बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपको उपाधि जित्ने सपनाको नजिक मेस्सी

बुधबार, २८ मङ्सिर २०७९, ०३ : ४४
बुधबार, २८ मङ्सिर २०७९

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी आफ्नै कप्तानीमा विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुगेका छन् । बुधबार कतारको लुसाइल रंगशालामा टीमको प्रभावशाली खेलसँगै अर्जेन्टिना फाइनलमा पुगेको छ । पेनाल्टीमार्फत एक गोल गरेका मेस्सीले थप गोलका लागि फरवार्ड जुलियनलाई महत्वपूर्ण असिस्ट गरे । 

यससँगै सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको हो । फाइनलमा आइतबार अर्जेन्टिनाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरोक्को  फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे प्रतिस्पर्धा गर्दैछन् । 

आजको जितमा मेसीका साथै जुलियन एकअर्काका लागि परिपुरक जस्तै बने । खेलको ३४ औं मिनेटमा क्रोएसियाका गोलकिपरले १८ यार्ड बक्समा  जुलियनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । जसको भरपुर सदुपयोग गर्दै मेस्सीले गोलको दिशा दिए । 

पाँचौ पटक विश्वकप खेलिरहेका अर्जेन्टिनी स्टार मेस्सीले आफ्नो बायाँ खुट्टाले पोस्टको दायाँ कुनामा प्रहार गर्दै टीमलाई १–० को अग्रता दिलाए । 
विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै कीर्तिमान बनाएका मेस्सीले कतार विश्वकपमा मात्रै ५ गोल गरिसकेका छन् ।  यससँगै गोल्डेन बुटका लागि मेसीले आफ्नो दाबी कायमै राखेका छन् । 

बुधबारको रोमाञ्चक खेलमा मेस्सीले गोल गरेको ५ मिनेटपछि जुलियनले एक गोल थप्दै अग्रता दोब्बर बनाए  । मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका उनले क्रोएसियाको कडा डिफेन्स चिर्दै गोल गर्न सफल भएका हुन् । 
पहिलो हाफमा २–० ले अगाडि रहेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा फेरि जुलियनले मेस्सीको असिस्टमा अर्को गोल गरे । ६९ मिनेटमा गोल थप्दै उनले टीमलाई ३–० को अवस्थामा पुर्याएका हुन् । यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन भने अर्जेन्टिना विजयी भयो । 

अर्जेन्टिनाले  क्रोएसियालाई हराएर सन् २०१८ को विश्वकपको समूह चरणमा भोगेको ३–० को पराजयको पनि बदला लिएको छ । 
यसैबीच मेस्सीले विश्वकपमा २५ म्याच खेल्ने जर्मन खेलाडी लोथर म्याथुससँग बराबरी गरेका छन् । 

अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकपको उपाधि जितेयता अर्को उपाधि जित्न सकेको छैन । पछिल्लो पटक अर्जेन्टिना सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप