सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रणसंग्राममा रञ्जिता श्रेष्ठले हाँकेको त्यो रथ

नेवारकी छोरी, थारूकी बुहारी पार्टीको सर्वोच्च पदमा
आइतबार, २३ असोज २०७९, १० : ३७
आइतबार, २३ असोज २०७९

देशको केन्द्रमा बसेर पनि काठमाडौंका नेवारहरु राजनीतिमा कमै मात्र सचेत र सक्रिय छन् भनिन्छ । त्यसमा पनि नेवार महिला त झन बिरलै । पार्टी अध्यक्षमा नेवारलाई खोज्दा नारायणमान बिजुक्छे एकै मात्र भेटिएलान् । तर, उनको पार्टी भक्तपुरमै केन्द्रित र सीमित छ ।

यस्तो अवस्थामा एउटी नेवार महिलाले पार्टीको अध्यक्ष पद सफलतापूर्वक सम्हालिरहेको छ भन्दा अचम्म लाग्न सक्छ । श्रीमती रञ्जिता श्रेष्ठ यसै कारण चिनिनु पर्ने व्यक्तित्व हो । उनले ‘नागरिक उन्मुक्ति पार्टी’ हाँकिरहेकी छिन् । भरखरै स्थापना भएको पार्टीले पनि उनको नेतृत्वमा छोटो अवधिमै उल्लेख्य सफलता हासिल गरेको छ । स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने उनको पार्टी कैलाली जिल्लाकै सबभन्दा ठूलो पार्टी बनेको छ, चार मेयरसहित उनान्सय सिट जितेर ।

एउटा रमाइलो संयोगको कुरा भन्नुपर्छ कि हालै सम्पन्न स्थानीय चुनावबाट उदाएका काठमाडौं महानगरका मेयर बालेन्द्र साह र रञ्जिता श्रेष्ठ दुवै काठमाडौं नरदेवीको जलजला शिशु सदनमा अध्ययन गरेका विद्यार्थी हुन् । अनि, त्यसै विद्यालयमा यो पंक्तिकार आठ वर्ष शिक्षक र व्यवस्थापक थियो । रञ्जिता श्रेष्ठलाई पढाएको मलाई अहिले पनि याद छ ।

जीवनमा अकल्पनिय मोडहरु

काठमाडौंको कोर एरिया क्षेत्रपाटीमा जन्मेकी रञ्जिताले सोच्नु त परै जाओस्, कल्पना पनि गरेकी थिइनन् कि उनी कुनै दिन राजनीतिमा सक्रिय हुनुपर्ने हुन्छ । तर भाग्य वा परिस्थितिले मानिसलाई कहाँ कहाँ पुर्याउँछ भन्न सकिँदैन । माध्यमिक तह पद्मकन्या मावि डिल्लीबजारमा पढिरहेकी रञ्जिताको कैलाली, टीकापुरका रेशम चौधरीसित भेटघाट हुन्छ, बालदिवसको एउटा कार्यक्रममा । रेशम चौधरी कैलालीको प्रतिनिधित्व गर्दै काठमाडौं आएका थिए, रञ्जिता त काठमाडौंकै भइहालिन् ।

तरुण वयमा किशोर–किशोरी आपसमा आकर्षित हुनु प्राकृतिक र स्वाभाविक हो । समय बित्दै जान्छ र आकर्षणले थाहै नपाई प्रेमको रुप लिन्छ । थारू केटालाई श्रेष्ठ परिवारले स्वीकार्ने कुरै भएन । अनि उनको भागी विवाह हुन जान्छ, तरुणवयमै । यो उनको जीवनको पहिलो अकल्पनीय मोड हुन गयो । त्यसबेला उनले सोचेकी थिइनन् कि यसपछि अझै जटिल र महत्त्वपूर्ण मोडहरु उनलाई पर्खेर बसेका छन् ।

कलेज पढ्दै गरेका रेशम चौधरीसित काठमाडौंकै डेरामा रञ्जिताको चार वर्ष बित्छ । यसबीच उनले रेडियो सगरमाथामा कार्यक्रम प्रस्तोताको काम गर्छिन् । समय बित्दै गएपछि माइतीसित फेरि सम्बन्ध सुमधुर हुन्छ । बुहारी भएर भित्रिएकी उनले रेशमको घरमा र थारू समुदायमा भने कुनै अप्ठ्यारो महसूस गर्नु परेन । सरल जीवनयापन गर्ने थारू समुदायमा लैंगिक विभेद खासै हुँदैन, न छोरा र छोरीमा, न छोरी र बुहारीमा ।

काठमाडौंको भित्री सहरमा जन्मे–हुर्केकी उनी श्रीमान्को घर टीकापुर बस्न थालेपछि थारू भाषा र थारू संस्कृति पनि सिक्दै जान्छिन् । टीकापुरमा रेशम–रन्जिता दम्पत्तिले खोलेको रेडियो फूलबारी सञ्चालनको क्रममा उनले थारू भाषा मजासँग सिकिन्, जुन अहिले चुनावको घरदैलो गर्नदेखि मञ्चबाट भाषण गर्नसम्म काम लागेको छ ।

भाषिक अधिकारको मामलामा उनी पहिल्यैदेखि सचेत छिन् । उनका एक मात्र छोरा क्षेत्रपाटीको एउटा अँग्रेजी माध्यमको विद्यालयमा पढ्दै थिए । त्यस विद्यालयमा स्थानीय विषयमा चिनिया भाषा पढाइँदै थियो । उनी विद्यालय प्रशासनसँग भेटेर स्थानीय विषयमा चिनिया भाषाभन्दा नेपालभाषा पो पढाउनु पर्छ भनेर कुरा राखेकी थिइन् । उनको कुरा सुनेपछि विद्यालय प्रशासनले पनि मनासिव ठान्यो । यो कुरा तत्कालीन मेयर विद्यासुन्दर शाक्यले नेपालभाषा विषय  लागू गर्नु भन्दा अघिको हो । हेर्दा त उनी सरल र सामान्य देखिन्छिन् । त्यस्तै, बोली पनि साधारण । तर, साधारण बोलीमै आफ्नो कुरा सिलसिलावद्ध र विश्वसनीय तरीकामा राख्न सक्ने विशिष्ट क्षमता उनमा छ ।

वज्रपातको क्षण र अर्को अकल्पनीय मोड

काठमाडौं र कैलाली आउजाउ गरिरहेकी उनको जीवनमा एक दिन अकस्मात ठूलो वज्रपात भयो । त्यो दिन २०७२ सालको भदौ ७ गते थियो । त्यस दिन उनी आफ्नो सहोदर दाजुको देहान्त भएको हुँदा अन्तिम क्रियाको लागि पशुपतिमै थिइन् । त्यसै बखत उनलाई खबर आयो कि टीकापुरको थरुहट आन्दोलन हिंसात्मक भयो र त्यसको जिम्मेवार उनको श्रीमान् रेशम चौधरीलाई ठह¥याइएको छ । उनी तत्कालै विचार शून्य हुन्छिन् । उनी केही सोच्न सक्दैनन्, केही ठम्याउन सक्दिनन् ।

त्यसपछि उनको जीवनमा एकपछि अर्को आघातको सिलसिला नै सुरु हुन्छ । आन्दोलन हिंसामा टुंगिएको भोलिपल्टबाट सरकारले टीकापुरमा कफ्र्यू लगाउँछ । कफ्र्यूबीच नै थारूमाथि कठोर दमन र अत्याचार सुरु हुन्छ । कैयौंका घर जलाइन्छ । पुरुषहरु ज्यान जोगाउन भारततिर भाग्न बाध्य हुन्छन् । कैयौं महिला बलात्कृत भए । रेशम चौधरीको घर, रिसोर्ट र एफएम स्टेशन जलाइयो । अत्याचारको यो सिलसिला तीन महीनासम्म लगातार चलिरह्यो । हरेक दिन तबाहीका घटना सुन्दा सुन्दा उनी किंकर्तव्यविमूढ भइसकेकी थिइन् ।

पहिलो कुरा त उनको श्रीमान् रेशम चौधरीलाई घटनाको प्रमुख योजनाकारको आरोप लागेको थियो । झण्डै पाँच दर्जन अरु थारू युवा नेतामाथि पनि आरोप लागेकै थियो । झन्, रेशम चौधरीमाथि त कुनै पनि बेला केही पनि हुन सक्थ्यो । उनको ज्यानमाथि नै खतरा थियो ।

सरकारी आरोप जेसुकै भए पनि उनलाई आफ्नो श्रीमान््को निर्दोषतामा कहिल्यै कुनै शंका भएन र छैन पनि । किनभने रेशम चौधरी सधैँ शान्तिपूर्ण आन्दोलनको पक्षमा थिए । हिंसाबाट परिवर्तन ल्याउने कुरामा उनको झुकाव थिएन । त्यसैले उनी माओवादी जनयुद्धतर्फ कहिल्यै आकर्षित भएनन् । यद्यपि उनी जस्तो प्रखर र प्रभावशाली युवालाई धेरै तवरबाट तान्ने प्रयासहरु नहुने कुरै भएन । बरु थरुहटको आन्दोलन सफलतातर्फ चुलिएकोले त्यसलाई बिथोल्न सामन्तहरुबाट यो षड्यन्त्र रचिएको थियो ।

यिनै कष्टदायी घटनाले उनको जीवनमा अर्को नसोचेको मोड थपिदिन्छ । अनि, उनी विस्तारै एउटी साधारण गृहिणीबाट सचेत राजनीतितर्फ अग्रसर हुन्छिन् । त्यो पाइला न उनको चाहना थियो, न कल्पना नै गरिएको । तर परिस्थिति चाहना र कल्पनाभन्दा माथि भइदिन्छ । त्यो समयले मागेको जिम्मेवारी थियो । समयसित व्यर्थै प्रश्न गरिरहनु भन्दा उनी आफ्नो भागमा आएको जिम्मेवारीमा अडिग भएर अगाडि बढ्छिन् । हुन त महिलाहरु समाजमा कुनै पनि जिम्मेवारी पूरा गर्न सक्षम नै हुन्छन्, तर हाम्रो समाजको बनौटको कारण श्रीमान् वा पितालाई केही परेपछि मात्र त्यस्तो परीक्षामा भाग लिन पाउँछन् ।

रञ्जिताले पनि श्रीमान्ले लिएको राजनीतिक उद्देश्य आफ्नो काँधमा थाप्छिन् । जाने पनि नजाने पनि अब उनी एउटा राजनीतिक युद्धको सेनापति भइसकिन् । निर्विल्पक आफूलाई त्यही संकल्पमा होमिसकिन् । आखिर २०७४ सालको मंसिरको संसदीय चुनावमा ठूला दलहरुलाई मात ख्वाउँदै भूमिगत अवस्थामै रहेका रेशम चौधरीले अत्यधिक बहुमतले विजय हासिल गर्छन् ।

जनमत सिद्ध गरेर रेशम चौधरी माननीय बनेर संसदमा प्रवेश गर्ने बाटो तय हुन्छ । तर संसद प्रवेश गरेको खुशी मनाउने वातावरणकै बीच माननीय रेशम जेल जाने स्थिति बन्छ । खासमा रेशम आफैं प्रहरी प्रशासनसमक्ष उपस्थित भएका थिए । किनभने सरकारले उनीमाथि जारी गरेको टीकापुर घटनाको वारेन्ट खारेज गरिसकेको थिएन । त्यस बेलादेखि अहिलेसम्म पनि प्रमुख नेताहरु रेशमलाई बारम्बार निर्दोष भनिरहेका छन् । भाषणमा सबैले उनको रिहाइको कुरा चलाइरहन्छन्, तर पहल कसैले गर्दैनन् ।

यसरी जीवनमा सुख र दुःखको लुकामारीलाई अंगीकार गर्दै रञ्जिता श्रेष्ठ आफ्नो कर्तव्यपथमा अघि बढ्दै गर्छिन् । २०७८ सालको अन्तिमसम्म आउँदा उनको अध्यक्षतामा पार्टी खोलिन्छः ‘नागरिक उन्मुक्ति पार्टी’ ।

यसरी थारू–बहुल पार्टीका अध्यक्ष बन्छिन्, काठमाडौंकी रैथाने छोरी र थारूकी बुहारी–रञ्जिता श्रेष्ठ चौधरी । यस पार्टीको सफलताको लागि चुनावताका उनी यति ज्यूज्यान लगाएर प्रचारमा खटिन् कि चुनावपछि उनलाई सलाइन चढाएर आराम गर्नुपर्ने अवस्थासम्म आयो ।

उत्पीडितहरुको उन्मुक्तिको लागि संघर्ष यात्रा

रन्जिता नेतृत्वको नयाँ पार्टीको सफलताले राष्ट्रिय राजनीतिमा ठूलो र दीर्घकालीन महत्त्व राख्छ । यस सन्दर्भमा रञ्जिता श्रेष्ठ चौधरी भन्छिन्, “हाम्रो अभियान कुनै एक व्यक्ति वा समुदायको मात्र उन्मुक्तिको लागि नभई थारू, मधेसी, जनजाति, दलित, उत्पीडित सबैको उन्मुक्तिको लागि हो ।”

अहिले रन्जिता सम्पूर्ण रुपमा आउँदो संसदीय चुनावको तयारीमा लागेकी छिन् । कैलालीको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उनको उम्मेदवारी तय भैसकेको छ । भर्खरै उदाएको पार्टीलाई राष्ट्रिय बनाउनुपर्ने चुनौती छँदै छ । त्यो तत्कालको उद्देश्य भयो । दीर्घकालमा, टीकापुर लगायत घटनामा सामाजिक न्याय पर्खिंदा पर्खिंदै थाकेका आँखाहरुलाई शीतलता दिनु छ । शायद उनको पूरै जीवन यसै पवित्र संकल्पमा बित्ने छ ।

नेपालजस्तो बहुजातीय देशमा पीडक र पीडितबीच द्वन्द्व र दूरी सिर्जना गर्नुमा शासकहरुले आफ्नो सफलता ठान्छन् । यसमा अँग्रेजहरुभन्दा हाम्रा शासकहरु चतुर छन् । किनभने, ‘साम–दाम–दण्ड–भेद’ त २३ सय वर्षअघिको कौटिल्यको नीति नै भयो । नेपाली समाजलाई पनि सैयौं वर्षदेखि विभिन्न समुदाय र तहमा विभाजित गरिराखेकै छ । एक अर्काप्रति अविश्वास र भय सिर्जना गरिराखेकै छ । अझ एउटै समुदायभित्र पनि विभिन्न तह सिर्जना गरेर सुव्यवस्थित रुपमा विभाजनभित्र पनि विभाजन गरिराखेको छ ।

देशको यो कटु यथार्थमा भरखरै राजनीतिमा दरिलो पाइला चालेकी रञ्जिता एकताको सेतु बन्न सक्छिन्– नेवार, थारू, मधेसी, दलित र दुर्गमका बासिन्दाबीच । उनी राजनीतिमा महिला सशक्तिकरणको अब्बल उदाहरण पनि बन्न सक्छिन् ।

यसको लागि पीडित समुदायहरु पनि आपसी दूरी मेटाई एक अर्काको पीडा बुझेर एकतावद्ध हुन आवश्यक छ । यो कुरा नागरिक उन्मुक्ति पार्टीमा मात्र सीमित नभएर अन्य पार्टीमा रहेका पीडित समुदायका प्रतिनिधिहरुले पनि अपनाउनुपर्ने सोच र प्रवृत्तिगत परिवर्तन हो । जतिसुकै संघर्ष गरे पनि, राज्यबाट वहिष्कृत शोषित र पीडितहरुको आपसी एकता बिना उन्मुक्ति सम्भव छँदै छैन । यही नै वास्तविक राष्ट्रवादी चिन्तन हो । नारा लगाएर, झण्डा बोक्नु वा ओढ्नु त राष्ट्रवाद मात्र हुनजान्छ ।

कैलाली र काठमाडौं

कैलाली तथा त्योसँग जोडिएको जिल्ला कञ्चनपुर र बर्दियामा नागरिक उन्मुक्ति पार्टी उदाउँदै गर्दा, खास गरी थरुहट क्षेत्रमा फैलिदै गर्दा मैले नेपालभाषामा ‘उस्तै उस्तै देखिन्छ कैलाली र काठमाडौं’ शीर्षकको कविता लेखेको थिएँ । त्यसैको नेपाली अनुवाद पस्किदै यो लेख टुंग्याउँछुः

सुन्दा अचम्म लाग्ला

अपत्यारिलो

तर मेरो आत्माले देखिरहेको सत्य हो–

उस्तै उस्तै छ अवस्था

काठमाडौं र कैलालीको

जसरी कि क्षणभरको लागि उस्तै उस्तै देखिन्छ

साँझ र बिहानीको अवस्था

जसरी कि उस्तै उस्तै देखिन्छ

सुत्न लागेको र

उठ्न लागेको मानिसको अवस्था

जसरी कि उस्तै उस्तै देखिन्छ

दासत्वबाट मुक्त हुँदै गरेको र

दास बन्ने प्रकृया सुरु भएको मानिसको अवस्था ।

जसरी कि उस्तै उस्तै देखिन्छ

बन्धनबाट मुक्त हुन खोज्दै गरेको र

बन्धनमा बाँधिन लाग्दै गरेको मानिसको अवस्था ।

उफ्, उस्तै उस्तै हुन्छ

बेहोसीबाट उठ्दै गरेको मानिस र

बेहोस हुन लागेको मानिसको अवस्था ।

उस्तै उस्तै त हुन्छ

 समाप्त हुन लागेको सभ्यता र

पुनरुत्थानको लागि उठ्दै गरेको सभ्यता ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप