्ने ग्यालरीहरूले व्यावसायिक कला बढी मात्रामा प्रदर्शन गर्न थालेका छन् । अर्कोतिर, व्यावसायिक कला पनि सिर्जनशील कला भएर देखापर्न थालेका छन् । यो दुविधापूर्ण अवस्थालाई हामीकहाँ खुट्याउनुपर्नेछ । 

एमक्युब कला दीर्घा र तारा आर्ट ग्यालरीमा कमसे कम मूल स्वरूपका कला प्रदर्शन हुने गर्छन् । यसो हुँदा कलाको रसास्वादन गर्ने भावक निर्धक्क भएर यी कला दीर्घामा जाने गरेको पाइन्छ । 

यी दुई ग्यालरीको वरिपरि औपचारिक रूपमै खुलेका चारवटा साना–ठूला कलाका ग्यालरी छन् । यी सबैमध्ये एमक्युब र क्लासिक निकै सक्रिय ग्यालरीका रूपमा छन् । नितान्त व्यवसायका रूपमा खुलेका कलाका ग्यालरी अझ भनौँ दोकानहरू त सयौँ होलान्, जहाँ परम्परागत कलालाई पनि राखिन्छ । 

हिजोआज कलाकारले आफ्ना कलालाई आफूले चाहेजस्तो गरी प्रदर्शन गर्न आ–आफ्नै घर वा आफन्तका घरलाई प्रयोग गर्न थालेका छन् । एम क्युब र क्लासिक कला ग्यालरी यसैको उदाहरण हुन् । 

सन् ७० को शुभारम्भकालमा कलाकार उत्तम नेपालीले खोलेको पृथ्वी कला ग्यालरी, म्याक्स भन्ने एक विदेशी नागरिकले खोलेको म्याक्स ग्यालरी, कलाकार रामानन्द जोशीको पार्क ग्यालरी– यी ग्यालरीमा नितान्त सिर्जनशील कलाको प्रदर्शनी र चर्चा हुने गथ्र्यो । कलाकारको कोठाभित्र थन्किएर रहेका अनेकौँ कलाको सार्वजनिक यिनै ग्यालरीबाट हुन्थे । आम भावकलाई कलामा पहुँच पुर्‍याउने, नेपाली कलालाई हेर्न–बुझ्न वा यसलाई रसास्वादन गर्ने उपयुक्त ठाउँ उपलब्ध गराउने उद्देश्यले यस्ता कला ग्यालरी खोलिने गथ्र्यो । सरकारी खर्चले खुलेको ‘नेपाल एसोसिएसन अफ् फाइन आर्ट’ (नाफा)को कला दीर्घालाई छोडिदिने हो भने यी कलाका ग्यालरीले नै नेपाली कलाको इतिहासमा कलालाई आम मान्छेबीच पुर्‍याउने महत्वपूर्ण काम गरेका हुन् ।

व्यवसायको रूप दिन हिजोआज कलाकारले व्यक्तिगत प्रयासमा कला ग्यालरीसँगै कोचिङ क्लासको व्यवस्था गरेको देखिन्छ, जहाँ स–साना केटाकेटीदेखि कला सिक्ने सोख भएका वयस्कसम्म आउने गरेका छन् । यस्ता कला ग्यालरीको सकारात्मक पक्ष यो छ कि यहाँ क्युरेटर र म्यानेजर समेत कलाकार नै हुन्छन् । कलालाई राम्ररी बुझेका क्युरेटर वा म्यानेजरले सकेसम्म स्तरीय कला प्रदर्शनीमा राख्छन् । यसले कला दर्शक बढाउन योगदान गरिरहेका छन् । 

मूलतः अहिले आधुनिक कालमा, आधुनिक कलाको अर्थमा कुनै कला ‘एस्थेटिक्स इन्ज्वोइमेन्ट’का लागि डिस्प्ले गरिन्छ । यसबाहेक शिक्षाका लागि, ऐतिहासिक संरक्षणका लागि र बिक्री–वितरणका लागि पनि गरिन्छ । विशेषतः यस्ता कला ग्यालरी कलाकार, आर्ट कलेक्टर अनि विशेष गरेर फाइन आर्ट विज्ञका लागि हो । जसले कलाको सही व्याख्या र विश्लेषण गर्छन् । तिनै व्यक्ति विशेषको भेटघाट र छलफलले नै कलाको संरक्षण र विकास हुने हो । यसका लागि उपयुक्त ठाउँ भनेकै यस्तै कला दीर्घा हुन् । 

पश्चिमा संस्कृतिमा १५औँ वा १६औँ शताब्दीमा कला दीर्घाको उदय भएको मानिन्छ । सन् १५९० मा युरोपमा चारैतिर पर्खालले घेरिएको लामो साँगुरो गल्लीमा पहिलोपल्ट कला प्रदर्शन गरेर कला दीर्घाको प्रारम्भिक रूपको प्रादुर्भाव भएको थियो । यसैको विकसित रूपमा आज विभिन्न ग्यालरी देखापर्न थालेका छन् । 

एमक्युब ग्यालरी कलाकार मनीषलाल श्रेष्ठको हो । अति नै क्रियाशील रूपमा देखापरेको यो कला दीर्घामा चिया–नास्ता खाने क्याफे पनि सञ्चालित छ । यहाँ कलाकार र कलापे्रमीको जमघट पनि देखिन्छ । यहाँ कक्ष सानो छ, कलाकृति कमै अटाउँछन् । तर वैकल्पिक कला बढी मात्रामा देखापर्ने ग्यालरी हँुदा किसिम किसिमका कला अनेक नाम र उपनाममा देखापर्ने गर्छन् । यहाँ राखिएका कति कला त खुट्याउनै गाह्रो पर्ने खालका हुन्छन् । विशेषतः युवा कलाकारले कलामा अनेक प्रयोग गर्ने हुँदा ‘पर्फर्मेन्स आर्ट’देखि ‘इन्स्टलेसन’, ‘इन्टर्‍याक्टिभ आर्ट’सम्म प्रदर्शन हुनु यस ग्यालरीको विशेषता जस्तै भइसकेको छ । एकताका ‘चकटी गफ’ भनेर पनि कलाको विषय छलफल गर्ने जमर्को यसले चलाएको थियो । कति नामै दिन अप्ठेरो हुने खालका कला यहाँ प्रदर्शित हुँदा अर्कै वातावरणमा यो ग्यालरी देखिन्छ । अधिकांश युवा, अझ नवयुवा र समसामयिक कलाकार यहाँ भेटघाट गर्ने गर्छन् । यसो हुनुमा कलाकार मनीषको भूमिका विशेष छ । 

नेपालमा सन् २००० को उत्तरकालमा देखापरेका नेपाली समसामयिक कलाको अगुवाइ गर्नेमध्येका एक सक्रिय, कर्मठ अनि अब्बल कलाकार हुन्, मनीष । त्यस बेलाको यस्ता कलालाई मैले उत्तरआधुनिक कला भन्ने गरेको छु । नितान्त नेपाली समसामयिक कलाले अर्कै धार समातेर नेपाली कला इतिहासमा गहकिलो मोड ल्याएको थियो । यसका संवाहकमध्ये मनीषलाई लिन सकिन्छ । उनी दुई दशकभन्दा बढी समय यस्तै कला बनाउन, छलफल गरिरहन र युवा कलाकारलाई प्रोत्साहन दिन सक्रिय देखिन्छन् । 

