शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

७ उम्मेद्वारले अझैँ बुझाएनन् निर्वाचन खर्च विवरण

बिहीबार, १८ माघ २०७४, १३ : १९
बिहीबार, १८ माघ २०७४

लमजुङ–प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएको ६७ दिन वितिसक्दा समेत लमजुङमा ७ जना उम्मेदवारले अझैँ निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छैनन् । एक प्रनिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागी गएको मंसिर १० गते जिल्लामा निर्वाचन सम्पन्न भएको थियो भने मंसिर २३ गते मतपरिणाम घोषणा भएको थियो ।
निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र अर्थात माघ २ गते जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनु पर्ने भएता पनि १६ दिन बितिसक्दा समेत उम्मेद्वारले निर्वाचन खर्च विवरण बझाउन आलटाल गरेका हुन् ।  
लमजुङबाट प्रतिनिधिसभातर्फ ११ जना, प्रदेशसभा ‘क’ मा ६ जना र प्रदेशसभा ‘ख’ मा ८ जना गरी जम्मा २५ जनाको उम्मेदवारी परेको थियो । खर्च विवरण नबुझाउनेहरु मध्ये प्रतिनिधि सभा तर्फ ५ जना, प्रदेशसभा ‘क’ र ‘ख’ मा एक एक जना रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सनाले जानकारी दिए ।  

खर्च विवरण नबुझाउनेहरुमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य एंव लमजुङवाट प्रतिनिधि सभा तर्फका उम्मेद्वार देबेन्द्र पौडेलले समेत रहेका छन् । त्यसैगरी प्रतिनिधि सभा तर्फ खर्च विवरण नबुझाउनेहरुमा राष्ट्रिय जनमुक्ति पार्टीका यमबहादुर थापा मगर,  मंगोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सुरेश चन्द्र न्यौपाने र देशभक्त समाजका मेत्तर गुरुङ रहेका छन् । प्रदेश सभा ‘क’ तर्फ जनसमाजवादी पार्टी नेपालका बुद्धिमान परियार र प्रदेश सभा ‘ख’ तर्फ नयाँ शक्ति पार्टीका उम्मेद्वार सरोज दनाई रहेको जिल्ला निर्वाचन कार्यालयका नायव सुव्वा जिवाखर शर्माले जानकारी दिए । 
नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका कांग्रेसका दिलबहादुर घर्तीले ९ लाख ५१ हजार २ सय ५० रुपैयाँ बराबरको चुनाव खर्च विवरण बुझाएका छन । वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका देवप्रसाद गुरुङले ६ लाख २४ हजार ५ सय रुपैयाँ बराबरको चुनावी खर्च विवरण बुझाएका छन् । 

यसैगरी प्रदेशसभा ‘क’ तर्फ बाम गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडीले ६ लाख ७७ हजार ८ सय रुपैयाँ, प्रदेश सभा ‘ख’ मा गठबन्धनवाटै एमालेका केन्द्रीय सचिव पृथ्वीसुव्वा गुरुङले  ९ लाख ४६ हजार ८ सय रुपैयाँ बराबरको चुनाव खर्च विवरण पेश गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसबाट प्रदेशसभा ‘क’ मा उम्मेद्वार बनेका गर्जबहादुर गुरुङले १० लाख २६ हजार रुपैयाँ, प्रदेशसभा ‘ख’ मा कांग्रेसबाटै उम्मेदवार बनेका कृष्णप्रसाद कोईरालाले १४ लाख ८१ हजार ५ सय रुपैयाँ बराबरको चुनाव खर्च विवरण पेश गरेका छन । 
निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्र रहेर लमजुङका उम्मेदवारले खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आयोगले प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा तोकेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप