कर्णालीमा गठबन्धन सफल भएको प्रदेशस्तरीय संयन्त्रको निष्कर्ष

कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको प्रदेश स्तरीय संयन्त्रले आम निर्वाचन २०७९ को सन्दर्भमा गठबन्धन पूर्ण रुपमा सफल भएको निष्कर्ष निकालेको छ । आमचुनावको समीक्षा गर्दै संयन्त्रले गठबन्धन आंशिक रुपमा केही क्षेत्रमा असफल भए पनि समग्र रुपमा सफल भएको निष्कर्ष निकालेको हो ।
नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचनमा गठबन्धन असफल भए पनि आम चुनावमा सफल भएको र न्यूनतम दुई तिहाई बहुमत आएको दाबी गरेको हो ।
‘हामीले भनेको न्यूनतम दुई तिहाई आएको छ, प्रदेशमा प्रत्यक्षतर्फ २४ मध्ये १८ र समानुपातिक सहितको नतिजा हेर्दा बहुमत आएको छ,’ अध्यक्ष केसीले रातोपाटीसँग भनिन्, ‘जुम्लामा गठबन्धन आन्तरिक समस्याका कारण असफल भएको हो भने समग्रमा सफल भएको दाबी हाम्रो छ ।’
उनका अनुसार गठबन्धनले अब कर्णालीलाई कसरी समृद्ध गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसहितको उपस्थितिमा अन्तक्रिया गर्ने निर्णय गरेको छ । सरकार बनाउने कुरामा केन्द्रको निर्णय कुर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।
एकीकृत समाजवादीका प्रदेश सह–इञ्चार्ज चन्द्रबहादुर शाहीले सरकार बनाउने कुरा प्रदेशको हातमा नरहेको बताए । ‘दाबी गर्ने कुरा स्वाभाविक हुन्छ तर गठबन्धन भएकाले केन्द्रकै निर्णय कुर्नु बाहेक विकल्प रहँदैन,’ उनले भने ।
४० प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा एकीकृत समाजवादीले प्रत्यक्षमा एक सिट पनि जित्न सकेन । समानुपातिकबाट भने एक सिट पाउने देखिएको छ ।
शाहीले गठबन्धन पराजित भएको क्षेत्रमा केन्द्रीय नेताहरुका कारण समस्या भएको बताए । उनले भने, ‘केन्द्रकै कमजोरीका कारण तल्लो तहमा केही असहज भएको हाम्रो ठम्याई हो, अझै सफल हुने थियो । संघकै नेताहरुको कारण तल्लो तहमा समस्या भएको निष्कर्ष निकालिएको छ ।’
शाहीले जुम्लामा गठबन्धन असफल भएको विषयमा वृहत रुपमा छलफल भएको बताए । त्यहाँ कांग्रेसका प्रदेश अध्यक्ष ललितजंग शाही प्रदेशसभा (क) र (ख) मा समाजवादीमा उम्मेदवार पदमबहादुर रोकाया पराजित भए भने प्रतिनिधिसभामा माओवादीका गोमा कुँवर पराजित भएकी थिइन् ।
यस्तै मुगु (क) मा समाजवादीका गोपाल बम र डोल्पा (क) कांग्रेस उम्मेदवार पराजित भएका छन् । दैलेख २ (ख) मा माओवादीका उम्मेदवार योगेन्द्र शाही पराजित भएका थिए । माओवादीको कमजोर सांगठनिक अबस्था भएको र त्यहाँ कांग्रेसको भोट उनलाई ‘ट्रान्सफर’ हुन नसकेको बताइएको छ ।
‘त्यहाँ गठबन्धन दलभित्रकै कुरा नमिलेका कारण कांग्रेसको दुवै क्षेत्रमा बागी उम्मेदवार थिए,’ उनले भने, ‘उनीहरुले विभिन्न फ्याक्टरसँग साँठगाँठ गरेका कारण त्यसको इफेक्ट प्रतिनिधिसभामा सदस्य पदका उम्मेदवारसम्म पुगेको देखियो ।’