यसैको ठीकविपरीत तारा कला दीर्घामा यस्तो हुलहाल छैन, हुने गर्दैन । यहाँ प्र्रायः सुनसान अनि स्निग्धजस्तो वातावरण कला टाँगिएका हुन्छन् । नजिकै पुग्दा पनि यो कला ग्यालरी हो कि होइन जस्तो भावकलाई पर्ने गर्छ । यो कला ग्यालरीलाई पाँच वर्षअघि कलाकार भाइराजा महर्जनले खोलेका हुन् । पाटन ढोकाको छेउछाउतिर खुलेको यो ग्यालरीमा त्यस्तो तामझाम भएको कहिले देखिएन । तापनि यहाँ ठूलै स्पेसमा किसिम किसिमका कला प्रदर्शन भइरहँदा रहेछन् । 

सफा–सुग्घर अनि तुलनात्मक रूपमा ठूलो स्पेस हुनुले अन्य सामान्य ग्यालरीभन्दा यसलाई राम्रै मान्नुपर्छ । अब्बल कलाकृति सिर्जना गर्ने भाइराजाले कलाको औपचारिक कार्यक्रम कमै गर्छन् । दुई–चारवटा कार्यक्रम गरी अग्रज कलाकारका कला डिस्प्ले गर्ने उनको इच्छा रहेछ ।

वरिपरिका कलाका दीर्घामा महिनैपिच्छे अनिगिन्ती कार्यक्रम भइरहँदा पनि भाइराजालाई यसरी कला दीर्घालाई अगाडि बढाउने लालसाले छोएको छैन । खासै हल्लाखल्ला मन नपराउने नितान्त एकान्तमा कला सिर्जना गर्ने भाइराजाका अब्बल खालका कलाकृति यहाँ प्रदर्शन भइरहन्छन् । हरेक कलाकारको जस्तो उनको पनि एक अलग्ग प्रकारको स्वभाव हुनु उनको विशेषता हो । 

विशेषगरी मानव आकारलाई खेलाएर भावपूर्ण कलामार्फत विभिन्न सन्देश र विचार प्रवाह गर्नु भाइराजाका कलाको स्वभाव देखिन्छ । अहिले उनका कलामा नौलो प्रकारले नेपाली परम्परागत कलाका बुट्टाहरूको मोटिफ अनि प्रतीकात्मक फूल र अन्य अवयव आउन थालेका छन् । बुढाबुढीको चाउरी परेको मुखाकृतिमा बुट्टा कुँदेको जस्तो देखिने कलामार्फत उनले अनेकौँ कथा, व्यथा, आरोह अवरोहलाई समात्न खोजेका छन् । नितान्त हाम्रै परम्परागत कला पौभाको संयोजन संगठनको ढाँचा उनको कलामा ओर्लिएको छ । नितान्त मौलिकताको प्रत्याभूति यसले दिन्छ नै । 

एउटा स्वाभाविक आममान्छे (बुढाबुढी) को अनुहार, स्वाभाविक आसन र परम्परालाई अचुक पाराले सम्पे्रषण गर्न खोज्दा उनका कला रोचक ढंगले प्रस्तुत भएका देखिन्छन् । कमलका फूललाई आसनको स्वरूप बनाउने परम्परागत पौभाको प्रतिविम्ब, बादलका अवयव, परम्परागत शैली र प्रवृत्ति झल्कने गरी आकृति दिइएका पहाड आदिलाई हेर्दा कलाकार भाइराजाको परिकल्पना, संयोजन अनि अवधारणा नितान्त नौलोधारमा बगेको स्पष्ट अनुभव गर्न सकिन्छ । परम्परागत धार्मिक आभूषणबाट सुशोभित देवी–देवताको अनुहारमा मास्क लगाएर प्रस्तुत गर्नुले पनि उनीमा एउटा अलग्ग सोचको विकास भएको देखिन्छ । लोककला र परम्परागत कलाका अनेक अवयवलाई काल्पनिकतामा अहोरात्र झुल्किएको जस्तो देखिनु पनि उनको कलागत गहकिलो विशेषता ठहर्छ ।

(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप