शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई झलनाथको कटाक्ष : टाउकोमा हिउँ राखेर सोच्ने गर्नुस्

शनिबार, ०१ असोज २०७९, १५ : ४८
शनिबार, ०१ असोज २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टाउको हिउँ राखेर सोच्न सुझाव दिएका छन् । शनिबार बसेको प्रतिनिधिसभाको एघारौं अधिवेशनको अन्तिम बैठकमा संशोधनका क्रममा उनले ओलीमा अझै बुद्धि नआएको दावी गरे । ओलीले आफूले संविधानअनुसार नै संसद विघटन गरेर चुनाव घोषणा गरेको दावीप्रति खनालले प्रश्न गरे–‘संविधान नबुझेको हो कि, कहिल्यै बुद्धि नआएको हो कि ? मंसिर ४ को चुनावपछि पो बुद्धि आउने हो कि ?’

उनले अध्यक्ष ओलीलाई नेपालको १५ प्रतिशत भूभागमा हिउँ पाइने बताउँदै टाउकोमा हिउँ राखेर सोचेर बोल्न आग्रह गरे ।  आफूभन्दा अगाडि नै बोलेका ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटन र चुनावको घोषणा संविधानअनुसार भएको दावीको खण्डन गर्दै नेता खनालले संविधानको धारा ७६ को उपधारा १ देखि ६ सम्मको व्यवस्था कुनै हालतमा संसद विघटन गर्न नसक्ने व्यवस्था रहेको बताए । 

उनले ओलीले प्रतिगमन गरेर संविधानको मर्म विपरित काम गरेपनि संविधान र संसदलाई बचाउन सफल भएको उल्लेख गरे । उनले ओली नेतृत्वको सरकारले कुनै उपलब्धिमूलक काम गर्न नसकेको बताए । उनले ओली सरकारले बालुवाटारमा बसेर स्विच थिचेर बजेट, योजना, जग्गा केही नभएका योजनाको शिलान्यास गरेर नाटक मञ्चन गरेको दावी गरे । 

नेता खनालले अध्यक्ष ओलीलाई प्रश्न गरे– ‘धरहरा बनाए भनेर मख्ख परेको हो । धरहरा त भीमसेन थापाले बनाएको हैन ? रानीपोखरी प्रताप मल्लले बनाएको हैन ? त्यसमा बनाउनेको नाम हुन्छ कि मर्मत गर्नेको ?’ उनले ओली सरकार जुन जनअपेक्षा अनुसार बनेको थियो त्यस अनुसार काम गर्न नसकेको बताए । 

नेता खनालले नेपालमा अब लामो समयसम्म गठबन्धनको राजनीतिक अगाडि बढ्ने उल्लेख गर्दै कसैले पनि बहुमत ल्याउन सक्ने अवस्था नरहेको बताए । प्रतिपक्ष दलले गठबन्धन शब्दप्रति कटाक्ष गर्ने गरेपनि राजतन्त्रवादी राप्रपासँग गठबन्धन गर्न बाध्य भएको बताए । उनले काँग्रेससँगको गठबन्धन गणतन्त्रवादी दलहरूको गठबन्धन रहेको स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप